Wednesday 10th September 2025

लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीः एक आलेख


नारायण कोइराला – लक्ष्मीप्रसाद दवकोटाको जन्म वि. सं. १९६६, मृत्यु वि. सं. २०१६ भाद्र २९, नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।

देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए ।

देवकोटा सन् १९६६मा जन्मिँदा, देशमा राणा शासन थियो। राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन, तर धेरै चोटिको प्रयत्‍नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एकमात्र विद्यालय दरबार हाई स्कूलमा भर्ना गरिदिए। देवकोटा दरबार हाई स्कूलनै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए । सन् १९२५ मा देवकोटा त्रि-चन्द्र कलेजमा बिज्ञान बिषयमा भर्ना भए। बिज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे। सन् १९२९मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे ।

देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसायोग्य छन्। यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे। यिनी एक पटक नेपालको शिक्षा मन्त्री सम्म भएका थिए। यिनैक पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्‍ने अद्वितिय प्रतिभा थियो। उनले शाकुन्तल महाकाब्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे। उनले नेपाली साहित्यलाई नया उचाइमा पुर्‍याए। “मुनामदन,”प्रचलित लोक भाकामा लेखिएको कृतिले नेपाली साहित्यमा संस्कृतको प्रभाब अन्त्य गर्‍यो। “पागल” कविता उनको अर्को महान कृति हो। जुन कवितामा उनले आफूलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन्|

आज उनै महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै छ।भने अर्को तर्फ धन लक्ष्मीको पनि पूजा हुँदैछ।lलक्ष्मी पूजाको दिन जन्मेर पनि धन भन्दा बढी सरस्वतीको प्रसाद ग्रहण गर्नुहुने देवकोटा जन्म जयन्तीमा अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौं।
****
हातको मैला सुनका थैला के गर्छ धनले।
साग र सिस्नु खाएको बेस् छ आनन्दित मनले।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

प्रतिकृयाहरू
...