मोरङको सुन्दरहैँचा–७ की १८ महिने बालिकाको सामूहिक बलात्कारपछि हत्या भयो। सामान्यतया कल्पना गर्न र सोच्नै नसकिने यो घटना एउटा अवोध शिशुमाथि भएको बर्बरता थियो। फागुन २७ गते शुक्रबार साँझ साढे ५ बजेसम्म आमाकै काखमा खैल्दै गरेकी बालिकामाथि कल्पनासमेत गर्न नसकिने क्रुर घटना भयो। भर्खरै बामे सर्न थालेकी अबोध बालिकामाथि चिनेजानेकै व्यक्तिबाट यस्तो बर्बरतापूर्ण व्यवहार हुने कसैले पनि सोच्न समेत सक्दैनन्।
साँझपख अभिभावक काममा व्यस्त भएको मौका छोपेर आँगनमा खेल्दै गरी १८ महिने नाबालिकालाई चकलेटको लोभमा पारेर उसलाई बोकी घर नजिकै रहेको सानो झाडीमा लगियो। त्यहाँ बालिकामाथि भएको क्रुर घटना सुन्दा पनि आङ जिरिङ हुन्छ। बालिकालाई घरदेखि करिब ढेड सय मिटर पर रहेको सानो झाडीमा लगेर २८ र २५ वर्षीका सहोदर दाजुभाइले सामूहिक बलात्कार गरी हत्यासम्मको जघन्य अपराध गरे। सुन्दरहरैँचा–७ कै २८ वर्षीय मिथुन चौधरी र उनका भाइ २५ वर्षीय अजयले सामूहिक बलात्कार गरी कलिलो टाउकोमा बियरको बोतल र ढुंगाले प्रहार गरी मराणाश्यन अवस्थामा छाडेर भागे।
शुक्रबार साँझ साढे ५ बजेतिर घरमा खेल्दै गरेकी बालिका अचानक हराएपछि खोज्ने क्रममा करिब १ घण्टापछि साढे ६ बजेतिर घरदेखि करिब डेढ सय मिटर उत्तर पश्चिममा रहेको सानो झाडीमा अचेत अवस्थामा उनकै आमाले फेला पारिन्। बालिका भेट्दा नग्न अवस्था, टाउको दाया बाँया सुन्निएको र योनीबाट रगत बगेको अचेत अवस्थामा लडेकी थिइन्। अचेत अवस्थाकी बालिकालाई तत्कालै गछियास्थित स्थानीय अस्पतालमा उपचार गर्न लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज ल्याइएको थियो।
उपचारका क्रममा शुक्रबार राति साढे १२ बजेतिर मृत्यु भयो। घटनाको अनुसन्धान गर्न आफैं पुगेका मोरङका एसपी जर्नादन जिसीले अहिलेसम्म यस्तो दर्दनाक किसिमको घटना कहिले नदेखेको र नसुनेको बताए। ‘घटनाको प्रकृति हेर्दा निकै दर्दनाक थियो,’ एसपी जिसीले भने, ‘घटना कल्पना गर्नै नसकिने थियो।’
१८ महिने अबोध नाबालिकामाथि भएको क्रुर घटनाको विषयमा मानव अधिकारकर्मी र बालअधिकारकर्मीहरुले सामाजिक सञ्जालमा विभिन्न प्रकार टिकाटिप्पणी गरेका छन्। मानव अधिकारकर्मी गीता दाहालले सामाजिक सञ्जालमा ‘यस्ता घटना हुन थालेपछि नाबालिका र बालिकासमेत सुरक्षित छैनन्। विद्यालय र अभिभावकले आफ्ना बालबालिको विशेष सुरक्षा गरौं’ भनेर लेखेकी छन्। बालअधिकारकर्मी बासु अधिकारीले ‘अपराधको पनि हद भयो। २ वर्ष पनि नपुगेको अबोध बालिकामाथि कसरी यस्तो ज्यादती गर्न सकेको ?’ भनेर प्रश्न गरेका छन्। उनले लेखेका छन्, ‘हाम्रो समाज साच्चै क्रुर नै भएको हो त! राज्यले कानुन बनाउँदा अझै राम्रोसँग सोच्नु पर्ने भएको छ।’
अधिकारकर्मीले मात्रै होइन राजनैतिककर्मीले समेत घटनाका विषयमा सामाजिक सञ्जालमा भत्र्सना गर्दै विद्यार्थी नेता वसिम आलमले ‘बोली नफुटेकी १८ महिने अबोध बालिकाको बत्लाकार गरी हत्या गर्ने नरभक्षी दानवलाई कठोर सजाय दिन संविधान नै संशोधन गर्नु पर्छ’ भनेर लेखेका छन्।
यसरी बन्यो योजना
