Thursday 8th May 2025

रुकुम पश्चिम हत्याकाण्ड: न्यायको पर्खाइमै बित्यो एक वर्ष


जेठ ११ गते जातीय विभेदविरुद्धको कालो दिन अर्थात् अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको दिन । सोमबार एक वर्ष भएको छ । यसबीचमा संघ र प्रदेश राजनीतिक घटनाक्रम फेरबदल भए । संघ र प्रदेशमा सरकार हेरफेर मात्र भएनन् मध्यावधी चुनावसमेत घोषणा भयो । तर गत वैशाख ११ गते जातीय विभेदका कारण ज्यान गुमाएका परिवारले न्यायको अनुभूति गर्न पाएनन् ।सरकार फेरबदल र राजनीतिक अन्य घटना क्रमले यो परिवारमा खुसी ल्याउन सकेन । सकोस् पनि कसरी यो परिवार न्यायको पर्खाइमा थियो ।

रुकुम पश्चिमको चौरजहारी–८, सोतीमा रहेकी आफ्नी प्रेमिकालाई बिहे गर्न गएका नवराजसहितका साथीहरुलाई त्यहाँको सिंगो गाउँ जाइ लाग्दा नवराजसहित ६ जनाको हत्या भएको थियो । गाउँलेले जातीय अपशब्द बोल्दै ढुंगामुडासहित कुटपिट गरेका थिए । उक्त कुटपिट पछि ११ जना नदीमा हाम फाले । पाँचजनाले नदी पार गरेका थिए भने नवराजसहित ६ जनाको शव नदी भेटिएको थियो । शरीरमा निलडाम, आँखामा गहिरो चोट लागेको र हात बाँधिएको अवस्थामा शव भेटिएका पीडित परिवारले जनाएका छन् । पीडित परिवारले कुटपिट पछि गम्भीर घाइते बनाइ नदीमा फालेको दाबी गर्दै आएका छन् । डोरीले बाँधिएको लोकेन्द्रको शवले शंका गर्ने ठाउँलाई अझ बलियो बनाउने पीडित परिवारको भनाइ छ । सामूहिक हत्यापछि पीडित परिवारले आजीवन काराबासको माग गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत गरी तीनवटा मुद्दा जिल्ला अदालत रुकुम पश्चिममा दर्ता गरेका थिए ।

‘मृतक नवराज जलेर गए तर न्याय नजलोस्,’ नवराजकी दिदी सुशिला विकले भनिन्, ‘न्यायका लागि न्यायिक आँखा बन्द नहुन् ।’ ‘अब भाइ  फिर्ता त हुँदैन,’ उनले भनिन्, ‘न्याय चाहिँ पाउनु पर्छ ।’ घटनाले नातावाद तथा राजनीतिकरण हुने आशंका दलित अधिकारकर्मीहरूको भनाइ छ । केही जनप्रतिनिधिले घटनालाई ढाकछोप गर्नेखालका प्रतिक्रिया दिँदा न्याय मर्न सक्ने आशंका व्यक्त गरेका छन् । ‘सानालाई ऐन ठूलालाई चैन’ हुने होकी भन्नेमा पनि पीडित परिवार चिन्तित छ । ‘कतिपय पीडित न्याय पर्खंदा पर्खंदै न्याय नै पाएका छैनन्,’ नवराजका बुवा मोहनलाल बिकेले भने, ‘अन्यायमा परेकालाई न्याय दिने काम न्यायमूर्तिको काम हो । तर न्याय पैसा, राजनीतिक शक्तिमा किनबेच नहोस् ।’ ‘न्याय नमरोस्,’ उनी भन्छन्, ‘हामीलाई न्याय मिलोस् ।’

अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिनत गर्न खोज्दा रुकुम पश्चिम चौरजहारी–८, सोती जाजरकोट भेरी–४, रानागाउँका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको थियो । उक्त घटना पूर्वयोजनाअनुसार कुटीकुटी गरी हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रतिवेदन सार्वजनिक गरेको थियो । घटनापछि पीडितले जिल्ला अदालत रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । नवराजकी प्रेमिका मल्ल थरकी किशोरीसहित ३४ जनालाई प्रहरीले पक्राउ गरको थियो ।

