Friday 26th December 2025

यी हुन् नेपालका चर्चित थप्पड–जुत्ता प्रहार काण्ड


राष्ट्रिय सभागृहमा आइतबार (१८ फागुन) आयोजित कार्यक्रममा सतारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भयो । प्रचण्डमाथि यसरी प्रहार भएको यो पहिलो घटना भने होइन ।  नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एनेकपा (माओवादी) ले आयोजना गरेको चियापान कार्यक्रममा पदम कुँवर नाम गरेका एक युवाले प्रचण्डमाथि हातपात नै गरेका थिए ।

प्रचण्डले आफूलाई झापड हान्ने युवकलाई माफ गरेको बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने २८ हजार धरौटीमा रिहा गरेको थियो ।

सार्वजनिक कार्यक्रममा प्रचण्डमाथि झापड हानिँदा प्रचण्ड नेतृत्वकै पार्टी सत्तामा थियो । बाबुराम भट्टराई प्रधानमन्त्री थिए । यसपटक प्रचण्डमाथि जुत्ता प्रहार हुँदा पनि प्रचण्डको पार्टी सत्तामा छ ।

७ माघ २०६७ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालमाथि पनि हातपात भएको थियो ।  सुनसरीमा एमालेकै कार्यकर्ता देवीप्रसाद रेग्मीले खनाललाई झापड हानेका थिए ।

रेग्मी २०४६ देखि एमाले कार्यकर्ता थिए ।  अचम्मको संयोग नै भन्नुपर्छ, झापड खाएको १५ दिनछि खनाल प्रधानमन्त्रीसमेत बनेका थिए । १३ असोज २०६९ असोज कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताले कुर्सी प्रहार गरे । कुर्सीले लागेर कोइरालाको शरीरको बायाँ भागमा सामान्य चोट पनि लागेको थियो । काठमाडौंको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा कांग्रेसको विद्यार्थी संगठन नेविसंघका प्रवेश बस्नेतले कोइरालामाथि कुर्सी प्रहार गरेका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका माओवादी सभासद् झक्कु सुवेदीमाथि पनि झापड हानिएको थियो । १९ वैशाख २०६८ मा सुवेदीलाई तीनकुनेको एक चिया पसलमा झापड हानिएको थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि पनि २०५१ सालमा संसदमै जुत्ता प्रहार भएको थियो । तत्कालीन एमालेको तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका गोल्छे सार्कीले पौडेलमाथि जुत्ता प्रहार गरेका थिए ।

१५ जेठ २०६५ मा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कामाथि पनि चप्पल प्रहार भएको थियो । खड्कामाथि तत्कालीन एमालेकी सभासद् कमला शर्माले चप्पल प्रहार गरेकी थिइन् ।

३ साउन २०६९ मा भृकुटीमण्डप प्लेनममा तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईसहित नेताहरूमाथि असन्तुष्ट लडाकुले कुर्सी प्रहार गरेका थिए । नेपालमा मात्र होइन, विदेशमा पनि नेताहरुमाथि हातपातका घटना हुन्छन् । १४ डिसेम्बर २००८ मा अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुश इराक भ्रमणमा थिए ।

भ्रमणका क्रममा इराकमा आयोजित एक पत्रकार सम्मेलनमा एक पत्रकारले बुशमाथि जुत्ता प्रहार गरेका थिए ।सन् २०१२ मा इजिप्ट भ्रमणमा रहेकी तत्कालिन क्रममा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनमाथि समेत टमाटर र जुत्ता प्रहार भयो । हिलारी चढेको गाडीमा प्रर्दशनकारीहरुले टमाटर र जुत्ता प्रहार गरेका थिए ।

सन् २०१३ मा पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुर्शरफमाथि बेलायतमा जुत्ता प्रहार भएको थियो । भारतीय कांग्रेसका नेता राहुल गान्धीमाथि २०१६ मा जुत्ता प्रहार गरिएको थियो ।

त्यस्तै दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल माथिसमेत जुत्ता प्रहार भएको छ । केजरीवालमाथि एक पटक जुत्ता प्रहार भयो भने अर्को पटक उनको शरीरमा कालो मसी नै छ्यापिएको थियो ।

ईरानी राष्ट्रपति हसन रुहानीमाथि अण्डा र जुत्ता प्रहार भयो । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर स्वदेश फर्किने क्रममा उनीमाथि स्थानीय विमानस्थलमा विरोध गर्दै प्रदर्शनकारीहरुले अण्डा र जुत्ता प्रहार गरेका थिए ।

-नयाँपत्रिका दैनिकबाट 


सम्बन्धित शीर्षकहरु

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

प्रतिकृयाहरू
...