Thursday 19th March 2026

च्याप्टर क्लोज बट माउथ नट येट


तोयानाथ उपेक्षित, तीतोपाटी – नेकपाको झगडालाई अदालतले विभाजनमा लगेर टुंग्याई दियो । त्यसपछि सोही रोग क्यान्सरकै रुपमा एमालेमा सर्यो । जब निको नहुने ठाउँमा पुग्यो तब काटेर फाल्न पर्ने भयो तर त्यसो गर्न परेन आफ्नै तछारिएर रोगी भाग उछिट्टीयो । फेरी पनि कसैलाई हाईसञ्चो भएको छैन बरु रुवावासी चलिरहेको छ ।

हो कुरा माधव नेपाल र केपी ओली कै हो । माधव नेपालले अर्को पार्टी खोलेर अलग भईसके पछि संयोग पनि कस्तो त्यही दिन ओली पत्नी राधिका शाक्यको जन्म दिन परेको रहेछ । निजी निवासमा पत्नीको जन्मोत्सव ओलीले मनाए त्यसबखत आफैले रचना गरेको म त भाग्यमानी बोलको गितमा छमछमी नाँचे । ठुला मानिसहरुका हरेक गतिविधीलाई सार्वजनिक महत्व र चासोका रुपमा हेर्ने गरिन्छ । यहाँ त्यस्तै भयो । उक्त जन्मोत्सवमा ओलीले व्याक्त गरेको खुशीलाई अन्तै लगेर जोडियो र विभिन्न कोणबाट अर्थ खोजियो । एमाले फुटेकै दिन त्यस पार्टीका अध्यक्षले नाँच गान गरेर पार्टी फुटमा रमाएको अर्थ माधव नेपाल स्वयंले पनि लगाए । हुन सक्छ माधव नेपालको एमालेबाट भएको बहिर्गमनमा ओली खुशी भएका पनि होलान तर माधव नेपाल भने दुःखी हुने कुरा बुझ्न गाहो छैन । उनलाई उचाल्ने स्थायी कमिटीका ९ जनाले अन्तिममा आएर साथ दिएनन् । पार्टी फूटाएर जाने माधव नेपालले अन्तिममा आएर आफ्नैबाट धोका पाएकोमा लामै पिडा बोध गर्न पर्नेछ । त्यो उनले भुल्न सक्ने छैनन । त्यही भएर उनले हार मानिसकेको देखिन्छ । उनको मनोविज्ञान बदलिसकेको छ । ओलीलाई छाडेर आए नयाँ पार्टीको अध्यक्ष छोडन उनी तयार भएका छन । पदकै लागि हुदै आएको एक वर्ष भन्दा लामो कोकोहला बीच उनले नयाँ पार्टी बनाएर अध्यक्ष त भए तर त्यही पदले उनलाई पोल्न थालेको छ । दरबार जस्तो पार्टीका नेता भगेराको गुड जस्तो पार्टीको अध्यक्ष हुन पर्दा पिडा पनि नहोस कसरी ?

ओलीले चाहेको माधव नेपाल विनाको एमाले थियो संयोग पनि ठयाक्कै त्यस्तै भयो । बास्तवमा उनी भाग्यमानी नै सावित भए । सधै भरी माधव नेपालको वरिपरी घुम्ने दोश्रो तहका सवै नेताको साथ ओलीलाई अप्रत्यासित घट्नाक्रमले दिलायो । त्यसैले पनि ओलीको खुशी माधव नेपालले एमालेलाई क्षति पुर्याउन नसकेरै पन्छिएकोमा हुन पर्दछ । ओलीको नाँचले अहिले नेपाललाई तोपले हाने जस्तै पिडा दिएको छ ।

एमाले भित्र सदा साम्राज्य जमाएका नेपाल पार्टीबाटै जीवनको उत्तरार्धमा पन्छनु सवैको लागि दुःखद कुरा हो तर गाई बुढो भए पछि भिर खोज्छ भने झै माधव नेपालले भिर नै खोजे पछि कस्ले काँध थापोस । उनले एमाले भित्र प्रचण्डको लहैलहैमा यत्रो उद्धण्डता मच्चाए र अन्तमा अरुकै योजना मुताविक पार्टी फोड्न अघि सरे । धन्य प्रचण्डले आफ्नो कार्यकर्ता सभामुख मार्फत एमालेले गरेको कारबाही रोकिदिएर पार्टी फूटाउन माधव नेपाललाई सघाए यसमा उनी खुशी नै भएको हुन पर्ने हो । यस्तै शेर बहादुर देउवालाइ प्रधानमन्त्री बनाएको बदलामा माधवको चाहाना र आग्रह बमोजिम संसद अधिवेशन रोकेर २० प्रतिशतले पार्टी फूटाउन सक्ने गरी अध्यादेश ल्याई दिए । असम्भव कुरा संभव बनाई दिने उनका सहकर्मीहरु ठाउँ ठाउँमा नभई दिएको भए उनी समाजवादीका अध्यक्ष पनि हुन पाउने थिएनन । भावी दिनमा उनका मातियारहरुले मन्त्री पडकाउछन । राजदुत बनाईन्छन । नियुक्तिहरुमा भागबण्डा पाउदैछन । अनि किन दुःखी हुनु । किन ओलीले नाँच्दा मुर्छित हुनु ? यी सारा परिपन्च र सेटिंगमा भएका काम कारबाहीले सफलता पाउँदा माधव नेपाल पो हाँस्नु पर्ने हो । किन रुदैछन ? रुन पर्ने केपी ओली नाँच्दैछन नेता त त्यस्तो पो हुन पर्ने हो त । असन्तोष पालेर सधै रोईरहने माधव नेपालको चित्त बुझाउन कृपासुर शेर्पाले भने जस्तो केपी ओलीको टाउको छिनालेर झोलामा हालेर उनलाई दिन पर्ने नै हो ?

त्यसो त ओलीले पनि माधव नेपाललाई किन भुल्थेर ? धमलाको हमालामा माधव नेपालको कुरा गरेर समय बर्बाद नगरौ । यो च्याप्टेर क्लोज भयो भनेर प्रश्न कर्तालाई रोक्न खोज्दै गरेको सवैले हेरेका छन तर भोली पल्ट युवासंघको भाषणको अधिकांश समय माधव नेपाललाई गाली गरेर विताएको देखियो । सुण्डमुण्डहरुको झुण्ड लिएर बसेका माधव नेपाल नर्कतिर लागेको कुरा भयो । यसो त हारेको झगडियाले आफ्नो वकिललाई सराप्ने अघिकार २४ घण्टा सम्म राख्छ भनेर जननेता मदन भण्डारीले भने झै दुवै नेताहरुले एकले अर्कालाई केही दिन यसरी नै गाली गलौज गरिरहने छन । च्याप्टर क्लोज भनिए पनि माउथ केही दिन ओपेन नै रहनेछ । किनकी एमालेका शिर्ष नेता केपी ओली र माधव नेपाल दुवैले हारेका छन । दुवै हरुवा झगडीया हुन । घर फुटे गवार लुटे भएको छ । एमाले त समालिएर जाला तर को को बगेर जान्छ्न् आगामी दिनले बताउने छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...