Friday 27th December 2024

एमनेस्टीको प्रतिवेदन : कतारमा नेपाली कामदारमाथि चरम शोषण, बोल्दैन सरकार


तितोपाटी- एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत आप्रवासी श्रमिकमध्ये नेपाली तथा बंगलादेशी कामदार सबैभन्दा बढी श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको छ । एमनेस्टी इन्टरनेशनलले योसँगै तेस्रो पटक नेपाली कामदार कतारमा आर्थिकसँगै श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको हाे ।

सन् २०१७ यता एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत नेपालीहरू धेरै आर्थिकसँगै मानसिक शोषणमा परेको प्रतिवदेन सार्वजनिक गर्दै आएको छ । तर, नेपालले यसबारे अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन ।कतारको रंगशाला निर्माणमा काम गर्न पुगेका नेपाली कामदार श्रम शोषणमा पर्ने गरेको र उनीहरूले करारमा तोकेभन्दा ४ घण्टाभन्दा धेरै काम गर्नुपर्ने बाध्यता रहेको प्रतिवेदनमा उल्लेख छ ।
कतारमा कार्यरत नेपाली कामदारलाई उच्च तामक्रम, मध्यरातमा काम, सिपभन्दा बाहिरको रोजगारी र जोखिमयुक्त काममा लगाउँदा मृत्युसमेत भइरहेको प्रतिवेदनमा औँल्याइएको छ ।

सन् २०१० मा सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएसँगै कतारले आफ्नो श्रम कानुनमा थुप्रै सुधार गरेको दाबी गर्दै आएको छ । कतारले आप्रवासी श्रमिकका लागि श्रम ऐन पनि बनाए पनि कार्यान्वयनको पाटो कमजाेर भएको एमनेस्टी इन्टरनेशनलको प्रतिवेदनमा भनिएको छ ।एमनेस्टी इन्टरनेशनलले अध्ययन गरेका श्रमिक
एमनेस्टी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कतारमा रोजगारीको दौरान मृत्युवरण गरेका श्रमिकको मृत्युको कारण लुकाउने र कतारी अधिकारीले राम्रोसँग छानबिन समेत नगरी समस्या लुकाइरहेको आरोप लगाइएको छ । एमनेस्टी इन्टरनेशनलले नेपाली र बंगलादेशी गरी ६ आप्रवासी श्रमिकको मृत्युको प्रतिवेदनमाथि गहिरो अनुसन्धान गरेको थियो । जसमा निर्माण क्षेत्रमा काम गर्ने चार, एक सेक्युरिटी गार्ड र एक ट्रक ड्राइभरको मृत्यु प्रमाण–पत्रको विषयमा विस्तृत अनुसन्धान गरिएकाे थियाे ।

रोजगारीका लागि कतार पुगेका ३४ वर्षीय तुलबहादुर घर्ती २८ मे २०२० का दिन सुतिरहेकै अवस्थामा मृत फेला परे । उनी निर्माण क्षेत्रमा मजदुरी गर्थे । निधन हुनुभन्दा अघिल्लो दिन लामो समयदेखि ३९ डिग्री सेल्सियसको तापक्रममा लगातार १० घन्टासम्म काम गर्दै आएका थिए । उनको सोही कारण मृत्यु भएको एमनेस्टी इन्टरनेशनलको प्रतिवेदनमा जनाइकाे छ ।