शुक्रबार दिउँसो ३ बजेतिर गछिया खोलामा बालुवा चाल्दै गरेका दाइ मिथुनसँग अजयको भेटघाट भई केरा बगानमा गएर दुवै जनाले गाँजा खाए। गाँजा खाएपछि दुवै जनाको सल्लाह भएपछि अजयले बालिकालाई पहिला पनि घरमा एक्कलै देख्ने गरेको हुँदा दाइलाई त यहाँ बस्दै गर म त्यो घरमा गएर बच्चा भेटे भने लिएर आउँछु भनेर हिँडे।
घर नजिक एक्लै खेल्दै गरेको देखेपछि बच्चालाई १० रुपैयाँ र चकलेट दिई फकाएर बोकी झाडीमा ल्याए। यसरी ल्याएपछि अजयले करणी गर्न थाले। २५ वर्षका युवकले १८ महिने नाबालिकालाई जबरजस्ती करणी गर्न थालेपछि पीडा सहन नसकेर नाबालिका रुन थालिन्। बालिकाको आवाज कसैले सुन्ला भनेर बालिकाको टाउकोमा बियरको बोतल तथा ढुंगाले प्रहार गरे।
बालिका अर्धचेत अवस्थामा पुगेपछि उनका दाजु २८ वर्षीय मिथुनलेसमेत करणी गरी सोही झाडीमा बालिकालाई दुवै जनाले छाडेर गए। घटना स्थलमा बियरको बोतल छाडेको र रगत लागेको २ वटा ढुंगा अजयले केही पर उत्तर पश्चिम दिशामा फालेको एसपी जिसीले बताए।
अनुसन्धानका क्रममा दुवै जना लागुऔषध प्रयोगकर्तासमेत रहेको खुलेको छ। घटना भएपछि दुवै जना नजिकै रहेको रक्सी भट्टीमा गई अजयले रक्सी र मिथुनले चाउचाउ खाए। त्यसपछि मिथुन आफ्नो मामा घर गएको र केही समय अजय भट्टीतिर घुमेपछि उ पनि मामा घर गएका थिए। घटना भएको १२ घण्टा बित्न नपाउँदै दुवैलाई शनिबार बिहान पक्राउ गर्न प्रहरी सफल भयो।
अजय २ वर्षअघि २ वर्षीया बालिका अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परी मुद्दा खेप्दै ०७८ मंसिर १८ गते जेल मुक्त भएका थिए। पक्राउ परेकालाई कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा म्याद थपेर मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको छ।
यसअघि फागुन ११ गते लेटाङ नगरपालिका–८ की १२ वर्षीय बालिकालाई पनि बलात्कारपछि हत्या गरिएको थियो। स्थानीय जाँते माध्यमिक विद्यालयको कक्षा–६ मा अध्ययनरत बालिका करुणा राई बुधबार विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन्। घर फर्कंदै गरेकी बालिकालाई एक्कलै भएको मौकामा सोही वडाका ६४ वर्षीय दीपक गिरीले बलात्कार गरी हत्या गरेका थिए।
नजिकका र चिनेजानेका व्यक्तिहरुबाट नाबालिका र बालिकामाथि भइरहेका जघन्य अपराधले समाज कता जाँदै छ? भन्ने प्रश्न उठेको छ। समाजशास्त्री चन्द्र तिम्सिनाका अनुसार नेपाली समाजमा सामाजिक विचलन भइरहेको र त्यही कारणले अपराध हुने गरेको छ। सुन्दरहरैँचाको घटनामा संलग्न भएका व्यक्ति विगतमा पनि त्यस्तै घटनामा संलग्न भएको पाइएको छ। विगतको घटनामा उन्मुक्ति पाएपछि उनले पुनः जघन्य घटना गरेको देखिन्छ। जघन्य घटनाहरु निष्कर्षमा नपुगी सेलाउने, दबाब प्रभावमा अपराधीहरु छुट्दा मनोबल बढ्ने गरेको देखिन्छ।
अबको पाटो नेपाली समाजको साँस्कृति र पारिवारिक सामाजिकीकरणको प्रक्रियालाई पुनव्र्याख्या गर्नु जरुरी छ। उनले भने, ‘परिवार, विद्यालय, समाजबाटै व्यक्तिले धेरै कुराहरु सिक्ने भएको हुँदा परिवार, विद्यालय र समाजले बालबालिकालाई सामाजिकीकरण तथा व्यवहार बद्लन जरुरी देखिन्छ।’ सानै कक्षादेखि पाठ्यक्रम र कानुनसमेत परिमार्जन गर्न जरुरी छ। कानुनको उद्देश्य मानिसको जीवन लिनु होइन। अपराधको प्रकृति हेरेर गरिने सजायलाई परिमार्जन गरी कानुनलाई व्यवहारिक बनाउन आवश्यक देखिन्छ, तिम्सिनाले भने।
-नागरिक न्युजबाट