तहसनहस भएको छ, क्षतविक्षत भएको छ
जसले सोध्छ उसैले एक पटक धक्का लगाउँछ
अनि दुख्छ, चर्किन्छ, पोल्छ मेरो हृदय
छटपटिन्छु म, बरबरती आँसु झर्छ एकान्तमा ।
गलित मन भन्छु म, हृदय नै गलेको हुन्छ
बाउँडिए हातगोडा भन्छु म, मन कुँडिएको हुन्छ
थाकेको छ शरीर भन्छु हैन रहेछ
पीडित मस्तिष्क मनमा टाँसिदो रहेछ ।
दुख्दा दुख्दा अब त दुख्न छाडिसके
ऐय्या भन्ने शब्द पनि हराइसके
सानातिना चोटले नदुख्ने भइसक्यो
वचनका तीर र बाणहरू त यसै हराइसके ।
थाहा छ तिमी पनि दुई लात्ती बजार्न आयौ
सबैले हानेको चोटमा मौका पायौ
तर मलाई तिमीले दिएको चोट चोट लाग्दैन
यस्ता चोटले म भित्रका मानव जाग्दैन ।
पिल्सिएको छ, अदुवा झैँ थिचिएको छ
श्रवणमा बहिरो भइसकेको छ हृदयको कान
थोपाथोपा अनि छिटाछिटा रगत जमिनमा ताल बने
यो शरीर ठिङ्ग उभिएको छ तर रक्तसञ्चार विहीन छ ।
हो कोही मुस्कुराएका छन् मेरा सामुन्ने
तर म दृष्टिविहीन भइसकेको छु
कठ्याङ्ग्रिने जाडो र पोल्ने घाम छुट्टिँदैनन्
स्पर्श महसुस गर्ने छाला लठ्ठिएका छन् ।
नशा पिएर लठ्ठिएको नसोच मलाई
म नशामा डुबेको पटक्कै होइन ।
हो, बेहोस भई लठ्ठ परेर संसार भुल्ने रहर छ
नितान्त आफ्नो मनलाई भुलेर बाँच्ने रहर छ ।
म र मेरो मन छुट्याउन नमिल्ने रहेछ
म र मेरा ज्ञानेन्द्रिय छुट्याउन नमिल्ने रहेछ
त्यसैले म मेरा पीडासित रमाइरहेछु
त्यसैले म मेरा हृदय र मनसित रमाइरहेछु ।
पिल्सिएको हृदय चोइटिएको मन
कङ्गाल जीवन छैन केही धन
हानेर जाऊ कि कोट्याएर जाऊ, मनको चोट
न पालुवा कलकलाउँदा न छन् बिरुवा र बोट ।
-सविता के.सी. काठमाडौं