तुलबहादुर घर्ती

यस्तै कतारको एयरपोर्टमा सुरक्षागार्डमा कार्यरत ३४ वर्षीय यमबहादुर रानाको पनि २२ फेब्रुअरी २०२० मा निधन भयो । उनको निधन कार्यस्थलमै भएको थियो । उनकाे पनि लामो समयदेखि चर्को गर्मीमा काम गर्दै आएकै कारण मृत्यु भएको एमनेस्टी इन्टरनेशनलकाे प्रतिवदेननमा उल्लेख छ ।कतारको एउटा मरुभूमिको प्रोजेक्टमा पाइप फिटिङको काम गर्ने ३२ वर्षीय सुजन मियाको २४ सेप्टेम्बर २०२० मा मृत्यु भएको थियो । सहकर्मीले उनलाई बिहान ओछ्यानमै मृत अवस्थामा फेला पारेका थिए । सुजनको मृत्यु हुँदा चार दिनदेखि कतारको तापमान ४० डिग्रीमाथि पुगेको एमनेस्टी इन्टरनेशनलको प्रतिवेदन भनिएको छ ।यसैगरी, निर्माण कार्यमै संलग्न ३४ वर्षीय सुमन मियाको पनि २९ अप्रिल २०२० मा मृत्यु भयो । उनी पनि ३८ डिग्री सेल्सियसको तापमानमा लामो समय ड्युटी गरिरहेका थिए ।
बंगलादेशका ४० वर्षीय मञ्जुर खाँ पठानको घटना पनि प्रतिवेदनमा उल्लेख छ । मञ्जुर ट्रक चालकका लागि कतार गएका थिए । उनी कतारमा दैनिक १३ घण्टासम्म काम गर्थे । ९ फेब्रुअरी २०२१ मा उनी अचानक आफ्नो कोठामा मृत फेला परे । एमनेस्टी इन्टरनेशनलको प्रतिवेदनले उल्लेख गरेअनुसार उनकाे सुत्ने कोठामा ‘एयर कन्डिसन’ नभएका कारण नै मृत्यु भएको हो ।

कतारको रोजगारीका क्रममा मृत्यु भएका यी कामदारका परिवारका सदस्यले क्षतिपूर्ति पनि नपाएको एमनेस्टी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख छ । कतार रोजगारीमा जानुअघि विदेशी कामदारको आवश्यक सम्पूर्ण स्वास्थ्य परीक्षण गरेको र उनीहरूमध्ये कसैलाई भित्री स्वास्थ्य समस्या नभएको एमनेस्टीको प्रतिवेदनमा उल्लेख छ ।
एम्नेस्टी इन्टरनेशनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले आप्रवासी श्रमिकहरूका लागि जारी गरेकोमध्ये १८ जनाको मृत्यु प्रमाणपत्रको समीक्षा गर्‍याे । तीमध्ये १५ वटाले मृत्युको मुख्य कारणहरूबारे कुनै जानकारी प्रदान गरेनन्, त्यसको सट्टा ‘हृदयघात प्राकृतिक कारण’, ‘हृदयघात निर्दिष्ट नगरिएको’ र ‘प्राकृतिक कारणहरूले गर्दा श्वासप्रश्वाससम्बन्धी विफलता’ जस्ता शब्दहरू प्रयोग गरिएका छन् ।सन् २०१५ देखि विश्वकप सुविधाहरूमा ‘कामसँग असम्बन्धित’ भनी अभिलेखिकरण गरिएका ३५ मध्ये आधाभन्दा बढी मृत्युका रिपोर्टहरूमा यस्तै वाक्यांशहरू प्रयोग गरिएका थिए, जसले यस्ता घटनाहरूमा अर्थपूर्ण अनुसन्धान नभएको कुरा जनाउँदै आएको एम्नेस्टी इन्टरनेशनलको अध्ययनमा भनिएको छ ।


यम बहादुर राना

एम्नेस्टीद्वारा गरिएको विश्लेषणले आप्रवासी श्रमिकहरूको मृत्युका सम्बन्धमा कतारले व्यापक रूपमा कारण नखुलाउने गरिएको पाइएकाे छ ।आधिकारिक कतारी तथ्याङ्कले देखाएअनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेशा समूहका १५ हजार २१ जनाभन्दा बढी विदेशी नागरिकको मृत्यु भएको छ । तर, अनुसन्धानको अभावमा मृत्युको कारणहरूको तथ्यांक अविश्वसनीय रहेको कुरा एम्नेस्टीले दस्तावेजीकरण गरेको छ ।

श्रम सम्झौताअनुसारको आधिकारिक धारणा खोइ ?

