Saturday 11th January 2025

दिव्य साईदर्शनः एक अनुभव -लव जोशी


(१) मन भड्किदै छ । मुख सुकेको छ । जिब्रोले पटक -पटक ओंठ भिजाइ रहेको छु । मुटुको ढुकढुकी बढ्दो छ । खुट्टा लरबरिएको छ । दुईगोडा आपसमा ठोकिन्छन् । लड्नबाट झण्डै सम्हालिएँ । दुबैआँखा दायाँ-बायाँ, तल-माथि र अगाडि-पछाडि घुमिरहेक छन् । तर कमलालाई भेटाउन सकिएको छैन । कहाँ गई होला ? कता अल्मलिई ? शोचालयतिर जाँदा बाटो बिर्सी कि ? खुट्टा कमजोर छ ‘लडी कि ‘ भनी सोंच्छु । कसैले केही पो ग-यो कि भनी शंका गर्छु । किन एक्लै छाडेर टिकट काट्न गएँ हुंला भनेर आफैले आफैलाई कोस्छु । रातभरि हनहनी ज्वर आएको थियो,उसलाई । म पनि ज्वरले थलिएको थिए । निदाएकी छैन । मन उदिग्न छ । मनलाई सम्हाल्छु । धैर्य गर्न भन्छु । बाबाको धाममा केही अनर्थ हुनै सक्दैन । श्रद्धा सबुरी राख्नै पर्ने निश्चयमा पुग्छु । मनलाई काबुमा लिन्छु । भारतको महाराष्ट्रराज्यको नासिक जिल्लामा सन १८६६ मा स्थापित मनमाड रेलवे स्टेसन ठूलो छ । कमला कहाँ लोप भई । ज्यादै सजग भएर खोज्छु । पैंतालिस मिनट समय बित्यो । अब रेल पनि आईपुग्ने बेला भयो । के हुंला म , जीवनसंगिनी भेटिइनन् भने । मेरो शरीर पक्षघात भएसरह लल्याक- लुलुक भयो । हुन त गोरखपुरबाटै सेकेण्ड क्लासको टिकट रिजर्भ गरेर यात्रा थालेका थियौं । शिरडी पुग्न मनमाड रेलवे स्टेसनमा झरेका थियौं । शिरडीमा साईबाबाको र शृँगणापुरमा सुप्रसिद्ध शनिदेवको दर्शनगर्न लाग्ने समय मिलाएर मनमाडबाट हैदरावाद पुग्न शिकन्दरावादसम्मको टिकट पनि अग्रिम बुक थियो ।शिरडीमा हावापानी बदलिएको कारणले हामीलाई ज्वोर आयो । बिरामी प-यौं । शिरडी बस स्टपमा बस चढ्दा एउटी भिखारीनले कमलालाई धक्का दिई उनको नयाँ मोबाईल खोसेर भागिन् । यो दुःखको कुरा थियो । मनमाड पुगेर टिकट चेक गराउँदा शिकन्दरावाद जाने हाम्रो रेल त गएराति नै छुटीसकेको रहेछ ।काउण्टरको कर्मचारीले टिकटमा लेखेको समय देखायो । रेल छुट्ने समय ००ः १५ लेखिएको रहेछ । एक त बिरामी अर्को २४ घंटे समय गणनामा अक्षमता- अज्ञानताका कारण रेल छुटेको अनुभूत भयो । रातको समयलाई दिनको सम्झने ठूलै गलती भइहाल्यो ।त्यसैले पुनः टिकट काट्नु प-यो । खर्चलाई ध्यानमा राखेर साधारण श्रेणीको टिकट काटें । भाउन्न भएर आयो । पाईप समाएर खुइय सुस्केरा हाले । झ्याप्प आँखाले कमला प – र उभिईरहेकी देखें । “ कमला “ भनी चिच्याएँ । दौडेर च्याप्प पाखुरामा समाएँ ।

