बन्दना घिमिरे – हाम्रो लघुकथा पाठशालाका कुशल प्रस्तोता तथा लघुकथाकार मिसु श्रेष्ठको जन्म भीमेश्वर न.पा. -२, दोलखामा बुबा हर्कबहादुर श्रेष्ठ आमा पूजा लक्ष्मी श्रेष्ठको सुपुत्रीको रुपमा २०३२/७/१४ गते भएको हो । कागेश्वरी मनोहरा न.पा.-९,काँडाघारी, काठमाडौंका स्थायी बासिन्दा लघुकथाकार श्रेष्ठ शिक्षण पेशामा आबध्द हुनुहुन्छ । शिक्षाशास्त्र संकायमा स्नातक गर्नुभएकी लघुकथाकारका साहित्य प्रतिको रुचिका कारण विद्यार्थी कालदेखि नै लघुकथा, कथा,कविता ,गजल फुटकर रुपमा स्थानीय पत्रिकामा प्रकाशित भएको पाईन्छ । अध्ययनरत रहदा गौरीशंकर क्याम्पस चरिकोट ,दोलखाको बार्षिकोत्सवमा कविता प्रतियोगितामा द्वितीय , स्थानीय(क्लब ) `तिलिञ्चोपरिवार´ द्वारा आयोजित “द्वाल्खा नेवारीभाषा” कविता प्रतियोगितामा प्रथम हुनुभएको थियो ।
हाल द्वाल्खा भाषामा प्रकाशित हुने बाँपिझ्याला अन लाइन पत्रिका लगायत सामाजिक सञ्जालका विभिन्न साहित्यिक पेजमा लघुकथा लगायत हाइकु, मुक्तक,गजल, कविता फुटकर रुपमा प्रकाशित छन् । जुन ९, २०२० मा”नतमस्तक” लघुकथा सँगै हाम्रो लघुकथा पाठशालामा प्रवेश गर्नु भएकी कथाकारले हाम्रो लघुकथा पाठशालामा प्रेषित कथाहरुलाई द्वालखा नेवारी भाषामा अनुवाद गर्नुका साथै शनिबार बिशेष रोचक कार्यक्रम संचालन गर्नुहुन्छ ।
प्रस्तुत कथामा श्रीमान -श्रीमती दुई पात्र रहेका छन् ।बैदेशिक रोजगारीमा रहेका श्रीमान् र श्रीमतीको संम्वाद बाट शुरु भएको कथामा रोचक प्रस्तुतिको साथमा मार्मिक पीडा पस्कन सफल हुनुभएको छ कथाकार ।
कथा यसरी शुरु भएको छ ।आफ्नै रहरले विदेश पठाएकी हुन् पतिलाई । राम्रो कमाई, इमानदार दम्पती परेकाले सम्पत्ति पनि सोचे अनुसार नै जोहो भएकोले दुवै खुसी थिए। पतिले पठाएका र आफूलाई मन परेको कपडा,जुत्ता र श्रृङ्गारका साधनको सेट पनि दराजभरी थिए । छोराछोरी अनुशासित र मितव्ययी बनाएकी थिइन्। सासू ससुरा पनि खुसी नै थिए।
श्रीमान् आइपुगेको दिन लगाएर बस्न पठाएको साडी र जुत्ता हेरेर सोचिन यत्रा बर्ष भइसके ! खै कहिले लाउनु यी कपडा ? पति फर्कने समय हुन्छ ।घरिघरिको महामारीको असरले फेरि रोकिन्छ … !´ खुई..य सास फेरिन्। धेरै पल्ट लगाउन मन लागेको हो तर पतिलाई दिएको वचन..! किन किन आज यो कपडा नलगाई नछाडुँ लाग्यो । एउटा जुक्ति फुर्यो।
बुढालाई तुरुन्त भिडियो कल गरिन् ।” बुढा ! दिनभर घरबस्दा छट्पटी लाग्छ । हजुरको आउने टुंगो छैन । यो साडी लगाएर देखाउँछु ल ? ” पति तुरुन्त सहमत भए। “वचन नहारुँ भनेर हो नि। ” हाँस्दै बोलिन् ।
“केही हुँदैन ।तिमी ,न आफू हार्छ्यौ । न मलाई हराउँछेऊ । तिमी प्रति गर्व छ मेरो ।” पतिले फुर्क्याए ।
श्रीमती फुरुङ्ग परी । साडी लगाउने तयारीमा जुत्ता लगाई तर जुत्ता प्याट्ट फाट्यो। प्रयोग नै नभएको महङ्गो जुत्ता फाटेकाले विस्मित् भइन्। “हेर्दा जति नै सुन्दर भएपनि साडि पनि मक्किइ सकेको होला। भो अब लाउँदिन। ”
“मक्के के भो र ? अर्को झन् राम्रो ल्याइदिउँला नि ! ”
पतिको सान्त्वना थियो।” बुढा , जुत्ता र कपडा त नयाँ ल्याइदिनु होला ! अनि समय र जवानी चाहिँ ? ” पत्नीको मनमा खड्किरहेको प्रश्न अनायासै फुत्क्यो।
यसरी समापन गरिएको कथामा बैदेशिक रोजगारीको कारण बिदेशिएका श्रीमान् आउने आशमा बर्षौ बित्दा पनि कोरोना लगायत अन्य व्यवधानले आउन सकेका छैनन् भने श्रीमान् आउदा लगाउन भनी राखेको लुगा, जुत्ता मकिएकाले फेरि नयाँ किनौला नि भनेका छन् श्रीमान ले । तर उसैबेला श्रीमतीको मनमा आएको प्रश्न फ्याट्ट मुखबाट फुत्केको छ ।
“कपडा र जुत्ता त नयाँ ल्याउला तर समय र जवानी चाहिँ ?”
