Saturday 25th July 2026

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले अनिवार्य स्वघोषणा गर्नुपर्ने


व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरेको हो । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिनेजस्ता प्रवृत्ति देखिएपछि स्वघोषणापत्र भर्नुपर्ने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणापत्र भर्नुपर्ने छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९’ अनुसार सो व्यवस्था लागू गरेको हो । व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, शर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्नेछ ।

रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरको परिचयपत्रको प्रतिलिपि, रोजगारदाता कम्पनीको ट्रेड लाइसेन्सको प्रतिलिपि वा निजी कामदारको हकमा रोजगारदाताको राहदानी वा परिचयपत्रको प्रतिलिपि, संस्थामा जाने कामदारका हकमा कम्पनीको संक्षिप्त विवरण र गन्तव्य मुलुकको सरकारले रोजगारदाता संस्थालाई वा स्पोन्सरलाई दिएको पत्र स्वीकृतिपत्र पेस गर्नुपर्ने विभागले जनाएको छ ।

संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै

विभागले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति (म्यानपावर कम्पनीमार्फत लिइने श्रम स्वीकृति) अनलाइन प्रणालीबाट मात्रै जारी गर्ने तयारी गरेको छ । श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिअनुसार संस्थागत श्रम स्वीकृति अनलाइनबाट जारी गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

विभागले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाट प्रदान गर्दै आएको छ । श्रम स्वीकृति अनलाइनबाट जारी हुन थालेसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड घटेको छ । अनलाइन प्रणालीले गर्दा सेवा प्रवाहमा व्यापक सुधार भएको विभागको दाबी छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

प्रतिकृयाहरू
...