Thursday 2nd April 2026

वाह ! क्या स्वादिष्ठ थकाली दाल


आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-खानाको पहिलो ग्राहक आँखा, दोस्रो नाक, तेस्रो जिब्रो र चौथो मुख हो । तसर्थ हरेक खाना पस्कने पाक कला अहिलेको युगमा अनिवार्य भइसकेको छ ।खाना मिठो मात्र भएर नहुने हुँदा हाम्रो मौलिक खानालाई पनि देख्न आकर्षक बनाउनुपर्ने आजको आवश्यकता हो ।

थकाली खानाको पनि अहिले बिस्तारै ब्रान्डिङ भएर सजावटमा परिमार्जन हुँदै गएको छ । आज हामीले थकाली खाना सेटको एक अभिन्न अंग थकाली दाल कसरी बन्छ भन्ने विषयमा चर्चा गर्दैछौं ।

ठाउँठाउँमा खोलिएका सबै थकाली भोजनालयमा मौलिक थकाली दाल नै पाइन्छ भन्ने कुनै तथ्य छैन । नाम राख्दैमा थकाली मौलिक खाना बन्दैन, यसका लागि थाकको इतिहास बुझ्न जरुरी छ ।सामान्य दालभन्दा थकाली दाल अलि पृथक र लामो प्रोसेसमा बनाइन्छ ।

थकाली दाल बनाउन चाहिने सामग्रीः

स्थानीय लोकल मासको दाल १०० ग्राम, खैरो मस्याङ्गको च्याख्ला ७० ग्राम, बेसार १ चिया चम्चा, लोकल चौरीको घ्यू ३ चिया चम्चा, हिमाली नून स्वाद अनुसार, जिम्बु २ चिया चम्चा, हिमाली टिमुरको धुलो आधा चिया चम्चा, अदुवा पिसेको १ चिया चम्चा, पानी आवश्यकताअनुसार ।

थकाली दाल बनाउने विधिः

मास र खैरो पश्चिमेली मस्याङ्गको च्याख्लालाई पखालेर १ रात भिजाउने र बिहान फलामको बाक्लो कराइमा पानी, दुवै दाल, बेसार, १ चिया चम्चा घ्यू हालेर सानो आचमा बिस्तारै पकाउने । बेलाबेलामा घोटी–घोटी चलाएर पकाउने । बिस्तारै कालो र बाक्लो हुँदै जान्छ र यस समयमा झन् हलुवा घोटेझै मज्जाले घोटेर लेदो बनाउने ।

अन्त्यमा आवश्यकताअनुसार तातो पानी हालेर मिलाउने । अर्को प्यान तताएर बाँकी घ्यू पगाल्ने र जिम्बु, अदुवा, बेसार, बोके टिमुरको धुलो, हिमाली नून हालेर झान्ने । आवश्यकताअनुसार हल्का तातो पानी थपेर पस्कने र यो दाल बासी भयो भने स्वाद फरक हुने हुँदा १ दिनमा कति खपत हुने हो त्यति मात्र पकाउनुपर्छ ।

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...