Tuesday 23rd April 2024

रियाशा भन्छिन्- गल्ती भए माफी माग्छु तर अपशब्द नभनिदिनु


समिक्षा अधिकारी- तीन वर्षअघि ‘हिमालयन रोडिज’ कार्यक्रम सुरू भयो। यसको केही समयमै युट्युबमा यस्तै अर्को कार्यक्रम आयो- रोडिज प्यारोडी। ‘कलेज नेपाल’द्वारा सार्वजनिक रोडिज प्यारोडीको पहिलो भिडिओ युट्युब ट्रेन्डिङमा पर्‍यो। यसमा निर्णायक र सहभागी बनेका कलाकारको अभिनय धेरैले मनपराए। योसँगै रियाशा दाहालको कलाकारिता क्षेत्रले पनि फड्को मार्‍यो।अहिले उनी युट्युब स्टार, कलाकार तथा मोडलका रूपमा चिनिन्छन्। ‘रोडिज प्यारोडी हामीले हचुवा भरमा रमाइलोका लागि गरेका थियौं। तर युट्युब ट्रेन्डिङमा पो आयो,’ रियाशा त्यति बेलाको क्षण सम्झिँदै भन्छिन्, ‘मिहिनेत गरेपछि हुने रहेछ भन्ने सोचेर अझै मन लगाएर काम गर्न थाल्यौं।’

प्यारोडी–कमेडीबाट कला क्षेत्रमा होमिएकी रियाशा अभिनयमा आश लाग्दो प्रतिभा बन्दै छिन्। उनका ‘फ्यान-फलोइङ’ दायरा बढ्दो छ। टिकटकमा मात्रै उनलाई साढे ४ लाखले फलो गरेका छन्। इन्स्टाग्राममा एक लाखले पछ्याएका छन्। विशेषगरी युवा वर्गमा उनको प्रभाव राम्रो फिँजिएको छ। पछिल्लो समय रियाशा मोडलिङमा समेत सक्रिय छन्। हालै सार्वजनिक उनले मोडलिङ गरेको गीत ‘ए है माया’ ले उनलाई नयाँ उचाइमा पुर्‍याएको उनी बताउँछिन्।’पहिले पनि म्युजिक भिडिओमा काम गरेकी थिएँ। तर ए है मायाले गर्दा स्थापित भएजस्तो लागेको छ,’ उनी दंग सुनिन्छिन्, ‘नाम चलेका कलाकारसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ।’

ए है माया..गीतमा अभिनेता पल शाह, मोडल सुधीर श्रेष्ठ र सागर लम्साल (बले) सँग ‘ट्युनिङ र केमेस्ट्री’ मिलेपछि रियाशा यतातिर सक्रिय बन्न थालेकी हुन्। लकडाउनमा पनि उनलाई म्युजिक भिडिओबाट फुर्सद मिलेन। त्यसो त उनी योजना बनाएर यो क्षेत्रमा आएकी होइनन्। बिबिए पढाइ सकेर बसेका बेला आफ्नै दाइले काम गर्ने ‘कलेज नेपाल’मा भित्रिएकी थिइन्। स्वर राम्रो भएकाले उनले कार्यक्रम सञ्चालकको जिम्मेवारी पाइन्।’पढाइ सकेर बिजनेस वुमन बन्ने वा पढाइअनुसार कतै राम्रो जागिर खाने सोच थियो,’ उनी भन्छिन्, ‘समयको माग अर्कै रहेछ। गायक कि भिजे बन्न हिँडेको मान्छे, अभिनयमा कम्मर कसेर लागेकी छु।’