(२) “ कहाँ गएकी ? कत्ति खोजें? मन अत्तालियो, बेस्सरी , के के सोच आयो के के ?’ एकैपटक भने ।
“ कहीं पनि गएकी छैन । जहाँको तहीं छु । मान्छेहरुले फर्कि – फर्कि हेर्थे । दुईटी केटीहरूले हेरेका हेरै गरिरहे । खुट्टामा लाउने चप्पल दुबै हातमा लिएका थिए । केही पाएमा लिई टाप कस्ने जस्ता देखिन्थे । मैले पनि तिनीहरूलाई ठूल-ठूला आँखाले हेरें । त्यसपछि लागे आफ्नो बाटो । यी ब्याग रूंगी रहें । अबेर भएकोमा पीर लाग्यो । ल अब कता जाने नि ? ”
कमलालाई विशाल रेलवे प्लेटफर्मको मध्य भागमा छाडी टिकट काउन्टरमा गएको थिएँ । उनी पीर र डरले पहेंलो भएकी देखें । संगै-संगै हुनुपर्ने हामी दुबै । तर दुई दिन बिरामी हुनुको कारणबाट उनी अशक्त थिई । घुँडाको दुःखाइ बढेको थियो । धेरै बेर हिड्न र उभिन मिल्दैन। सक्दिन । यसैले उनलाई एक्लै प्लेटफर्ममा छाडेको थिएँ ।
सोधपूछ गरेर शिकन्दरावाद जाने रेल रोकिने – छुट्ने प्लेटफर्ममा पुग्यौं । रेल आउने समय अझै बाँकी थियो । कु-यौं । यात्रीहरूको भीड बाक्लो थियो । हामीमा आफ-आफै रेल चढ्न हिम्मत भएन । हामी बिसन्चो थियौं । हामीलाई कसैको भरपर्नु पर्ने भयो । उति नै बेला रातो ड्रेसमा एकजना कर्मचारी देखियो । बोलाचालीको भाषामा उनी ‘कुली‘ हुन् ।
“ भैया, सुनिए “ भनेर ईशारा गरी बोलाएँ ।
“ भीड ज्यादा है, हम दोनो बिमार भि हैं । हमे ट्रेन चढा दिजिए ।”
“ ठिक है, चढवा दुंगा, सीट भि मिल जायेगी । लेकिन एक सौ रूपया देने पडैंगे ।” उसले ज्याला बतायो ।
“ आपको मिल जाएगा । “ मैले पक्का गरें ।
केही समयपछि हैदरावाद जाने रेल आएर रोकियो ।सोंचेभन्दा बढी भिड जम्मा भयो । यात्रीहरू हुलाहुल गरेर एकले अर्कालाई ठेल्दै, काँधमा चढ्दै डब्बाभित्र पस्न थाले । कोही झ्यालबाट छिरे । हामी जिल्ल प-यौं । भीड अलिक घटेपछि हामीलाई मदत गर्ने कुलीले हाम्रो ब्यागआदि बोकेर “ रस्ता छोडो, रस्ता छोडो “ भन्दै अघि बढ्यो । रेलको कर्मचारीले बाटो मागेपछि यात्रीहरूले छाडदिंदा रहेछन् । भित्र पसेर दुई सीट छेक्यो , हाम्रो समान राख्यो । हामीलाई चढ्नमा पनि सघायो । सीटमा बसेपछि उसलाई एकसय ज्याला दिई विदा ग-यौं । धन्यवाद भन्यौं ।

