Thursday 19th March 2026

विद्यार्थीको हात भाच्ने शिक्षिकालाई पाँच हजार जरिमाना र १५ दिन कैद


पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको घटनाको रोल्पा अदालतले अन्तिम फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दिलिपराज पन्तको ईजलासले गत चैत २२ गते शिक्षिकालाई ५ हजार जरिमाना र १५ दिन कैदको फैसला सुनाएको हो। जिल्ला अदालत रोल्पाका श्रेस्तेदार प्रेम खड्काका अनुसार शिक्षिका पहिले नै थुनामा बसिसकेकाले अब फेरि कैद भुक्तान भने गर्नुपर्ने छैन।

रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट २०७६ साल जेठ १२ गते चौध जना विद्यार्थी घाइते भएका थिए। ति मध्य ५ बालिकाको हात भाँचिएको थियो। बिभिन्न कक्षामा अध्ययन गर्ने उनीहरुमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोका पाँच जनालाई दाङस्थित अस्पतालमा लगेर हात भाचिएका कारण प्लाष्टर गरिएको थियो।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै विद्यार्थीरुलाई भाँचिएको बेन्चको खुट्टाले अन्धाधुन्ध हिर्काएको आरोप लागेको थियो। विद्यालय ढिला आएको निहुँमा विद्यार्थीले कुटाई खाएका थिए। शिक्षिकाको कुटाईबाट घाइते हुने अन्य विद्यार्थीहरुमा कक्षा १ का प्रेम पुनसहित सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती थिए।

२०७६ जेठ १२ गते भएको घटना स्थानीयस्तरमा वडापालिकाले घटना मिलाउन पहल गरेको भए पनि बालबालिकामा समस्या थपिएपछि घटना ढिलो गरि २०७६ असार ४ गते मात्र अदालत आएको थियो। उतिबेला गाउँपालिकाले पनि घटना सल्टाउन न्यायीक समितिमा छलफल गराउन खोजेको थियो तर पीडित पक्ष प्रहरी हुँदै अदालत पुगेका थिए। यो घटनालाई राष्ट्रिय मानव अधिकार आयोग र बालबालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेन लगायतका निकायहरुले पनि गम्भिरताका साथ हेरेका थिए।

‘यस्ता केस धेरै छन्। पढाउने नाममा विद्यालयमा सजाय दिने गरिन्छ। पहिले पहिले विद्यालयमा हुने कुटपिट गैरकानुनी थिएन तर २०७५ मा कानुन आएपछि अपराधका रुपमा लिन थालिएको हो।’ सेभ द चिल्ड्रेन काठमाडौका डिल्ली गुरागाई भन्छन्, ‘यो प्रतिनिधि केस हो। नयाँ ऐन आएकाले हल्ला खल्ला भएको हो। अदालतको यो निर्णयले अब बालबालिकालाई सजाय दिनुहुँदैन भन्ने म्यासेज जान्छ। रोल्पाको अदालती निर्णयलाई स्वागत गरेपनि पनि सजाय चाहि कम हो जस्तो लागेको छ।’

घटना घट्ने समयमा रोल्पास्थित सेभ द चिल्ड्रेनमा कार्यरत दिलकमल क्षेत्री भन्छन्, ‘स्कुल सुरक्षित हुनु पर्छ। रोल्पाको यो केश प्रतिनिधि घटना मात्र हो। यस्ता प्रकृतिका बाल हिंसा ठाउँ ठाउँमा भईरहेका हुन्छन् तर दबाएर राखिन्छ।’ उनी भन्छन्, ‘रोल्पाको यो घटना र अदालती फैसलाले बालबालिकामाथि हिंसा गर्नु अपराध हो भन्ने संदेश दिएको छ। आउँदा दिनमा विद्यालय र घरमा हुने बालबालिकामाथिको कुटपिट हुनु हुँदैन भन्ने कुराको उदाहरण बनेको छ।’

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...