Sunday 29th March 2026

तीन वर्षमा चार श्रममन्त्री फेरिए : अस्थिर नेतृत्वले श्रमबजारमा समस्य


तितोपाटी- प्रधानमन्त्री केपी ओलीले तीन वर्षमा ४ जना श्रममन्त्री परिवर्तन गरेका छन् । यसको नकारात्मक प्रभाव आन्तरिक श्रम बजार र वैदेशिक रोजगारी क्षेत्रमा परेको देखिन्छ । श्रममन्त्री पटक–पटक परिवर्तन गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारी क्षेत्र, आन्तरिक श्रम बजार, श्रम ऐन र नियमावाली, रोजगारी सिर्जना र बेरोजगारी समस्या ओझेलमा परेको श्रम मन्त्रालयका कर्मचारीहरू बताउँछन् । गोर्कण विष्ट श्रममन्त्री हुँदा सुधारको सुरुआत गरेका थिए । तर, विष्टलाई २०७६ मंसिरमा ओलीले हटाए । २०७४ चैत २ गते श्रममन्त्रीमा नियुक्त भएका विष्टले २० महिना काम गरे । राम्रो काम गर्दागर्दै विष्टलाई हटाइएको भन्दै ओलीको आलोचना पनि भयो ।

विष्टपछि माओवादीका सांसद रामेश्वर राय यादव श्रममन्त्री भए । उनले १३ महिना श्रम मन्त्रालयको कार्यभार सम्हाले । उनले श्रममन्त्री हुँदा श्रमिकका पक्षमा सम्झनलायक काम गर्न सकेनन् ।
गत पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि यादवले राजिनामा दिए । त्यसपछि माओवादी नेता गौरीशंकर चौधरीले श्रम मन्त्रालयको जिम्मेवारी पाए । माओवादी छाडेर एमालेमा प्रवेश गरेका चौधरीले पनि श्रमिकका पक्षमा खासै काम गर्न सकेनन् । छोटो समय मन्त्री भएकाले मन्त्रालयका समस्याका विषयमा अध्ययन गर्न नपाएको उनको भनाइ छ ।दोस्रो पटक संसद विघटन गरेपछि ओलीले जसपाका केन्द्रीय सदस्य विमल श्रीवास्तवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिएका छन् । श्रीवास्तव विघटित प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएर काम गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका श्रमिकको समस्या कसरी समाधान गर्छन् हेर्न बाँकी छ ।श्रम मन्त्रालयका विगतका समस्या र योजनालाई अध्ययन गरेर नयाँ ढंगबाट काम गर्ने श्रीवास्तले जानकारी दिएका छन् ।
गोर्कण विष्ट
विष्टले श्रममन्त्री हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कोष जस्ता कार्यक्रम ल्याए । श्रम ऐन र नियमावाली लागू गरे । विष्टले ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गरे । विष्टकै पालामा वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी म्यानपावरको धरौटी बृद्धि, वैदेशिक रोजगारी क्षेत्रका काममा अनलाइन प्रणाली, कल सेन्टर सञ्चालन, सबै प्रदेशमा श्रम कार्यालय स्थापना र बाल श्रमको अन्त्यको घोषणा गरिएको थियो ।
विष्टले मलेसिया जाने कामदारमाथि ठगी गर्ने संस्था बन्द, कोरियासँग पुनः श्रम सम्झौता, मलेसियासँग श्रम सम्झौता, यूएई, मोरिसस, जापानसँग श्रम सम्झौता र अनिवार्य सरकारीस्तरमा श्रम सम्झौता गरेर मात्र वैदेशिक रोजगारीमा कामदार पठाउने योजना अघि सारे । तर, उनीपछिका मन्त्रीले यो योजनामा खासै चासो दिएनन् । वैदेकि रोजगारीमा जाने कामदारको बीमा अनिवार्य, प्रदेशस्तरमा पुनः श्रम स्वीकृति, प्रदेशमा श्रम कार्यालय, भिसा प्रमाणीकरण कूटनीतिक नियोगबाटै, कूटनीतिक नियोगमार्फत पुनः श्रम स्वीकृति जारी गर्ने जस्ता योजना विष्टले ल्याएका थिए ।
यादव र चौधरी
विष्टपछि श्रममन्त्री बनेका यादव र चौधरीले नयाँ योजना सार्वजनिक गरेनन् । उनीहरूले पुराना योजनालाई पनि अघि बढाउन नसकेको आरोप लाग्दै आएको छ । देशभित्र रोजगारी सिर्जना गर्न यादव अघि सरे । तर, उनकै पालामा रोजगारीको दर घट्यो । गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई रोजगारी सिर्जना गर्न श्रम मन्त्रालयले लक्ष्य राखे पनि ६० हजारले मात्र जसोतसो रोजगारी पाए । त्यसबेला यादव श्रममन्त्री थिए । कोरोना महामारीमा अलपत्र परेका कामदारलाई उद्धार गर्न तथा राहतका लागि पहल नगरेको आरोप यादव र चौधरीमाथि लाग्ने गरेको छ । चौधरीले पनि खासै चर्चा पाएनन् । श्रममन्त्री भएर आएको दुई सातामै चौधरी विवादमा तानिए । कतार कामदार पठाउने भन्दै अवैध अन्तर्वार्ता लिएको आरोपमा मुद्दा परेको एसओएस म्यानपावरको कारबाही फुकुवा गरेपछि उनी विवादमा तानिएका थिए ।
यादव र चौधरीले सामाजिक सुरक्षा कोषमा रोजगारदाता कम्पनीलाई सूचिकृत हुन कानुनी दबाब नदिएको कोषका कर्मचारीहरूको आरोप छ ।श्रममन्त्री परिवर्तन भइरहँदा वैदेशिक रोजगारीका क्रममा ठगिएका कामदार पनि प्रभावित बनेका छन् । सरकार अस्थिर हुँदा पीडितले न्याय पाउन ढिलाइ भइरहेको छ । सरकारले ६ वर्षअघि घोषणा गरेको ‘फ्रि भिसा र फ्रि टिकट’ अझै पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन । खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू भए पनि यी देश जाने कामदार ठगिएको गुनासो पटक-पटक आउने गरेको छ ।

साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...