Sunday 1st November 2026

कविताः जीवात्मा – छन्द: शार्दूलविक्रीडित -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺

मान्छेका मनमा अनेक थरिका राम्रा नराम्रा दुवै
सारा भावहरू लुकेर रहने विश्वास राख्छन् सबै
जिज्ञासा गहिरो रहेर रमिता जिज्ञासु बनेकी अति
के होला जनको पवित्र मनमा ज्यादा गरेको क्षति ।🌷🙏🌺

छुल्याहा कपटी बनेर मनुवा डुल्दै हिँडेका कता ?
बाबाको गुरुको रहेन मनितो गाली गरेका त्यता
आमाको महिमा भुलेर गरिमा भागी जुनेली कता ?
छुस्केरो मनमा बसेर मनुवा छुच्चा भएका त्यता ।🌷🙏🌺

जन्मक्षेत्र भुली असाध्य मनुवा लोभी फटाहा निकै
बेवास्ता जननी अपार धरती साथी भुलेछ्न् कतै
जिम्मेवार नभै विनाश सँगमा बोकी डुलेका बडो
बेइन्साफ लुटी प्रशस्त ढुकुटी खाए चपाए अहो ।🌷🙏🌺

ब्रम्हा विष्णु महेशको भुवनमा निन्दा भएको किन ?
पापी राक्षसको असाध्य जगमा पूजा भएको किन ?
मान्छेका तनका अटेर मनका निर्लज्ज क्रीडाहरू
जीवात्मा कविता बनेर सरिता पारुन् सखापै बरू ।🌷🙏🌺

ब्रम्हाले अणिमा अपार महिमा शिक्षा पढाई दिए
देवीले गरिमा कठोर लघिमा भाषा सिकाई दिए
यस्तो प्राप्ति भई रमेर गुनिला प्राकाम्य आए यता
आनन्दी वशिता रमेर सविता आनन्द ती ईशिता ।🌷🙏🌺

हरि शर्मा (सुवेदी)- गलकोटे कवि
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...