(३) डब्बा- बोगी खचाखच भरियो। महिलापुरूष झण्डै बराबरैकै संख्यामा थिए । झण्डै आधाघंटाको प्रतिक्षापछि रेल छुट्यो – गुड्यो, ला—मो सिटी बजाउंदै । कमलालाई बेंन्चमा गोडा पसारेर सजिलोसंग बस्न लगाएं । उनको गोडा काखमा लिएर हल्का मिच्न थालें । केही आराम भएछ कि उनी ‘घुर-घुर’ गरी निदाइन् । निद्रा लागेपछि पीडा कमहुन्छ नै । मेरो आंखामा भने निद्रा परेन । कहिले आंखा चिम्लेर उनको गोडा मिच्थे । कहिले खोल्थें । सहयात्रीहरूलाई हेर्थें ।फेरि बन्द गर्थें । मीठो निद्रामा कमला सुतिन् ।एकजना सहयात्रीले हाम्रो यात्राबारे जिज्ञासा राखे । मैले काठमाण्डौंदेखि सिरडीसम्मको यात्रा, साईनाथ र शनिदेवको दर्शनपछि छोरालाई भेट्न हैदरावाद जान लागेकोबारे छोटकरीमा बताएं । निदाउने कोशिस गरें । मलाई निद्रा पटक्कै परेन । आँखा चिम्लिएर शान्त भएँ तर पनि मनमस्तिष्कमा अनेक तर्कबित्तर्क चलिरह्यो । यात्राको समयमा नसोंचेको सुखद र दु:खद क्षणहरू आउॅंदा रहेछन् भन्ने शिक्षा पाइयो । गोरखपुरमा वास बसेको होटलको म्यानेजरले ई-टिकट काट्नमा सहयोग ग-यो तर उसले अस्वाभाविक रूपमा धेरै कमिसन खायो । तीर्थाटनको समय भएकोले प्रतिवाद नगरी सहें । शिरडीमा मन्दिर नजिकै ट्रष्टले संचालन गरेको धर्मशालामा सजिलै कोठा उपलब्ध भयो । पोखराबाट साईदर्शन निमित्त आएका भाइ शिनी गुरूंगसंग परिचय भयो । हामीसंगै बसी साई- शनिदेवको दर्शनपछि मुम्बई गए । हामीलाई हरबखत सहयोग गरे,मित्र बने । एकजना सहृदयी भेटिए । यो पल पनि सुखद रह्यो । साईबाबाको दर्शनको अघिल्लो दिन बैंकबाट एकसय रूपियांको कुपन लिएर मन्दिरभित्रै डेढघंटामा भ्याइने सत्यनारायणको सामुहिक पूजामा सहभागी हुने सौभाग्य पाइयो । साईबाबाको दर्शनगर्न असंख्य भक्तजनहरूको लाईनमा उभिइरहंदा पूजारीबाजेले कमलालाई लाईनबाट झिकेर सोझै बाबाको प्रतिमाको सानिध्यमा पु-याई दिएर दर्शन- नमनगर्न यथेष्ट समय दिनु भयो । त्यो अवसर पनि अपूर्व थियो । मलाई पनि साईनाथको दर्शन गर्न प्रशस्त समय प्राप्त भयो । पूजारीलाई गुलाबको फूल चढाउन दिएँ । बाबाको पाउमा राखी दिनु भयो । नयनाभिराम दर्शन गरें । मनैले पूजें । आत्माले दर्शन गरें । शिरडी पावन तीर्थस्थल हो । ट्रष्टले संचालन गरेको क्यान्टिन र भोजनालयमा सस्तो दाममा स्तरीय चिया, खाजा र खाना थपी-थपी खान पाउँदा खर्च जोगिएको, भोजनार्थीहरूलाई एकदिन खानाको कुपन बाँड्न पाउँदाको आनन्द आदि अति नै सुखद अवसर थिए । प्राकृत शनिदेवको प्रतिमामा तेल अर्पण गरी कमलाको गोडा निको होस् भनी प्रार्थना गर्दा र शनि औंठी किन्न पाउँदा पाएको खुसी अमूल्य थियो ।