रियाशाको चञ्चले र छिटो छिटो बोल्ने बानी छ। तर ज्ञानी स्वभाव देखाउनु पर्ने, अड्कलेर बोल्नुपर्ने भिडिओ जक्कीको कामले उनलाई सन्तुष्ट पार्न सकेन। ठ्याक्कै भन्नुपर्दा, उनलाई त्यो काममा चित्त परेन। अनि लागिन् हाँस्यव्यंग्य अभिनयतिर।प्यारोडी कमेडी गर्दै अघि बढेकी रियाशाको केमेस्ट्री कलेज नेपालकै अर्का स्टार जिवेशजंग गुरुङसँग मिल्यो। दुवै मिलेर प्यारोडी अघि बढाए। केही समयपछि युट्युबमै ‘आजकालको लभ’ नामक कमेडी सिरियल चलाए।छुच्ची श्रीमती बनेकी रियाशा र सोझो श्रीमानको भूमिकामा जिवेशलाई दर्शकले औधी रुचाए। कतिपयले वास्तविक जीवनकै जोडीसम्म भन्न भ्याए। दुवैले एकसाथ उचाइ लिए। युट्युबको कार्यक्रम देखिए पनि परिचय यहीँ सीमित रहेन। कति भिडिओ फेसबुकमा भाइरल बने, कति डाइलग टिकटकमा। युवामाझ छुट्टै परिचय स्थापित गर्न यी दुई सफल भए।

तर केही समययता उनीहरूलाई सँगै देख्न पाइँदैन। जिवेशसँग खटपट बढेपछि रियाशाले सँगै काम नगर्ने निर्णय गरिन्। उनीहरू एकैसाथ पर्दामा नदेखिएको निकै भइसक्यो।विवादबारे कुराकानी गर्ने मनस्थितिमा पनि छैनन् रियाशा। यति भन्छिन्, ‘यो विवादले मलाई अझै परिपक्व बनाएको छ। जिम्मेवार बनाएको छ। पर्दामा देखिँदा आइपर्ने समस्याबारे बुझाएको छ। सामना गर्ने क्षमता पनि बढेको छ।’

काम गरिरहेको कार्यक्रमबाट बाहिरिँदा आफैंले निर्देशन गरेर नयाँ कार्यक्रम बनाउने उनले सोचिसकेकी थिइन्। कलेज नेपालबाटै प्रशारण हुने ‘सोल्टिनी सिजन–२’ मा उनी आफैं निर्देशक भएर नेतृत्व गरिरहेकी छन्। साथै नेपाल टेलिभिजन प्लसबाट प्रशारित ‘अति भो’ मा पनि प्रमुख भूमिकामा छिन्।रियाशा निर्देशित ‘सोल्टिनी’ युवा पुस्तामात्र केन्द्रित छैन। सामाजिक बेथितिलाई समेत व्यंग्य गर्न खोजिएको उनी बताउँछिन्। साथै सन्देशमूलक संवाद छन्। रियाशा त्यहीखालको चरित्र निर्माणमा जोड दिँदै आएकी छन्।’यसमा हामीले टिनएजका कथा-व्यथा मात्रै विषय बनाएका छैनौं,’ उनी सोल्टीनी सिरियलबारे थप बताउँछिन्, ‘सामाजिक विषयवस्तुतिर पनि उत्तिकै ध्यान दिन थालेका छौं।’

कुनै बेला कलाकारिता नै छाड्ने मनस्थिति बनाएकी रियाशा यी दिनमा अझै ‘बोल्ड’ देखिएकी छन्। आत्मविश्वासी भएर यही क्षेत्रमा भविश्य देख्न थालेकी छन्।उनको घर ललितपुर, चापागाउँ हो। अहिले परिवारसहित बानेश्वर बस्छिन्। कला क्षेत्रमा काम नगरे हुन्थ्यो भन्ने परिवारको सोच बदलिएको देख्दा उनको ऊर्जाको पारो ह्वात्तै बढेको छ। आफ्ना दर्शकलाई सकेसम्म नयाँ नयाँ ‘कन्टेन्ट’ पस्कन उनी तल्लीन छिन्।’पहिले त परिवारले यो क्षेत्रमा नलागे हुने झैं गर्नुहुन्थ्यो। उहाँहरूको विचार फेरिएको देख्दा मलाई नै अचम्म लाग्छ,’ उनी निर्धक्क सुनिन्छिन्, ‘अब त झन् यो क्षेत्रमा जम्नु छ, फलानो बिना तँ को होस्, तेरो अस्तित्व के छ? भनेर गाली गर्नेलाई देखाउनु छ।’

आफैंले भनेजसरी काम गरिरहँदा पनि उनलाई पूर्ण सन्तुष्टि भने मिलेको छैन। बेलाबेला ‘आफ्नो क्षमता आफैंभित्र लुकिरहेको त छैन, कतै मैले शतप्रतिशत क्षमता उपयोग गर्न त पाएको छैन?’ भन्ने प्रश्नले सोच्न बाध्य बनाउँछ।अभिनयमा मात्र सीमित रियाशा केही समयपछि अरू क्षेत्रमा पनि छरिने ध्याउन्नमा छिन्। त्यसमध्ये उनको पहिलो रोजाइ व्यवसाय नै हो, बिजनेस वुमन बन्ने सपना जो छ!

