Tuesday 7th April 2026

उपलक्ष्य (लघुकथा) –मित्र “उराठी” गौतम


“हैन यस्तो व्यवहारले कसरी चल्छ जिन्दगी ? सधै पिएर आएको छ, घरको केही मतलबै छैन् ।” – चिमरीले च्याठ्ठिँदै भनि।
“आज धेरै पहिलेको साथी भेट भयो र बसौँ भन्यो कुरा टार्न सकिनँ।” – गोविन्देले स्पष्टिकरण दियो।
“एक दिन हैन, दुई दिन हैन कहिले के वहाना गरेको छ कहिले के वहाना ? बालबच्चाको पढाइ लेखाइ के छ ?
घर व्यवहार कसरी चलेको छ ? केही वास्ता छैन् ,खालि धोक्यो पुग्यो" – चिमरीको रिसको पारो ओर्लिएन।
“नरिसाउ न बुढी, अब यो झोल खान छोडिदिन्छु।परिस्थिती त्यस्तै परेर पो हो त, कसम भोलि देखि खान्न।”
सम्झाउने पारामा बोल्यो गोविन्दे।
“ल ल पत्याएँ लौ झट्टै खाना खान आइहाल, खाना चिसो भै सक्यो।” – चिमरीले खाना पस्कँदै भनि।
× × × × × × × × ×
सधै जस्तै आज पनि गोविन्दे धन्दामा निस्कियो।
साँझ चिमरीले खाना समयमै बनाएर गोविन्देको प्रतीक्षामा बसी।
“आज त कसमै खाएर गएका छन्। बेलै माथि आउने छन् र सपरिवार सँगै खान पाइने छ।”- चिमरीले मनमनै कल्पना गरि। घडी हेरी, समयले नेटो काट्यो, अहँ पतिको अत्तोपत्तो छैन्।
“आमा खाना खाऊँ। भोक लागिसक्यो, बाबाको के विश्वास छ र ? कति बेला हो कति बेला ?” – छोरीले आग्रह गरि।
चिमरीले छोराछोरीको आग्रह टार्न सकिन। सबैले खाना खाएर सुते।
उसलाई पटक्कै निद्रा परेन।
रात छिप्पिँदै गर्दा टक् टक् टक् टक् ढोकामा आवाज आयो।
चिमरीले सङ्केत वुझी तर उठ्ने जाँगर पटक्कै लागेन।
ढोकाको टक् टक् सँगै गोविन्देको आवाजले वाध्य भएर ढोका खोलि र रन्कँदै बोलि- “त्यत्रो कसम खाएको यही हो चाला ? लाज सरम छैन् ? टोल छिमेकले के भन्छ, हेक्का राख्नु पर्दैन ?”

“कुरा वुझ न बुढी।दारु छोड्ने उपलक्ष्यमा आज अन्तिम पटक खाइदिएको।धरोधर्म अब कहिल्यै पिउन्न।” लरबराउँदै बोल्यो र घद्रक्क खाटमा पल्टियो गोविन्दे।

–मित्र “उराठी” गौतम
अमरपुर गुल्मी हालःतिलोत्तमा न पा -२, रुपन्देही


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...