Monday 9th March 2026

पासपोर्ट विभागमा तीन रात बास : सेटिङमा पालो मिचिँदा सेवाग्राही झनै मर्कामा


तीतोपाटी डटकम-मुलुक संघीयतामा गएसँगै सिंहदरबार गाउँ–गाउँमा पुगेको चर्चा खुबै चल्यो । तर, अहिले गाउँ–गाउँका युवा काठमाडौँमा आएर डिभी भर्नका लागि पासपोर्ट बनाउने लाइनमा तीन रातसम्म बास बसेको दृश्यले सिंहदरबार कहाँ छ भन्ने प्रश्न उब्जाएको छ ।

अलिकति मात्रै सेवाग्राहीको चाप बढी हुँदा नेपालका सरकारी कार्यालयको हालत कस्तो हुन्छ भन्ने थाहा पाउन राहदानी विभागलाई हेरे पुग्छ । केही दिनदेखि छिटो राहदानी बनाउन बढी शुल्क तिर्न तयार भएर विभागमा पुगेका सर्वसाधारणले हैरानी र सास्ती पाइरहेका छन् । मंगलबार रातोपाटी संवाददाता विभाग पुग्दा केही सेवाग्राही तीन दिनदेखि राहदानीका लागि लाइन बसिरहेका भेटिए । जनताका लागि सरकारी सेवा कस्तो छ भन्ने हेर्न त्यहाँको शौचालयभित्र छिरे पुग्छ ।

धनुषा, हरिपुरका २० वर्षका राजनकुमार यादव तीन दिन राहदानी विभागमै बसे । बेला–बेला आँखामा पानी छ्यापेर जागा हुने प्रयास गरिरहेका उनले तीन दिनदेखि नसुतेको बताए । तीन दिनका बीचमा काम अघि बढेको र २२ गते पासपोर्ट दिने आश्वासन पाएको बताए । रोजगारीका लागि कतार जाने तयारी गरेका उनी जिल्लाबाट राहदानी बन्न ढिलो हुने भएकाले छिटो काम गर्न एकसाता अघि काठमाडौँ आएका हुन् ।

गोरखाका रामु केसी, जो साउदी अरेबियामा २५ वर्ष बसेका थिए, उनी राहदानी विभागमा ५ दिनदेखि लगातार धाइरहेका छन् । प्रहरी र कर्मचारीले आफ्ना मान्छेहरूलाई सेटिङ गरेर लाइनमा नराखी काम गरिदने तर सेवाग्राहीले भने हैरानी पाउनुपरेको केसीको गुनासो छ । उनले रातोपाटीसँग भने, ‘कर्मचारीहरूका मान्छेहरू लाइन नै नराखी पठाइँदो रहेछ । यहाँ मनपरी चल्दो रहेछ । देशमा कानुन व्यवस्था केही पनि रहेनछ ।’

केसीले स्याङ्जामा आफ्ना सालोले ती

न महिनाअघि पासपोर्टका लागि आवेदन दिए पनि अहिलेसम्म नपाएको गुनासो गरे । कर्मचारीले फाइल नभेटिएको भन्दै अर्को ५ हजार रुपैयाँ तिरेर पासपोर्ट बनाउन भनेपछि उनी आक्रोशित भएका थिए । दुई दिनअघि लैनचौरबाट लाइन बसेर राहदानी विभाग छिर्न सफल भएका उनी कर्मचारी र नेताहरूप्रति आक्रोशित छन् ।

राहदानी बनाउन पाँच दिनदेखि लाइनमा बसेका धनुषा बजमरियाका रमेन्द्र कुमार कर्णको पनि पीडा उस्तै छ । अघिल्लो वर्ष पासपोर्ट नभएर डिभी भर्न नपाएका उनी यस वर्ष डिभी भर्ने बिचार गरेर पासपोर्ट बनाउन राहदानी विभाग पुगेका थिए । पाँचौं दिन पनि राहदानी बनाउने प्रक्रियाका लागि लाइनमा बसेको उनको गुनासो थियो ।

‘शुक्रबार आएर लाइन बसेँ, टोकन पाइएन, आइतबार ५–१० हजार मानिसको लाइनमा बसेर ६ घण्टापछि बल्ल टोकन पाइयो’ कर्णले रातोपाटीसँग भने, गेटबाट प्रहरीले कार्यालयमा छिर्न दिँदैन । आफूलाई परेको समस्या सम्बन्धित निकायमा राख्न पनि दिइँदैन । मलाई दिएको टोकन नम्बर २१४ छ, तर पुलिसले त्यसको कुनै मतलब नै छैन भन्छ । टोकन दिएर पनि ६–७ घण्टा लाइनमा बस्नुपरेको छ ।’

आफ्नो पालो मिचिएला भनेर खानाका लागि बाहिर निस्किन नपाउँदा भोकै लाइनमा बसेको कर्णले सुनाए । टोकन सिस्टम भने पनि प्रहरीले आफूभन्दा पछाडि आएका व्यक्तिलाई सेटिङमा अगाडि नै पठाउने गरेको उनको गुनासो छ ।