(४) मिलेसम्म समूहमा यात्रागर्नु सुरक्षित भइन्छ । परदेशको यात्रामा श्रीमान-श्रीमती या अन्य नाताका पनि कुनै हालतमा नछुटिइ संगै हिड्नु पर्छ । कमलालाई केही भईदिएको भए मैले के भोग्नु पर्थ्यो ? मन उडेको उड्यै भयो । पानीको मूल फुटेझैं मनमा विचार फुरिरहेको थियो । यत्तिकैमा निधारको आज्ञाचक्रमा फकिरको वेषमा साईबाबाले दर्शन दिनु भयो । शीरमा दाहिने हातले आशिर्वाद दिनुभयो । झलझली हेरिरहेको थिएँ । बिना कुनै हलचल । शालिक झैं । अवाक । निःशब्द । किंकर्तव्यबिमूढ थिएँ । साईबाबा लोप हुनुभयो । यो क्षण कल्पनातित थियो । अलौकिक र दिव्य थियो । कमलालाई झकझकाएर उठाऐं ।
“ के भयो ? ”
“ मैले साई बाबाको दर्शन पाएँ ।आज्ञाचक्रमा प्रकट हुनुभयो । शीरमा हात राखी आशिर्वाद दिनुभयो । हिजो मैले मन्दिर – प्रागणमा साईबाबाको भेषमा एकजना बाबा देखें । उहाँलाई दक्षिणा दिएको थिएँ । उहाँले हात उचाली आशीष दिनु भएको थियो । उहाँले नै अहिले कुदीरहेको रेलमा दर्शन दिनु भयो । अहिले मलाई अनुभूति भयो कि हिजो मन्दिर परिसरमा हामीले एक्लो मात्र देखेका फकिर उनै साईबाबा रहेछन् । सन्ध्याबेलामा त्यत्रो ठूलो मन्दिर हातामा उहां मात्र हुनुहुन्थ्यो । उहांलाई फकिर मात्रै ठाने । मैले प्रणाम पनि गरिन ।साईनाथले हिजो नै हामीलाई साक्षात दर्शन दिनु भएको थियो । हामीले बुझेनौ । हाम्रो सामान्य चर्मचछुले साईबाबालाई चिन्न सकेनौं ।”
यत्ति के भनेको थिए, उनले साईबाबालाई हात जोडी नमन गरिहालिन् । मैले पनि नमन गरें । कल्पना नै नगरेको अनुभूति पाएँ । हाम्रो गतिविधि नियालीरहेका सहयात्रीहरूले हाम्रो हावभाव बुझेर साई बाबालाई नमन गरे ।
भन्न थाले – “ आपलोगौंको बाबा का दर्शन मीला न ? ” ट्रेन मे यात्रीयौं को बाबाका दर्शन मिल्नेका कहानी सुना था । आज आपलोगौंको दर्शन मिला । आपलोग लक्की हो ।”
तीर्थाटनको क्रममा यस्तो अनुभव भएको थिएन । पीडा भोगिरहेको मनले शान्ति पायो । शितलता पायो । साईबाबाको न्यानो दर्शन र आशीष पाइयो । मन प्रफुल्ल – प्रसन्न भयो । शिरडी साइनाथको चरणमा हाम्रो प्रीति लागी रहोस् । ॐ साईराम ! ॐ साईराम !! ॐ साइराम !!! ( २०६९ मा शिरडी साईबाबाको दर्शन गर्न जांदाको अनुभव ।


सम्बन्धित शीर्षकहरु

जर्मनीको रामस्टेन एयर बेस: बसर अल असदको सरकारलाई अपदस्थ गरेपछि दाइस समूह (जसलाई आईएसआईएस पनि भनिन्छ) लाई प्रमुख खतराको रूपमा…

विस्कॉन्सिन विश्वविद्यालय-म्याडिसनका इन्जिनियरहरूले फ्युजन रिएक्टर भित्रको कठोर अवस्थाको सामना गर्न सक्ने नयाँ वर्कहर्स सामग्री उत्पादन गर्न स्प्रे कोटिंग प्रविधि प्रयोग…

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

प्रतिकृयाहरू
...