कतारसँग सरकारीस्तरमा सन् २००५ मा श्रम सम्झौता भएको थियो । त्यसपछि सम्पूर्ण प्रक्रिया पूरा र तयारी भए पनि श्रम नवीकरण हुन नसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । रोजगारदाता कम्पनी, विदेशी लगानीकर्ताले रंगशालामा कार्यरत विदेशी कामदारमाथि ठूलो दुर्व्यवहार र श्रम शोषण भइरहेको एमनेस्टी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख छ ।कतारमा रोजगारीका लागि पुगेका अदक्ष विदेशी कामदार श्रम शोषणमा परिरहेका छन् । नेपाली र बंगलादेशी कामदारहरू सबैभन्दा धेरै श्रम शोषणमा पर्ने गरेको एमनेस्टी इन्टरनेशनलले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेकाे छ ।
कतारको रंगशाला निर्माणका लागि पुगेको नेपाली कामदारहरूले कम्तीमा ११ घण्टा काम गर्नुपर्ने बाध्यता छ । उनीहरूको स्वास्थ्य र भौतिक क्षमताका बारेमा रोजगारदाता कम्पनीले बेवास्ता गर्दै आएको एमनेस्टी इन्टरनेशनलले प्रतिवेदनमा पटक–पटक उल्लेख गर्दै आएको छ ।
खाडीका देशमा विदेशी श्रमिकलाई चर्को घाममा काम लगाउन नपाइने, नेपालीलाई पनि सजिलो हुने एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनका विषयमा नेपालका सम्बन्धित निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कतारस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयले कतारसँग कुटनीतिकस्तरमा छलफल भने गरेको पाइँदैन ।
सरकारले एमनेस्टी इन्टरनेशनलको प्रतिवेदनका विषयमा अध्ययन गरी कतारमा नेपाली कामदारले भोगिरहेको श्रम शोषणका बारेमा छलफल गर्ने श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए । कतारमा रहेको दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारका समस्या समाधान गर्दै आएको र श्रम शोषण, सेवा–सुविधाका बारेमा सम्बन्धित पक्षसँग छलफल गर्ने गौतमले जानकारी दिए । एम्नेस्टी इन्टरनेशनलले सन् २०१७ देखि २०२१ सम्ममा कतारको विभिन्न क्षेत्रका कार्यरत नेपाली कामदार श्रम र आर्थिक शोषणमा परेको तथ्यांक सार्वजनिक गर्दै आएकाेले यसबारे नेपालले आधिकारिक भनाई प्रष्ट राख्नुपर्ने रोजगारविज्ञ डा.गणेश गुरुङ बताउँछन् ।रोजी–रोटीका लागि र आफ्नो परिवार पाल्न रोजगारीका लागि गएका नेपाली कसरी कतारमा श्रम शोषणमा परेका छन् भन्ने विषयमा सरकारले चासो राख्नुपर्ने उनले बताए । ‘कतारमा मात्र हैन, अन्य देशमा नेपाली कामदार कसरी श्रमसँगै आर्थिक शोषणमा परेका छन् । यो विषयमा सरकारले गम्भीर भएर काम गर्नुपर्छ । समस्या एउटा देशको मात्र छैन,’ उनले भने, ‘कतारमा मात्र होइन अन्य देशमा श्रमिकहरूको मृत्युको कारण मुटुसम्बन्धी रोग, हृदयघात प्राकृतिक कारण र प्राकृतिक देखाइएको छ । यो विषयमा राज्यले गम्भीर भएको अनुसन्धान गर्नुपपर्छ ।’वैदेशिक रोजगारीका नाममा भइरहेका समस्या रोजगारदाता देशसँग कुटनीतिकस्तरमा छलफल गरेर समाधान गर्नुपर्ने उनको सुझाव छ । विगत १० वर्षमा रोजगारीका लागि कतार पुगेका १ हजार ८ सय नेपाली कामदारको विभिन्न कारण मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्यांकमा उल्लेख छ ।
कतारमा भएका कामदारहरूकाे मृत्युकाे कारणमा सडक दुर्घटना, आत्महत्या, मुटुसम्बन्धी रोग, हृदयघात र प्राकृतिक कारण देखाउने गरिएकाे छ । हाल कतारमा ४ लाख नेपाली कामदार कायर्रत रहेकाे सरकारी अनुमान छ ।-रमेश भारतीले शिलापत्रमा लेखेका छन

तस्वीर एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनबाट


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिवान सरकारले २४ डिसेम्बर राति पाक्टिकाको बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये…

रियाद: साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयले हालै नेपालमा आयोजित कुरान कण्ठ प्रतियोगिताका विजेताहरूलाई सम्मान गरेको छ, जसमा केटा र केटीहरूका…

दमास्कस - सिरियाली क्रिस्चियनहरूले एक दिन अघि हामा सहरमा क्रिसमसको रूखमा आगो लगाइएपछि आफ्नो धार्मिक अल्पसंख्यकलाई थप सुरक्षाको माग गर्दै…

प्रतिकृयाहरू
...