जरुरी समस्या परेकालाई पनि प्रहरीले कार्यालयभित्र छिर्न दिँदैन

राहदानी विभागका निर्देशक एवं प्रवक्ता शरदराज आरणले सेवाग्राहीको भीड भए पनि अत्यावश्यक परेका वा छिटै विदेश जानुपर्ने अवस्थाका सेवाग्राहीको तत्काल काम गर्ने गरेको दाबी गरे । तर, वैदेशिक रोजगारीका लागि छिट्टै जानुपर्ने भएकाले पासपोर्ट नवीकरण गर्न आएका सर्लाही ब्रह्मपुरीका राजिव गिरीलाई प्रहरीले गेटभित्र छिर्नै दिएनन् । टोकन सकिएको भन्दै उनलाई कात्तिक २६ गते आउन भनियो । उनी गेटबाटै फर्कन बाध्य भए ।

गिरीमात्रै हैन, तीन दिनअघि नै टोकन लिएका र अनलाइन फारम भरेका सेवाग्राहीहरुले कात्तिक २२ गतेपछि मात्रै पासपोर्ट पाउने भएका छन् । दिउँसो २ बजेपछि राहदानीका लागि आवेदन नै नलिने गरेका कारण पनि धेरैजसो सर्वसाधारण फिर्ता हुनुपरेको छ ।

सेवाग्राही बढ्नुको कारण डिभी चिट्ठा

विभागका निर्देशक आरणले भने अहिलेको समस्या तिहार अवधिभरका लागि मात्र हुने र त्यसपछि यस्तो भीड नहुने बताए । यतिबेला अमेरिकी डिभी चिट्ठा खुलेका कारण सेवाग्राहीको चाप बढेको र डिभीको समय सकिएलगत्तै सेवाग्राहीको सङ्ख्या घट्ने राहदानी विभागको दाबी छ ।

डिभी चिट्ठा भर्दा अमेरिकाले पासपोर्ट नम्बर अनिवार्य गरेका कारण विभिन्न जिल्लाबाट पासपोर्ट बनाउन सेवाग्राहीहरू संघीय राजधानी काठमाडौँ आइपुगेका हुन् । विभागका निर्देशक शरदराज भन्छन्, ‘एउटा कारण डिभीका लागि राहदानी बनाउन आएकाले हो भने अर्को कारण विदेशमा पढ्न जाने विद्यार्थीहरूका लागि टोफेल, आइएलटीएसहरु खुलेको छ, त्यसका लागि आवेदन दिनेहरू पनि राहदानी बनाउन आएका छन् ।

पासपोर्ट बनाउने ठाउँमा भीड बढ्नुको अर्को कारण चाहिँ जसले सन् २०१२/१३ मा बनाएका थिए, उनीहरूको राहदानीको म्याद सकिन लागेकाले पनि हो । अर्को, अहिले विदेशका लागि फ्लाइटहरू खुलेकाले विदेश भ्रमणमा जानका लागि र अध्ययनका लागि राहदानी बनाउन आउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढिरहेको विभागका कर्मचारीहरू बताउँछन् । यसमध्ये ७० देखि ८० प्रतिशत डिभी भर्नका लागि आउनेहरू रहेको आरण बताउँछन् ।’

तर, रातिदेखि लाइन बस्नुपर्ने अवस्था नभएको र बिहान ७ बजेदेखि लाइन बस्न आउनेहरुका लागि टोकनको व्यवस्था गरेको उनले बताए । दैनिक ३ हजार संख्यामा पासपोर्ट छपाइको काम भइरहेको बताउँदै कोही पनि रातिदेखि लाइनमा बस्न आउनु नपर्ने आरणले उल्लेख गरे ।

निर्देशक आरणले काठमाडौँ बाहिरबाट रात्री बस चढेर काठमाडौँ आइपुगेकाहरुको जाने ठाउँ अन्त नभएका कारण विभागमै आएर रातिदेखि बसेको बताए । उनले विभागमा जनशक्ति कम भए पनि बिहान ७ बजेदेखि राति ७ बजेसम्म कार्यालयमा सेवा दिइरहेको बताए ।

सम्बन्धित जिल्लाबाट पासपोर्ट बनाउन ५ हजार रुपैयाँ लाग्ने गर्छ । तर, एक महिना समय पर्खनुपर्छ । राहदानी विभागबाट भने १० हजार रुपैयाँ तिरेपछि एक साताभित्र र १५ हजार रुपैयाँ तिरे भोलिपल्टै पासपोर्ट दिने व्यवस्था छ ।

डिभी भर्ने समयसीमा सकिन लागेका कारण पनि पासपोर्ट बनाउनेहरुको चाप बढेको हो । डिभी चिट्ठा भर्नकै लागि आइपुगेका सेवाग्राहीका कारण वैदेशिक रोजगारी तथा विदेशमा अध्ययनका लागि पासपोर्ट बनाउने सेवाग्राहीलाई पनि सहजै काम लिन समस्या परेको छ ।

ट्वाइलेटको कन्तबिजोग !

राहदानी विभागमा सेवाग्राहीको भीड बढेसँगै ट्वाइलेटभित्र छिर्न नसक्ने अवस्था बनेको छ । ट्वाइलेटमा पानीको व्यवस्था नहुनुका साथै सरसफाइ नहुँदाभित्र प्रवेश गर्न कठिन हुने र कतिपय सेवाग्राहीले ट्वाइलेटको दृश्य देखेरै वान्ता गर्ने गरेका छन् । ट्वाइलेटभित्र जतात्यतै दिशा थुप्रिएको छ । पराग, सुर्ती र पानीका बोतलहरु थुपारिएका कारण दिशा–पिसाब गर्न कठिनाइ रहेको सेवाग्राही रेशम कुँवरले बताए ।
साभार-शम्भु दंगाल / राताेपाटी


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...