Friday 3rd January 2025

कविता-विसंगति


तितोपाटी- मिलेन पटक्कै कुनै गति! सारै बिमेल वा असङ्गति!
यही होला बिसङ्गति आहा!! कस्तो बिमेलका कुराहरु यो लोकमा!!!

एकातिर आफ्नो लभ पर्छ त सोही दिन सोही समयमा आफन्तको घरमा जुठो ! धर्म कमाउन मन्दिर पुग्ने भक्त सुटुक्क कसैको जुत्ता चोरी गायब ! तामा तुलसी छोएर कसम खाएको नेता दुनो सोझ्यायो आफ्नै! शिक्षकले दिनभर पढायो अनि सोही छात्रालाई राति प्रेमिका बनायो !
सालीप्रति आसाक्ति देखाउनेहरु कालिका भक्त !
धरोधर्म भन्ने व्यापारी तोक्छ मन लागेको भाउ!
दिनभर श्राध्द गरेर हिँडेको ब्रम्हाण राति मस्त पिएर देखायो जात्रा!
घरमा श्रीमती छोराछोरी हुनेले वाहिर अविवाहित घोषणा!
सिउँदोमा राखेको सिन्दुर र हातमा लगाएको चुरा भुल्दै कुनै विवाहित महिलाको आफूलाई अविवाहित घोषणा !
आफ्नो परिवारको भलाईको लागि विदेश गएको लोग्ने घर फर्किँदा घरमा सम्पति तथा श्रीमती गायव !
यति मात्रै हो र ? कति छन् कति यस्ता बिसङ्गति !

यस्तै भएको कारणले होला नेपाली भाषाले उखान टुक्का जुराएको!
ताक परे तिवारी नत्र गोतामे!
मुखमा रामराम बगलीमा छुरा!
रोटी चिल्ला मिठा त कुरा खस्रा!
नक्कली जोगिले बढी खरानी घस्छ !
आधा गाग्रो छच्ल्किन्छ!

कुरा गर्दै जाँदा अर्को उखाने पुराण बन्दछ, छाडौं यस्ता कुरा!
काममा मात्र हो र ? नाममा पनि उस्तै हैरान!

दिनभर अर्काको जिउ काटेर मासु बेच्नेको नाम दयाराम!
खालि अर्काको बिगार्दै हिँड्ने र सुरा सुन्दरीमा दिनरात लट्ठ हुनेको नाम धर्मदेव! काम बिभिषण नाम चाहिं लक्ष्मण!
काम -कंश, रावण, मधु, कैटभ तर नाम चाहिँ राम!
कामवासना बोको जस्तो स्वभाव भएको ब्यक्तिको नाम भिष्म!
कानाको नाम नेत्र बहादुर!
नास्तिकको नाम इश्वर!
काँतर तथा पानी आन्द्रेको को नाम बीरबहादुर!
नाम छ हरि बहादुर, काम वृत्रासुर!
छुच्चा, मख्खिचुस, चिम्टा, चुईँया, कन्जुस, लोभी काट्टेहरुको नाम दानबहादुर!
वाह!!! क्या कमाल!!
रुन्चेहरुको नाम- खुशी, विनोद, राजु, प्रफुल्ल, मनोहर,मुस्कान, आदि आदि!! आफ्नै दुनो सदैव सोझ्याउनेहरुको नाम- दुर्गा, अच्युत, माधव, केशव, गोविन्द , दामोदर बिष्णु,शिव श्रीरामआदि !
छ्या!!!कस्तो ताजुव लाग्दा कुराहरु!

नारी नामहरु पनि उस्तै छ्न् ।
आँखा डेरो हुनेको नाम सुलोचना!
बेश्याको नाम सती, सावित्री, दुर्गा, देवी!
सबै कुरामा अशान्ति सृजना गर्नेको नाम शान्ति!
बाँदरमुखेको नाम सुन्दरी!
हिउँ जस्तो मुहार हुनेको नाम काली!
सुर्पणखा र हिडिम्वाको स्वभाव हुनेको नाम-
सीता, सरिता, शारदा, कमला, राधिका, सरला इन्दिरा, दीपिका, सरस्वति, देवी आदि आदि !
किन भएको यस्तो ?
छैन उत्तर! मात्र बिसङ्गति ।
समयको गतिसाथ कतै बिसङ्गति पनि हट्छ कि ? आशा भने पट्टकै मार्नु हुँदैन!
यस्ता नाम कति छन् कति!
हजुर हामी पनि आफ्नो नाम सम्झेर बिसङ्गति छुट्ट्याउन तिर लागिहाले राम्रो!

हरि शर्मा(गलकोटे कवि)
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

उनलाई खुशी बनाउन खोजेको छु मैले किन आँसु बग्यो आँखाबाट रोक्न खोजेको छु मैले ।। यो दुनियाँमा रमाएर बाच्न खोजेको…

बंगलादेशको एक अदालतले देशमा अल्पसंख्यक समूहको संरक्षणको वकालत गर्ने एकजना हिन्दू नेतालाई जमानत दिन अस्वीकार गरेको छ। कृष्णदास प्रभु दक्षिणपूर्वी…

सेप्टेम्बर ८ मा सिरियाको मेसाफ सहर नजिकैको एक अद्वितीय धम्कीपूर्ण भूमिगत इरानी क्षेप्यास्त्र उत्पादन सुविधा विरुद्ध IDF शाल्डाग विशेष अपरेशन…

प्रतिकृयाहरू
...