Thursday 11th December 2025

यो साता कोरोनाबाट विदेशमा २३ जना नेपालीको निधन


तितोपाटी- यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको हो। भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो। निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन्। योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ। हालसम्म मृत्यु भएकामध्ये दुई सय पैतालिस जना मध्यपूर्वका रहेका छन्।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ। कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन्। यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ।

यसैबीच नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जना संक्रमित पुगेकोमा ९३ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७७ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण शनिबार सांँझसम्म ३ हजार १ सय ३६ जनाको निधन भएको छ।

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगष्टमा ३६ जना नेपालीको निधन भएको थियो। यो वर्ष सुरु भएपछि भने यही अप्रील महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ। गतवर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका थिए। यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाले महामारीका दौरान दुई सय पचास जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिए। उनका अनुसार नेपाल बाहिर करिब पाँच हजार डाक्टर र पन्ध्र हजारको हाराहारीमा नर्सहरु रहेका छन्। ती सबै स्वास्थ्यकर्मीहरुलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उनले बताए।

टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह

एनआरएनएले सुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ। [email protected] मा इमेल पठाएर परामर्श लिन सकिने एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ। स्वास्थ्य समितिले दुई ओटा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरि सकेको र तेश्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ को सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने पनि समितिले जनाएको छ।

डा. सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ सुरु गरेर कोभिड १९ बाट जोगिन र संक्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्ने बारेमा नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिए। पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका तीन सय शहरमा २५ सय स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको जानकारी दिए।

उनका अनुसार एनआरएनमार्फत एक लाख ७० हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो। त्यस्तै, संघका संरक्षक एवंम पूर्व अध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनले नेपालीलाई सघाएको बताए। उनले संसारभर छरिएका स्वास्थ्यकर्मीले सामूहिक रुपमा सीमित श्रोत साधनबाट काम गरेको भन्दै प्रशंसा गरे।

मानसिक स्वास्थ्य समस्यामा वृद्धि

कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरू देखिएको चिकित्सकहरुले बताएका छन्। समिति संयोजक डा. सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुएल माध्यमबाट सहभागी चिकित्सकहरुले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए।

महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए। मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालिम सञ्चालन गरेको समितिका संयोजक सापकोटाले जानकारी दिए। त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा कार्यरत नेपाली चिकित्सकहरु सहभागी छन्।

विदेशमा रहेका नेपालीहरुको अवस्थाको तथ्यांक संकलनमा यूरोप संयोजक डा. बोधराज सुवेदी, यूकेबाट डा. दिलिप यादव, कतारबाट डा. नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा. सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामालगायतको टोलीले तथ्यांक संकलन गर्न सहयोग गरिरहेका छन्। साभार नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

सीरियामा एक वर्षअघि बशर अल–असदले युद्ध जितेको मानिएको थियो, तर परिस्थिती अचानक उल्टियो। उत्तरी सीरियाको इदलिबबाट अहमद अल–शरा ९उपनामस् अबू…

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले…

प्रतिकृयाहरू
...