Monday 16th March 2026

ऋण कसरी तिर्नु!


रजनी ढुंगाना- गलत साझेदारहरुको चयनले घिटघिट गरेर कछुवा गतिमा चलिरहेको सुपरमार्केट व्यवसायलाई जेनतेन घिच्याइरहेको बेलामाएकाएक विश्व हल्लाउने कोरोनाको सन्त्रास नेपाल भित्रियो। बैशाखको अन्त्यमा नै टुंगो लाग्नुपर्ने काम काेराेना सन्त्रासले पेण्डुलमजस्तै भएको थियाे। कैयौ आर्थिक लेनदेन हिसाबकिताब त्यसै अलपत्र परे।

एकहप्ता  सम्म खासै केही सोच्नै  सकिन मैले। दिमाग खाली कसरी अनगिन्ति समस्याले घेरेको आफ्नो व्यवसायलाई फेरि पुरानै ढाँचामा पुर्याउने भन्ने मै अल्झिरह्यो। ॠणको ब्याज, दुई बर्षको ट्याक्स क्लियरेन्स, बिमा जस्ता अनगिन्ति सुल्झाउन बाँकि समस्याहरुले राम्रोसँग निन्द्रा पनि पर्न छोडेको थियो।

दोस्रो हप्ताबाट दिमागलाई शान्त पार्न कैयौ आध्यात्मिक गुरुहरुको प्रवचन सुन्ने तालिका दैनिकीमा सामेल गर्न थाले। सुनुन्जेल केही हल्का नभएको पनि होइन तर जसै प्रवचन सकिन्थ्यो मुटुमा तिरले घोचेजस्तो भैहाल्थ्यो। घरभाडा उठाएर केही समस्या टार्न सकिन्थ्यो। फ्याट्टै सरकारकाे उर्दी आयो- आम्दानीको त्यही एउटा श्रोतमा पनि सरकारको आँखा लागेपछि अब कुनै गुरुको प्रवचन काम नलाग्ने निश्चित भैसकेको छ।

दिनदिनै घटेका र घटाइएका  अनेकौ राजनीतिक, सामाजिक घटनाले दिमाग फनफनी घुमिरहन्छ, एकछिनलाई आफ्नो समस्या थाँती राखेर सोच्दा कहिले भारतीय मिडियाकर्मी अर्नब गोस्वामीसँग चर चर बाझ्न जान मन लाग्छ, कहिले लिपुलेक र कालापानीमा  नाङ्गो खुकुरी नचाउन जान मन लाग्छ। नक्सामा थपिएको भूभाग हेरेर रमाएको मन एकैछिनमा आफ्नो भूमिमा टेक्न आतुर हजारौ लाखौ भूमिपुत्रहरुको याचनाले अमिलो हुन्छ। तिनैले पठाएको रेमिट्यान्सले कैयौ विपद झेलेको राज्यले अहिले उनीहरुको विपत्तिलाई आलटाल गर्दै गरेको देख्दा नराम्रो लाग्छ। विदेशबाट घर आउन महाकालीमा हाम्फाल्ने युवा अनि स्वदेश भित्रै पनि घर पुग्न माइलाै पैदल यात्रा गर्ने थकित यात्रीहरु सम्झिदा घरभित्रै थुनिएर बस्दा पनि आफ्नै खुट्टामा कैडा लागेजस्तो हुन्छ।

कोही साथीहरु मोमो पिजा खान मनलाग्यो भनेर सामाजिक संजालमा रोइ रहँदा बेबारिसे बनेका सूर्यबहादुरको लास आँखा अगाडि आउँछ र थालमा पस्केको भात पनि किलकिले लाग्छ।

दुई महिना भयो परिवारबाट टाढा छु। कहिलेकाही आधारातमा झल्यास्स बिउँझन्छु। न्यास्रो लाग्छ रुन मन लाग्छ। तर जसै त्यो जन्मेको केही दिनमै आमा गुमाएको बालक सम्झिन्छु मेरो नियास्रो एकदम फिक्का लाग्छ।

लकडाउन थपिदै जाँदा बेचैनी पनि बढ्दै गएको छ, बिहान उठ्ने कुनै निश्चित तालिका छैन, ब्युँझने बित्तिकै सामाजिक संजालमा यति संक्रमित थपिए, यति मरे भन्ने हेरेर उठ्दा सकारात्मक सोच राख्न सम्भव भएकै छैन।

बेला बेलामा उखान टुक्का र मेडिकल परामर्श सहित राष्ट्रका नाममा सम्बोधन हुँदा, म र मजस्ता कैयौ निम्न मध्यम वर्गका साना व्यापारीलाई छुने कुनै योजना देखिदैन। लकडाउन सकिने बित्तिकै मै जस्ता जिन्दगी बनाउन ऋण लिएर व्यापार सुरु गरेकाकाे हालत खराब हुनेछ। त्यसले आर्थिक रुपमा धरासायी भएका म जस्ता कैयौले कोरोनाले नदिएको मृत्यु अंगाल्नु पो पर्ने हो कि भनेर मन अत्तालिन्छ।

यो डरले फेरि आजको रात पनि प्रदुषण घटेर सफा भएको सफा आकाश हेरेर नै रात काट्नु पर्ने हुनेछ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...