‘कलेज नेपालले दिएको अवसरलाई आधार बनाएर आफ्नै च्यानल खोल्दैछु,’ उनले आगामी योजना सुनाइन्, ‘यति भयो भने मेरो बिजनेस र अभिनय गर्ने दुवै इच्छा पूरा हुन्छ। त्यसबाहेक गर्नुपर्ने काम त छँदैछ।’करिअर निर्माण चरणमै छिन् रियाशा। सिक्ने क्रम जारी छ। आम मानिसझैं सकारात्मक प्रतिक्रियाले उत्साहित हुन्छिन्, अभिनयमा अझै मरिमेट्न मन लाग्छ। नकारात्मक प्रतिक्रियाले निराश तुल्याउँछन्, गालीले घोच्छ। अभिनय छाडेर अन्तै लागौं जस्तो पनि हुन्छ रे।

नराम्रा टिप्पणी त रोडिज प्यारोडीदेखि नै सुन्दै आएकी हुन् उनले। प्यारोडी भिडिओले दर्शक-श्रोताको ताली मात्र होइन गाली पनि पाएको थियो। त्यसमा निर्णायक र सहभागी बनेकालाई कतिपय दर्शकले साँच्चै ठानेर अपशब्द भनेका रियाशा सम्झिन्छिन्।त्यसैले भिडिओ सफल भए रियाशाको मन कुँडिएको थियो। ‘हामीले त अभिनय गरेका थियौं। तर दर्शकले साँच्चै ठानेर धेरै गाली गर्नुभएको थियो। सहनै सकेको थिइनँ,’ रियाशा त्यति बेलाको क्षण शब्दमा समेट्न खोज्छिन्, ‘उत्तिनै खेर यो क्षेत्र छाडौं जस्तो लागेको थियो। तर पर्दामा देखिएपछि गाली र ताली दुवै सहनुपर्छ भनेर पछि हटिनँ।’

गाली र नकारात्मक टिप्पणीको सिलसिला भंग भएको छैन, तर उनी सम्हालिन थालेकी छन्। जसले जे भने पनि आफ्नो वास्तविक स्वाद फेर्न नहुने उनको अनुभव छ। सकारात्मक र नकारात्मक दुवै प्रतिक्रियालाई सम्पत्ति मान्न थालेकी छन्। वास्तवमा भन्ने हो भने उनलाई तिनै प्रतिक्रियाले योजना बनाउन सघाउँछन्। ‘मान्छेले मेरा बारेमा कस्तो धारणा राख्छन् थाहा पाउन सजिलो भएको छ। यसै पनि आजभोलि कमेन्ट हेर्ने फुर्सद नै कहाँ छ र,’ आफैंलाई व्यंग्य गरे झैं गर्छिन् उनी।

तै पनि आफ्ना दर्शकलाई भन्छिन्, ‘मैले गल्ती नै गरेको हो भने कारणसहित औंला उठाउनू। बरू म हात जोडेर माफी माग्छु। अपशब्द नभनिदिनू।’उनलाई फिल्मको अफर समेत आउन थालेको बताउँछिन्। लकडाउन नभएको भए, त्यो सपना पनि पूरा भइसक्थ्यो कि!तर यस्तो-उस्तो कथावस्तुमा फिल्म खेल्नु छैन उनलाई। भूमिका, कथा र काम गर्ने टिम सबै मिलेको हुनुपर्ने उनको भनाइ छ।’सिरियल, म्युजिक भिडिओ वा फिल्म जे भए पनि कथा र काम गर्ने टिम बुझेर मात्रै सहकार्य गर्छु,’ रियाशा भन्छिन्, ‘बारम्बार गसिप बन्न र अपमानित हुन मन छैन।’

-तस्बिर:-रियासाको फेशबुक/सेतोपाटीबाट

सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...