Friday 26th April 2024

अलपत्र कामदारकाे प्रश्न : सरकार ! पैसा नहुनेले विदेशमै मर्नु ?


तितोपाटी- धरानका जीवन कटुवाल मलेसियामा चार वर्षदेखि अवैध रूपमा काम गर्दै आएका छन् । कोरोना भाइरसका कारण गत साउनदेखि उनी स्वदेश फर्कन बाटो कुरिरहेका छन् ।
सरकारले उद्धार गर्छ भनेर चार महिनादेखि बाटो कुरेर बसेकाे सामाजिक सञ्जालमार्फत कटुवालले जानकारी दिए । ‘कोरोना महामारी फैलिएसँगै नेपाल फर्कन सातामा एक पटक कहिले नेपाल जान पाइन्छ भनेर नेपाली दूतावासमा सोध्न पुग्छु । तर, दूतावासले आगामी साता भनेकाे चार महिना भयाे,’ उनले भने, ‘मलेसियाबाट फर्किनलाई साथमा पैसा छैन । सरकारले फर्काउँछ भनेर पर्खिरहेको हुँ । अवैध भएर बसेका कारण मलेसियाली प्रहरीले जति बेला पनि पक्रिने डर छ ।’
कटुवालले नेपाल फर्कन नपाए मलेसियामा पुनः अवैध भएर काम गर्ने बताए । सरकारले उद्धार नगरे फेरि मलेसियाकै रोजगारदाता कम्पनीमा भागेर काम गर्ने सोचिरहेको उनको भनाइ छ ।
यस्तै, कतारमा भोजपुरका दिलराज राई पनि अलपत्र अवस्थामा छन् । राईसँग स्वदेश फर्किने पैसा नभएका कारण उनी पनि चार महिनादेखि नेपाल फर्कन पाएका छैनन् । उनी पनि काेराेनाकै कारण रोजगार गुमेपछि फर्किने पैसा नहुँदा कतारमै अलपत्र भएर बसेका हुन् ।

‘सरकारले उद्धार गरेन भने कतारमै मरिएलाजस्तो छ । अहिलेसम्म कम्पनी र साथीभाइले दयाले खान र बस्न दिइरहेका छन् । सात महिनादेखि कम्पनीले तलबसमेत दिएन्,’ उनले भने, ‘कतारमा राेजगारीका लागि आउँदा लागेकाे ऋण नै तिर्ने सकेको छैन । कम्पनीले तलब र स्वदेश फर्किने टिकट नदिँदा अलपत्र भएर बस्नुपरेको छ । सरकारले उद्धार गर्छ भन्ने आस थियो । अब त त्यो पनि हराउँदै गयो ।’
कोरोनाका कारण दसैँतिहारमा कतारमै अलपत्र परेर बस्नुपरेको उनको गुनासो छ । वैदेशिक रोजगारमा रहेका कामदार कोरोनाका कारण रोजगारी गुमेर भोकभोकै बस्दासमेत सरकारले उद्धार गर्न चासो नदेखाएको उनको आरोप छ ।
यसैगरी, काभ्रेका यमकुमार क्षत्री यूएईमा कोरोनाका कारण रोजगारी गुमेर अलपत्र बनेर बसेका छन् । उनी तीन महिनादेखि सरकारले उद्धार गर्छ कि भनेर पर्खिएरै बसेका छन् ।
‘रोजगारी गुमेपछि कम्पनीले दिएको सानो कोठामा बसेको छु । स्वदेश फर्किन साथमा पैसा छैन । सरकारले उद्धार गरेन भने यतै मरिन्छ कि ?,’ उनले भने, ‘कोरोनाका कारण रोजगारी गयो । नेपाल फर्कन पैसा छैन । सरकारले उद्धार गर्दैन । यूएईमा रहेको दूतावास धाउँदा-धाउँदा वाक्क लागिसक्यो ।’
कटुवाल, राई र क्षत्रीजस्तै कोरोना भाइरसका कारण रोजगारी गुमाएका धेरै कामदार उद्धारकाे प्रतीक्षामा छन् ।
कोरोना भाइरसका कारण रोजगारी गुमाएका धेरै कामदार स्वदेश फर्किने पैसा नभएकाले सरकारी उद्धारको प्रतीक्षामा छन् । हाल विभिन्न देशमा काेराेनाका कारण रोजगारी गुमेका करिब ७० हजार कामदार फर्काउन बाँकी रहेको परराष्ट्र मन्त्रालयकाे भनाइ छ ।
उद्धार निर्देशिका गैरजिम्मेवार
सरकारले गत साउनमा विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७’ ल्याएको थियो ।
सर्वोच्च अदालतले आदेश दिएपछि मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गर्ने निर्देशिका पारित गरेको थियो । उद्धार निर्देशिका ल्याए पनि विदेशमा अलपत्र परेका कामदारको सरकारले निःशुल्क उद्धार भने गरेको छैन ।
सरकारले त्यस्ता कामदारकाे उद्धार गर्न ल्याइएको निर्देशिकाअनुसार काम नभएको रोजगारविज्ञको आरोप छ । कोरोनाका कारण रोजगार गन्तव्य देशमा अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बनेको रोजगारविज्ञ गणेश गुरुङ बताउँँछन् । भन्छन्, ‘वैदेशिक रोजगारीमा गएका कामदारले जम्मा गरेको पैसाले तिनै समस्या परेका श्रमिककाे उद्धार गर्न सरकारलाई किन गाह्रो भएको छ ?’
कोभिड संकट व्यवस्थापन केन्द्रले हाल गर्दै आएको उद्धारकार्य सकिएको भन्दै सबै देशबाट उद्धार उडान रोक्न सरकारलाई सिफारिस गरेको छ । विदेशमा बेखर्ची भई अलपत्र परेका श्रमिकको उद्धार नगर्दै सरकारले उद्धार उडान रोक्दा उनीहरू झनै समस्यामा पर्ने देखिन्छ । उद्धार निर्देशिका जारी गरे पनि सरकारले कल्याणकारी कोषको पैसा खर्च गरेर कामदारको उद्धारमा चासो नदेखाएको श्रमिकको गुनासो छ ।

