Monday 16th February 2026

हिमालय एयरलाइन्सले आफैं ग्राउन्ड ह्यान्डलिङ गर्ने अनुमति पायो


रविन्द्र शाही -हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते हिमालयलाई आफ्ना जहाज आफैं भूमिस्थ प्रबन्ध गर्ने अनुमति दिएको हो।प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन निर्देशिका-२०७२ अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ प्रमाणपत्र दिइएको उल्लेख छ। हिमालयले अनुमति पाएपछि जहाजको व्यवस्थापन आफैं गर्ने छ।

यसअघि यस्तो अनुमति थाइ एयरवेज र एयर इन्डियाले मात्र पाएका छन्। बाँकीको भने नेपाल एयरलाइन्सले नै गर्दै आएको थियो। नेपाल एयरलाइन्सलाई दिइएको अनुमतिको म्याद अर्को वर्षको जेठमा सकिँदैछ।हिमालयले ४२ उडान तालिका स्वीकृत भएको र सोहीअनुसार उडान गर्ने र त्यसको व्यवस्थापन क्षमता भएको भन्दै भदौ ३१ गते प्राधिकरणमा आवेदन दिएको थियो।

सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको हिमालयमा चिनियाँ लगानी समेत छ। नेपालको यती समूहको बहुमत स्वामित्व भएको हिमालयले चार जहाजबाट युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गरिरहेको छ।हिमालयसँग एयरबसका ए३२०–२१४ सिरिजका तीन र ए३१९–११५ सिरिजको एक जहाज छन्।

कुनै पनि एयरलाइन्सले उडान सञ्चालन गर्दा त्यसमा आउने तथा जाने यात्रुका लागि बोर्डिङ पास जारी गर्ने, जहाजसम्म यात्रु लिनका लागि, ब्यागेज तथा कार्गो ओसारपसार, क्याटरिङ, इन्धन, एयरक्राफ्ट सफाइ, एयरसाइड व्यवस्थापन लगायतका सेवा दिनुलाई भूमिस्थ प्रबन्ध भनिन्छ।आफैं यस्तो सेवा दिने अनुमति नपाएका एयरलाइन्सले भने यसबापत शुल्क दिनुपर्छ। अबदेखि यस्तो सेवा हिमालय आफैंले गर्न पाउने छ।प्राधिकरणले हिमालयलाई यस्तो सेवा सञ्चालन गर्न पूर्वसर्त तोकेको छ। जसअनुसार सेवा सञ्चालन गर्दा चाहिने मेसिन, औजार, तेस्रो पक्ष बीमा (न्यूनतम ५ करोड डलर) गर्नुपर्ने, निर्देशिकाअनुसार शुल्क बुझाउनुपर्ने, व्यवस्थापकीय क्षमता विकास गर्नुपर्ने लगातयका सर्तहरू तोकिएको छ। यी सर्त पूरा भएपछि एयरलाइन्सले सेवा सञ्चालन गर्न पाउने छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...