तितोपाटी- कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा कामदार पठाउन खोज्ने एसओएस म्यानपावर प्रालिको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् । गत महिना वैदेशिक रोजगार विभागले भिसा प्रमाणिकरण नगरी नेपालस्थित कतारी राजदूताबासको मिलोमताेमा अवैध रूपमा कतारी प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेको थियो ।
उक्त म्यानपावरले वैदेशिक रोजगार ऐनविपरित कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको तथ्य विभागले छापा मार्ने क्रममा भेटेपछि कारवाही गरेको थियो । कतारी भिसा सेन्टर र एसओएस म्यानपावर सञ्चालक हेम गुरुङ हुन् । गुरुङले भिसा सेन्टरमै सिमित म्यानपावरलाई पैसा लिएर कतारको सिण्डिकेट खडा गर्न खोजेको थिए ।
विभागले अवैध रूपमा कतारी प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिएको आरोपमा एसओएस म्यानपावरलाई ६ महिनासम्म सम्पुर्ण काम कारवाही राेेकेकाे थियो ।
मन्त्री गाैरीशंकर चाैधरीले वैदेशिक रोजगार ऐनले दिएकाे कानुनी अधिकारको दुरूपयोग गरेर कारबाही फुकुवा गरेकाे श्रम मन्त्रालयका एक कर्मचारी बताउँछन् ।
श्रम मन्त्री चाैधरीले म्यानपावरलाई कुन विषयमा कारवाही गरिएको छ भन्ने अध्ययनसमेत नगरी कारवाही फुकुवा गरेकाे विभागस्राेतकाे दाबी छ । ‘विभागले गरेका कारबाही श्रममन्त्री ज्यूले अध्ययन नै नगरी फुकुवा गर्नुभयो । के आधारमा कारवाही फुकुवा गर्नुभयो थाहा भएन’ ती अधिकारीले भने । एसओएस म्यानपावर ६ महिनाका लागि कारवाहीमा परेको थियाे । कारबाही फुकुवा हुँदा ५० लाखसम्म आर्थिक चलखेल भएको आरोप म्यानपावर व्यवसायीले लगाइरहेका छन् ।
ऐनमा म्यानपावर व्यवसायीले कारवाहीमा परेपछि श्रम मन्त्रीको टेबुलमा पुनरावेदन गर्न पाउने अधिकार छ । त्यही अधिकार प्रयाेग गर्दै मन्त्रीले एसओएसको कारवाही फुकुवा गरेका हुन् ।
कतारी भिसा सेन्टर र उनै गुरुङको नेतृत्वमा कतार प्रहरीमा १७ वटा म्यानपावर कम्पनीले मात्र कामदार पठाउन पाउने गरी सिण्डिकेट समेत लाद्ने प्रयास भएको थियो । १७ वटा म्यानपावर कम्पनीले मात्र कतारी भिसा सेन्टर (क्युभीसी)मार्फत कामदार पठाउन छनोट भएका थिए । तर, व्यवस्थापिका संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र म्यानपावर व्यवसायी चर्को विरोधपछि उक्त निर्णयबाट क्युभीसीपछि हटेको थियो ।
मन्त्री चाैधरीले भने एसओएस म्यानपावरमाथि कारबाही फुकुवाबारे केही बताउन चाहेनन् । शिलापत्रले त्यसबारे बुझ्न खाेज्दा उनले ‘कस्ताे म्यानपावर हाे, मलाइ थाह छैन’ भनेर फाेन काटे ।
-साभार शिलापत्रबाट