उद्धार भइरहेको छ : दूतावासहरू
कोरोनाका कारण अलपत्र परेका कामदारको समस्या हेरेर उद्धार भइरहेको विभिन्न देशका दूतावासहरूले दाबी गरेका छन् । कोरोना भाइरसका कारण समस्यामा परेका कामदारलाई उद्धार उडानमार्फत पठाइरहेको मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेले बताए । कोरोनाका कारण समस्यामा परेका कामदार केन्द्रित भएर दूतावासले उद्धार गर्ने काम गरिरहेको उनको भनाइ छ ।
यस्तै, यूएईस्थित नेपाली दूतावासले पनि कोरोनाका कारण अलपत्र अवस्थामा रहेका कामदारको उद्धार गरिरहेको जनाएको छ । यूएईमा कोरोनाका कारण रोजगारी गुमाएका र अन्य समस्यामा परेका नेपालीलाई दूतावासले उद्धार विमानमार्फत स्वदेश फकाइरहेको दूतावासका राजदूत कृष्णप्रसाद ढकालले बताए ।
यसैगरी, कतारस्थित नेपाली दूतावासले पनि कोरोना भाइरसका कारण रोजगारी गुमाएर अलपत्र परेका कामदारको उद्धार भइरहेको जानकारी दिएको छ । कतारमा कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीहरूको उद्धार उडानमार्फत समय मिलाएर उद्धार भइरहेको राजदूत नारदराज वाग्लेले जानकारी दिए । उनले नेपाल फर्कन नपाएका नेपालीको तथ्यांक संकलन गर्ने काम भइरहेको बताए ।
सरकारी खर्चमा १ सय ५६ कामदारको उद्धार
कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार २५ कात्तिकसम्ममा १ लाख ३९ हजार नेपाली कोरोनाका कारण स्वदेश फर्किएका छन् । यसरी फर्किएका अधिकांश सरकारी नभई निजी खर्चमा फर्किएका हुन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार हालसम्म कल्याणकारी कोषको रकममार्फत १ सय ५६ जना कामदारकाे उद्धार गरिएको छ । बोर्डको तथ्यांकअनुसार मलेसियाबाट ८६, बहराइनबाट १८ र यूएईबाट ५२ जनाको निःशुल्क उद्धार गरिएको हो । सरकारले कोरोनाका कारण समस्यामा परेका विभिन्न ६० मुलुकबाट नेपालीहरू स्वदेश फर्काइरहेको छ ।
यस्तै, सरकारले गत जेठ महिनायता यूएईबाट ४० हजार ४ सय १० जना, कतारबाट २६ हजार ७ सय ९० जना, मलेसियाबाट १८ हजार ८ सय २० जना, कुवेतबाट १० हजार ४ सय ८२ जना, साउदी अरबको रियाद र जेद्दाबाट १८ हजार ७ सय ६० जना, ओमानबाट १ हजार ७ सय ८४ जना, जापानबाट ३ हजार ९ सय ९२ जना र टर्कीबाट ३ हजार ५ सय ३९ जनाको उद्धार गरेको छ ।

यो खबर आजको शिलापत्रमा रमेश भरतीले लेखेका छन।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...