Wednesday 18th March 2026

तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भएकी थिइन्। बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो। श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर्मिलन गराइदिएको छ।

‘आमाको सम्झना आइरहे पनि फर्केर आउनुहुन्छ भन्ने लागेको थिएन’, उनले भने, ‘आज आमा आउँदा सपना जस्तो लागेको छ, निकै खुशी भएका छौँ।’ छोराहरु अहिले जवान भइसकेका छन्। आमाले छाडेर हिँडदा जेठा छोरा पुन्टे १३, माइला सन्तोष १२ र कान्छा सेतुराम १० वर्षका थिए। अहिले जेठा छोराले विवाह गरिसके।

उनकी छ वर्षीया छोरी छिन्। नाबालक अवस्थामा रहेका छोराहरु छाडेर हिँडेकी पार्वती घर जान पाउँदा निकै खुशी देखिन्थिइन्। तेह्र वर्षसम्म सडक, चौपारी, पाटीपैवामा कष्टपूर्ण जीवन बिताएकी पार्वती अन्तत परिवारको सहारामा पुगिन्। श्रीमान् पूर्णबहादुर माझी श्रीमती घर आउँदा औधी खुशी छन्। पार्वतीको आगमनले परिवारका सबै सदस्यका आँखाबाट आशु बगिरहेका थिए। ‘अब आमाको विशेष रेखदेख गरी पालनपोषण गर्छौं’ बुहारी अल्काले भनिन्, ‘आमा आउँदा घरै उज्यालो भएको छ।’

धादिङ सदरमुकाममा होटल व्यवसाय गर्ने उषा श्रेष्ठले सडकमा फालेको फोहर टिपेर खाँदै गरेको देखेपछि केही दिन आफैसँग राखेर पार्वतीको पालनपोषण गरिन्। पछि उनले नवजीवनको जिम्मा लगाइदिइन्। संस्थाले उनलाई धादिङबाट काठमाडौँ ल्याई आश्रममा राख्यो।

‘पार्वतीले आफ्नो ठेगाना बताएपछि उनकाे परिवार पत्ता लगाउने क्रममा लाग्यौँ’, समाजका अध्यक्ष दुर्गानाथ दाहालले भने, ‘पहिले उनलाई नलिकनै परिवार भेट्न गयौँ, परिवारको पहिचान भएपछि मात्रै उनलाई लिएर सँगै गयौँ।’

पार्वती भेटिएको खबरले गाउँले पनि खुशी भएका छन्। ल्याउने खबर सुनेपछि गाउँलेहरु उनलाई हेर्न घरमा भरिभराउ थिए। पुरानो घर भूकम्पबाट भत्किएर नयाँ घर निर्माण भएकाले सुरुमा त उनलाई चिन्न गाह्रो भयो। पार्वतीको उद्वार गरी घर ल्याउने क्रममा सहयोग गर्ने धादिङका होटल व्यवसायी श्रेष्ठ र काठमाडौँमा बेवारिसे तथा अन्य हिसाबले दुःख पाएकालाई उद्वार गरी आफ्नै आश्रममै लगेर पालनपोषण गर्ने काममा लाग्नुभएका दाहाललाई परिवारले धन्यवाद दिए। वडा सदस्य तारा माझीले पार्वतीको स्वास्थ्य अवस्था बिग्रिएको र मानसिक समस्यासमेत रहेकाले औषधि उपचारका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

-राससको समाचार सेतोपाटीबाट साभार 


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...