यस प्रश्नले पाठकलाई रनन्न घुमाउन सफल भएको छ । कथा सरल र सुबोध छ । रोचक प्रस्तुतिको साथमा मर्मभेद गर्नसक्नु लघुकथाकार मिसु श्रेष्ठको खुबी हो ।जुनसुकै स्तरका पाठकलाई तान्न सफल छ लघुकथा । वर्तमान समय बोलेको छ ।खुला समापन भएकोले लघुकथाको मापनमा थपक्क बसेको जस्तो लाग्छ मलाई । यसकथालाई म जस्तो नवोदित लघुकथाकारहरुले मानक कथाको रुपमा राख्दा हुन्छ जस्तो लाग्छ ।
अन्त्यमा लघुकथाकार मिसु श्रेष्ठका साहित्यिक आयामहरु गौरीशंकर हिमाल जस्तै उच्च होस । अझ स्तरीय र माझिएका लघुकथाहरु पढ्न पाईयोस् । सयौंको संख्यामा लघुकथा लेखिसक्नु भएकी कथाकारको लघुकथा संग्रह यथासिघ्र प्रकाशित होस् भन्दै सुस्वास्थ, दीर्घायु, अटल सौभाग्य तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
बन्दना घिमिरे
भक्तपुर , गठ्ठाघर
लघुकथा – आकाङ्क्षा
मिसु श्रेष्ठ
आफ्नै रहरले विदेश पठाएकी हुन् पतिलाई । राम्रो कमाई, इमानदार दम्पती परेकाले सम्पत्ति पनि सोचे अनुसार नै जोहो भयो । दुवै खुसी नै थिए। पतिले पठाएका र आफूलाई मन परेको कपडा दराज भरी थिए। सोही अनुरुप जुत्ता र श्रृङ्गारका साधनको सेट पनि।
छोराछोरीलाई अनुशासित र मितव्ययी बनाएकी थिइन्। सासू ससुरा पनि खुसी नै थिए।
श्रीमान् आइपुगेको दिन लगाएर बस्न पठाएको साडी र जुत्ता हेरिन्। ` यत्रा बर्ष भइसके ! खै कहिले लाउनु यी कपडा ?
बल्ल पति फर्कने समय हुन्छ , घरिघरिको महामारीको असरले फेरि रोकिन्छ … !´ खुई..य सास फेरिन्।
धेरै पल्ट लगाउन मन लागेको हो तर पतिलाई दिएको वचन..!
किन किन आज यो कपडा नलगाई नछाडुँ लाग्यो ।
एउटा जुक्ति फुर्यो।
बुढालाई तुरुन्त भिडियो कल गरिन् । ” बुढा , दिनभर घरबस्दा छट्पटी लाग्छ । कहिले आउने टुंगो छैन । यो साडी लगाएर देखाउँछु ल ? ”
” भैहाल्छ नि यति कुरा पनि सोध्नु पर्छ र ? ” पति तुरुन्त सहमत बोले
” वचन नहारुँ भनेर हो नि। ” हाँस्दै बोलिन्
” केही हुँदैन । तिमी , न आफू हार्छ्यौ । न मलाई हराउँछेऊ । तिमी प्रति गर्व छ मेरो । ” पतिले फुर्क्याए
श्रीमती फुरुङ्ग परी । साडी लगाउने तयारीमा जुत्ता लगाई तर जुत्ता प्याट्ट फाट्यो।
” ला! प्रयोग नै नभएको महङ्गो जुत्ता फाट्यो ।” बिस्मित् भइन्।
” हेर्दा जति नै सुन्दर भएपनि साडि पनि मक्किइ सकेको होला। भो अब लाउँदिन। ”
” मक्के के भो र ? अर्को झन् राम्रो ल्याइदिउँला नि ! ”
पतिको सान्त्वना थियो ।
” बुढा , जुत्ता र कपडा त नयाँ ल्याइदिनु होला ! अनि समय र जवानी चाहिँ ? ” पत्नीको मनमा खड्किरहेको प्रश्न अनायासै फुत्क्यो।
काँडाघारी , काठमाडौं