“अब अति भयो, यौगेश । कि घर छाड् कि घर सम्हाल् । लाठे र भुसतिघ्रे छोरालाई खर्च दिएर अब म पाल्न सक्दिनँ ।”
“होइन बुबा ! किन मलाई बोझ ठान्नुहुन्छ ? किन मलाई घर छाड् भन्नुहुन्छ । मैले पैसा कमाउन नसकेर ? यत्रो घर छ, किन चाहियो, पैसा ?”
“घरमा थेचरेर बस्ने छोरालाई के त्यसोभए म तक्मा दिऊँ ? कि गोडा ढोगेर माफी मागूँ ?”
“हुन्छ, बुबा । माफी माग्नु पर्दैन । तपाईँको आज्ञा मान्दै म आजै र अहिल्यै घर छाडिदिन्छु ।”
बाबु र छोराको चर्काचर्की सुनेकी आमा आएर कराउन थालिन् “होइन, छोरालाई किन गाली गर्नुहुन्छ ? तपाईँलाई अलिकति दया लाग्दैन । गरिहाल्छ नि काम । उसलाई सोच्न दिनुहोस् न ।”
“सोचेर काम बन्दैन । प्रयास गर्नुपर्छ । घरमा काम आउँदैन । खोज्न जानुपर्छ । नभए भारी बोकेर खान जान्नुपर्छ ।”
“बुबा ! आज हजुरले हदैको सीमा नाघ्नुभयो । म तपाईँको घरमा बस्दिनँ । म छाडिदिन्छु । यस घरमा म आउँदिनँ ।”
“हुन्छ, नआइजो । मलाई कोठाको प्वालबाट ननिस्कने मानसिक रोगले ग्रस्त सन्तानबाट केही आशा पनि छैन ।”
यौगेश तुरुन्त झोला बोकी बाहिर निस्कियो । उसले तरक्क आँसु झार्यो । उसले निरीह आमालाई गएर ढोग्यो अनि सरासर अगाडि बढ्यो ।
“यौगेश, तँ साँच्चै जान लागेको ?”, आमाले सोधिन् ।
यौगेश केही नबोली अगाडि बढ्यो । “कति गाली गर्नुभएको ? कहाँ जान्छ, त्यो ? के खान्छ त्यसले ?”, आमाले आँसु झार्दै भनिन् ।
“त्यो कहीँ जाँदैन, रूपा । त्यसले तँ रोगी छेस् । भैपरी आउँदा मलाई गाह्रो हुन्छ भनेर पाएको जागिर खान नजाने सोच बनाएको हो ।”
“हो र ?”
“हो । त्यसले सैनिक सेवामा नाम निकालेको छ । अब जागिर खान जान्छ । हाम्रो एकोहोरो मायामा त्यो बिग्रन खोज्दै थियो । अब भविष्य बनाउँछ ।”