Thursday 29th October 2020

१४ वटा देशमा ट्रान्जिट हुँदै अमेरिका, २७ लाख सकियो, दुई वर्ष जेलपछि हतकडीसहित स्वदेश


नवराज मैनाली-१४ वटा देशको ट्रान्जिट हुँदै अमेरिका छिर्न खोजेका ६ नेपाली युवा लाखौँ सिध्याएर दुई वर्ष जेल बसी स्वदेश फर्केका छन् । मानव तस्कर समूहको पछि लागेर मेक्सिकोबाट अमेरिका छिर्न खोजेका उनीहरूलाई अमेरिकाका सुरक्षाकर्मीले नेपाल नै ल्याएर छाडिदिएका छन् ।गत १४ असोजमा चार्टड विमानमार्फत अमेरिकाले उनीहरूलाई नेपाल ल्याइदिएको हो । दाङ, झापा, रुकुम पूर्व, बाग्लुङ र दोलखाका युवा त्यसरी निष्कासनमा परेका हुन् । उनीहरूलाई मानव तस्करको समूहले विभिन्न देश हुँदै अमेरिकाको सीमासम्म पु¥याएको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी देवबहादुर बोहराले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्दा पनि उनीहरूको हातमा हत्कडी लगाइएको थियो । सुन्दर जीवनको सपना बोकेर अमेरिका पुगेका उनीहरू स्वदेश फर्कँदा बेखर्ची थिए ।

त्यसरी फर्किएकामध्ये एक हुन्, रुकुम पूर्वका रमेश केसी (नाम परिवर्तन) । २० कात्तिक ०७५ मा उनको अमेरिका यात्रा सुरु भएको थियो । नेपालबाट सुरुमा उनलाई कतार हुँदै इथियोपिया पुर्‍याइयो । त्यहाँबाट दुबई हुँदै फ्रान्स, चिली, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै अमेरिकाको छिमेकी देश मेक्सिको पुर्‍याइयो । त्यहाँबाट अमेरिका छिर्ने क्रममा उनी पक्राउ परे । यसबीचमा २७ लाख रुपैयाँ सकिएको उनले प्रहरीलाई बताएका छन् । करिब २२ महिना जेल बसेर नेपाल आएका उनलाई लिन प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली विमानस्थल पुगेको थियो, तर उनले गिरोहविरुद्ध प्रहरीमा उजुरी दिन मानेका छैनन् । दाइ र भिनाजु नाता पर्ने व्यक्तिहरूले आफूलाई त्यसरी अमेरिका पठाएको उनले बताएका छन् ।

उस्तै कथा छ, बाग्लुङका अमर सापकोटाको । २१ साउन ०७५ मा अमेरिका पुग्ने सपना बोकेर नेपालबाट दुबई उडे । त्यहाँबाट फ्रान्स, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका त छिरे, तर सपना पूरा भएन । सीमामै पक्राउ परेपछि जेलमा बसेर मुद्दा लडेका उनी मुद्दा हारेपछि स्वदेश आइपुगेका छन् । निष्कासन गरी उनलाई नेपाल पठाइएको हो । बुबाले पैसा बुझाएकाले कति खर्च भयो थाहा नभएको उनले बताएका छन् ।

दाङका नरेश पराजुलीले अमेरिकाको सपनामा ३० लाख सके । उनी चैत ०७५ मा अमेरिका पुगेका थिए । करिब १५ महिना जेल बसेर स्वदेश फर्केका छन् । उनी दुबई, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट मेक्सिको हुँदै अमेरिका पुगेका थिए । अमेरिकी भूमिमा प्रवेश गर्नासाथ उनी पक्राउ परेका थिए ।

उनीहरूसँगै दोलखाका प्रमेश शेर्पा पनि चार्टर्ड विमानमा फर्किएका छन् । उनी मंसिर ०७५ मा नेपालबाट दुबई, ब्राजिल, बोलिभिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेका थिए । पोखराका एक व्यक्तिले उनीसँग २९ लाख रुपैयाँ लिएका थिए । उनी पनि २२ महिना जेल बसेर मुद्दा हारेपछि निष्कासनमा परेका हुन् ।

यस्तै, दाङका विमल आचार्य भदौ ०७५ मा काठमाडौंबाट उडेका थिए । उनको ट्रान्जिट भने छोटो र फरक छ । सुरुमा उनलाई दुबईबाट रुस पु¥याइयो । त्यहाँबाट स्पेन हुँदै सीधै मेक्सिको पु¥याइएको थियो । त्यसक्रममा उनको २५ लाख रुपैयाँ खर्च भयो ।

झापाका समिर कार्की असोज ०७५ मा काठमाडौंबाट दुबई, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोज्दा समातिए । पोखराकै एक व्यक्तिले त्यसबापत २६ लाख रुपैयाँ लिएको उनले बताएका छन् । उनीहरूसँगै भिजिट भिसामा अमेरिका पुगेका मकवानपुरका एक युवकलाई पनि अमेरिकाले निष्कासन गरेको छ । गाडी चलाउने क्रममा गल्ती गरेपछि उनलाई पक्राउ गरी नेपाल फर्काइएको हो ।

स्वदेश फर्किएकामध्ये कतिपयमा डिप्रेसनको समस्या देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ऋण गरेको पैसा पनि डुबेको र अमेरिका पुगेर जेल बस्नु परेकाले उनीहरू चर्को निराशामा छन् ।

उनीहरूमध्ये अधिकांश आफन्तबाटै ठगिएका छन् । र, सोहीकारण उजुरी दिन नमानेको ब्युरोका एसपी शारदाप्रसाद चौधरी बताउँछन् । ‘हामीले अमेरिका पठाउने गिरोहमाथि अनुसन्धान गरिरहेका छौँ,’ चौधरी भन्छन्, ‘तर, उनीहरूबाट सोचेअनुसार सहयोग पाउन सकेका छैनौँ ।’मेक्सिको हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने सयौँ नेपाली हरेक वर्ष पक्राउ पर्छन् । कतिपय बाटोबाटै फर्किन्छन् । कतिपयलाई अमेरिका लैजाने भन्दै अफ्रिकी देशमा लगेर बन्धक बनाइने गरेका घटना छन् । यसअघि २ पुसमा पनि अमेरिकाले यसैगरी पाँचजना नेपाली युवालाई काठमाडौं ल्याएर छाडिदिएको थियो ।

-नयाँपत्रिका दैनिकबाट


Loading...
सम्बन्धित शीर्षकहरु

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य…

अमेरिकाको मिशिगनमा मानेको दशैँ यो। जे जस्तो मिल्यो त्यसैमा रमी गुजारा गरियो। कोरोना साक्षी अहिले वर्ष दु:खको दशैँ यो ।…

तीतोपाटी - भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन तीन दिने भ्रमणका लागि यही कात्तिक १९ गते काठमाडौं आउने भएका…

प्रतिकृयाहरू