पछि पीडक भनिएका केही आफू संलग्न नभएको उच्च अदालत सुर्खेत र सर्वाेच्च अदालतमा पुगेका थिए । उनीहरुको दाबीअनुसार सर्वाेच्च र उच्च अदालतले थुनामुक्त गरेको थियो । मुद्दामा जोडिएको ११ जना अहिले थुनामुक्त भएका छन् भने २३ जना थुनामा छन् । उच्च अदालत सुर्खेतमा कानुन व्यवसायीहरुबीच राय बाझिएपछि सर्वाेच्चमा फाइल गएको थियो । अहिले सर्वाेच्चबाट उक्त मिसिल जिल्ला अदालत सुर्खेतमा पुगेको जिल्लात रुकुम पश्चिमका निमित्त श्रेस्तेदार लक्ष्मण बिकेले जानकारी दिए । उनका अनुसार कोभिड–१९ (कोरोना भाइरस) का कारण अदालती कामकारबाही प्रभावित भएका छन् । एक वर्ष बितिसक्दा पनि पीडकलाई जेल चलानी नगर्दा पनि न्यायको अनुभूति नभएको उनको भनाइ छ । ‘२३ जना भित्र छन् की बाहिर छन् थाहा छैन,’ उनी भन्छन्, ‘अर्काको जिल्ला पर्‍यो । आफ्ना मान्छे छैनन् । न्याय कसरी मिल्ला र ?’ आफूँसँग नागरिक भएको र पहुँचवाला नभएको भन्दै न्याय पहुँचवालाभन्दा पीडितका पक्षमा हुनुपर्ने उनको भनाइ छ ।

‘अब जिल्ला अदालतमा साक्षी परीक्षण बाँकी छ,’ नवराजका पक्षमा निःशुल्क कानुनी वकालत गर्दै आएका अधिवक्ता आरसी गौतमले भने, ‘साक्षी परीक्षण पछि अन्तिम फैसला हुन्छ ।’ न्यायाधीसले उक्त मुद्दा हेर्न मन गरे बढीमा एक महिना लाग्ने उनको भनाइ छ । ‘अहिले निषेधाज्ञाले काम प्रभावित छ,’ उनले भने, ‘निषेधाज्ञापछि अदालतमा करिब एक महिनाभित्रमा अन्तिम फैसला आउन सक्छ । जो न्यायाधीसले चाहनु पर्छ ।’ उनीसहित २५ जना कानुन व्यवसायीले निःशुल्क नवराज विकको मुद्दामा वकालत गरिरहेका छन् ।

पीडित परिवारलाई राहतस्वरुप संघबाट १० र प्रदेश सरकारले एक लाख रुपैयाँ दिएको थियो ।

लाख बत्ती बालियो

जातीय विभेद हत्या भएका ६ जनाको सम्झनामा जाजरकोटमा लाख बत्ती बालिएको छ । नवराज बिकको शव भेटिएको ठाउँमा लाख बत्ती बालिएको हो ।

तिमी निर्दाेष छौं नवराज

नवराज तिमी यो धर्तिमा छैनौं । यसको अर्थ जीवित छैनौं । तिम्रो आत्मा जहाँ छ त्यहाँबाट तिमीले कसरी ज्यान गुमायौं त्यो सुनाउन सक्दैनौं । किनकि स्वर्ग र धर्ति फरक छ । न त्यहाँको कुरा यहाँ थाहा हुन्छ न यहाँको त्यहाँ । अहिले तिम्रो विषयमा अनेकन अट्कलबाजी मार्न थालिएको छ ।

तिम्रो हत्या अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा कसिलो रूपमा बाँध्न खोज्दा होइन भन्ने कूप्रचार गरिन थालिएको छ । तिमी तिम्रो प्रेमीका रहेको गाउँमा रिस साधेर हुलदंगा गर्न गएको जस्तो प्रतिक्रिया आउन थालेका छन् । केही पत्रकारसमेत तिम्रो सत्यतालाई लुकाउन प्रयत्नशील छन् । घटना लुकाउन अनेक उपाय निकालेका छन् । के तिमी हुलदंगा गर्न नै गएका हौ त ? केही युट्युबमा तिमी र तिम्री प्रेमिका भनिएकी बीचको सम्बन्ध छुटिसकेको भन्ने अपबाह पनि फैलाइँदै छ ।

तिमी आफैं गाउँलेको घर घेरा हालेपछि तिमीलाई गाउँले जाइ लागेको भन्नेसम्म पनि आयो । यो कुरा तिमी घाइते हुनथ्यौं भने कसरी सुन्न सक्थ्यौं । तिमी जीवित भएको भए त धेरै प्रमाणहरू हुन्थ्ये । तिमी जसरी गयौं त्यसरी नै प्रमाण मेटिएपछि न्यायका लागि निर्दाेष तिम्रा आमाबालाई कम्ता सकस भएको छ । तिमीलाई न्याय दिने नै अहिले घटनालाई ढाकछापको कसरतमा छन् । आशा छ तिमीले न्याय पाउने छौं । 

(दिदी सुशिला)


सम्बन्धित शीर्षकहरु

हमासको कव्जामा रहेका बाकी बन्धकहरुको मुक्ति अब झन कठिन बन्दै गएको छ । अन्तिम पटक ठुलो रक्तपात हुने खतरा बढेको…

सम्बन्धमा ‘दरार’ आएको चर्चाबीच लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको नयाँ गीत सोमबार रिलिज भएको छ । गीत रिलिज…

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला प्रतिवादी रहेको सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत विराटनगरका…

प्रतिकृयाहरू
...