दीपक लोहोनी – जयदेश श्रेष्ठले मलाई एकपटक मेसेन्जरमा कल गर्नु भएको थियो । त्यही कलबाट थाहा पाएँ, उहाँ पचासको हाराहारीमा हुनुहुन्छ । साँगा निवासी जयदेशलाई लघुकथा प्रिय बिधा लाग्छ। मैले उहाँको धेरै लघुकथाहरू पढ्ने सौभाग्य पाएको छु ।
जयदेशले “उत्तरविहीन प्रश्न” शीर्षकको लघुकथा नमस्ते🙏आधुनिक लघुकथा मञ्चमा पोष्ट गरेको तीनदिनपछि मैले पढें । लघुकथाको मादकताले धेरैलाई छोएको छ । मलाई छोएको मादकताको म यहाँ छोटो चर्चा चलाउँदै छु ।
लघुकथाभित्र:
“उत्तरविहीन प्रश्न” लघुकथाभित्रको छोटो तर पूर्ण लघुकथा हो । कथाले सामाजिक यथार्थता बोकेको छ । पात्र सिमित छन् । कथा पारिवारीक छ । कथाको उठान रुचिकर र कथाको मध्यभागमा अती यथार्थ चित्रण कोरिएको छ । कथा वक्ररेखामा बगेको प्रष्ट देखिन्छ जुन सुन्दर लघुकथाको एक अंश हो । कथामा स्वर्थको खेल, प्रगति र भागदौडको अंश गाँसिएको छ । दुई अनुक्ष्यदमा बुनिएको लघुकथामा कथाकारले वैदेशिक रोजगारीको प्रसंग गाँसेर लघुकथालाई समसामयीक देशको अवस्थाको चित्रण चलाखीपूर्ण उतारेका पनि छन् । गाउँ, शहर र शहरभित्रको अपार्टमेन्ट संस्कृतिको परिचर्चा गर्न पनि कथामा कथाकारले भ्याएको देखिन्छ ।
लघुकथा “उत्तरविहीन प्रश्न” ले रितिरिवाजर र चाडपर्वको गरिमा झल्काउने प्रयास पनि गरेको छ । अझ यस लघुकथाको उत्तरार्धमा बालसुलभ जिज्ञासा र पहिचानको खोजी बढो चोटिलो पारामा गरेको पाइन्छ । यो भागले हरेक सचेत पाठकलाई झननन्न बनाउँछ । हरेक लघुकथामा एक वीजवाक्य हुने र प्राय लघुकथाहरू बन्द समापनमा सकिने गर्छ । तर यो लघुकथामा पुछारको केही व्याक्यहरू नै वीजवाक्य बनेका छन् । कथाको अन्त्यले खुल्ला समापन रोजेको छ जसमा एक अन्त्य हैन अनेक अन्त्यहरू सुरक्षित राखिएको छ । लघुकथाले पाठकको चित्तबुझ्दो अन्त्य आफैले रोजेर/खोजेर मिलाउने छुट छोडिदिएको छ । तर यति हुँदा हुँदै पनि यो लघुकथा उत्तरविहीन प्रश्न बनेर पाठकको मनमा बल्जिरहने छ । यहिनेर लघुकथाकार जयदेशको जीत सुनिश्चित छ ।
कमजोरी:
यति हुँदाहुँदै पनि यो लघुकथा दूधले नुहाएको भने छैन । लघुकथाकारले भाषा र व्याकरणमा राम्रै सुधार गर्नुपर्ने देखिन्छ ।
समापन:
पछिल्लो समय जयदेश श्रेष्ठ नेपाली लघुकथामा आशा गर्न लाएक लघुकथाकार हुन् । अनुभव र लेखनले माझिएका जयदेशबाट अझै शक्तिशाली लघुकथाहरू जन्मन सक्ने कुरामा म विश्वस्त छु । मूलत: जयदेशको लघुकथाहरू सामाजिक यथार्थवादी धारमा नै अधि बढेको प्रष्टसंग देखिन्छ । नेपाली लघुकथाको क्षेत्रमा इमान्दरिताको साथमा लागि पर्ने हो भने एकदिन जयदेशको जय निश्चित छ ।
#पोष्टिएको_लघुकथाको_रुप :
उत्तर बिहिन प्रश्न
जयदेश श्रेष्ठ
छोरा ठुलो भयो । विवाह गरी दिए । नव विवाहित श्रीमतीको कुरा सुन्न थाले । आफ्नै रगत र कोख बाट जन्म लिएको एक्लो छोराले छुट्टै बस्छु भनेर अंश मागे । सम्पत्तिको नाममा बाँड्न पर्ने जग्गा जमिन र बाँड्न सकिने , तिल देखि तेल सम्म , नुन देखि सुन सम्म नै बाँडियो । भान्छा छुट्टियो । त्यसपछि घर छुट्टियो । बिस्तारै मन छुट्टियो । त्यस पछि नाता पनि छुट्टियो । आफ्नो आफ्नो जिम्मेवारी आफैले समाल्न थाले । सबैको आफ्नो आफ्नो स्वार्थको प्रगति गर्नु थियो । छोरा विदेश गयो । विदेशबाट पैसा कमाएर ल्याए । घर , गाउँ परिवार छोडे । सहरमा अपार्टमेन्ट बस्न थाले ।
चाड पर्व रीतिरिवाज आउँछ जान्छ । उनीहरूलाई मतलब थिएन । ऐस आरामले बसेका छन् । उनीहरूका छोरा छोरीहरू भए । बाल मस्तिकले प्रश्न गर्ने थाले ! ड्याडी मम्मी हाम्रो आफन्त भनेको को हुन् ? हाम्रो गाउँ कुन हो ? दसैँ , तिहार भनेको कसरी मनाउने ? हाम्रो घर भनेको के हो ? यावत प्रश्नहरू गर्न थाले जुन किताबमा भेटिँदैन । स्कुलमा पढाइँदैन ! गुगलमा खोजिँदैन । डिसनेरीमा देखिँदैन । ऊ अवाक् बन्यो ! उसले भन्यो हामी असामाजिक प्राणी भयौ ! म सँग यसको उत्तर छैन ।