Wednesday 18th June 2025

कोरोनाभाइरसको संक्रमणः के हुँदैछ विश्वमा ?


समयक्रममा घट्दै जाने अपेक्षा र अनुमान गरिएको नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–२०१९ को संक्रमणको दर चीनमा त घटदै गइरहेको छ तर अनुमान नै नगरिएको ढंगले यसको नयाँ संक्रमण पूर्वी एशियाका देश दक्षिण कोरिया तथा खाडी क्षेत्रमा देखापर्न थालेको छ । चीनको ऊहानमा शुरुमा देखापरेको यो भाइरसको संक्रमणको कारण मध्यपूर्वी देश इरानमा १२ जनाको मृत्यु भइसकेको छ भने ६१ जना संक्रमित बनेका छन् । यो रोगको संक्रमण कुवेत, बहराइन, इराक र ओमनमा पनि देखापरेको छ भने दक्षिण एशियाली देश अफगानिस्तानमा पनि यसको संक्रमण फेला परेको छ । पूर्वी एशियाली देश दक्षिण कोरियामा यस भाइरसले सात जनाको ज्यान लिइसकेको छ भने ८३३ जनालाई संक्रमित तुल्याइसकेको छ ।

उता इटालीमा पनि सातजनाको मृत्यु भएको छ भने २२० जनामा संक्रमण देखिएको छ । यो लेख्दासम्म कोभिड २०१९ ले संसारभरि २६०० जनाको ज्यान लिइसकेको छ जसमा बहुसंख्यक चिनियाँहरु छन् । संक्रमणकै कारण टर्की, पाकिस्तान र आर्मेनियाले इरानसँगको सीमा बन्द गरेको छ ।कोरोनाभाइरसकै कारण चीनले आफ्नो वार्षिक राजनीतिक भेला पछाडि सारेको छ । यसअघि प्रत्येक वर्षको मार्च पाँचमा राष्ट्रिय जनकांग्रेसको वार्षिक भेला हुने गथ्र्यो, जुन दुई हप्ताभन्दा बढी चल्ने गथ्र्यो र जसमा हज्जारौं प्रतिनिधिहरु बेइजिंगमा भेला भएर राष्ट्रिय नीति तथा कार्यक्रमहरुमा छलफल गर्ने गर्थे ।

उता अमेरिकामा ह्वाइटहाउसले कोरोनाभाइरससँग लड्नका लागि कंग्रेससँग १ करोड डलर रकमको अनुरोध गर्ने खबर वासिंगटनपोष्टले छापेको छ ।विश्व स्वास्थ्य संगठनका प्रमुख एधनोम घेब्रेयेसुसले प्राणघातक नयाँ कोरोनाभाइरसको ‘सम्भाव्य महामारी’का विरुद्ध लड्नका लागि विश्वले निक्कै कडा काम गर्नुपर्ने बताएका छन् । उनले अहिलेको भाइरस संक्रमणलाई महामारीको रुपमा नदिएको तर विशवका देशहरुले सम्भाव्य महामारीका विरुद्ध सक्दो प्रयत्न गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार, इटाली, इरान र कोरियामा अचानक देखापरेका कोरोनाका संक्रमण गहिरो चिन्ताको विषय हो ।

इटाली र यसका वरपर रहेका राष्ट्रका स्वास्थ्य मन्त्रीहरु नयाँ कोरोनाभाइरसको संक्रमणका बारेमा छलफल गर्न भोलि इटालीको रोममा भेला हुने भएको छ ।

स्लोभेनिया, अस्ट्रिया, स्वीट्जरल्याण्ड, फ्रान्स र जर्मनीले यो नयाँ संक्रमणसँग जुघ्नका लागि इटालीसँग आफ्ना रणनीतिहरु साझेदारी गर्ने भएका छन् ।

उता ताजिकिस्तानले इरानसँगको आफ्नो सम्पूर्ण हवाइ सम्पर्कहरुलाई विच्छेद गरेको छ । यो सम्पर्क विच्छेद इरानमा महामारी नियन्त्रणमा नआएसम्म कायम रहने जानकारी त्यहाँको नागरिक हवाइ एजेन्सीले एक वक्तव्यमार्फत् दिएको छ ।

टर्की एयरलाइन्सले पनि इरानका शहरहरुसँगको आफ्नो उडानलाई फेबु्रअरी २७ तारिखसम्मको लागि रद्द गरेको छ ।

भियतनामको केन्द्रीय बैंकले त्यहाँका सबै व्यवसायिक बैंकहरुलाई ऋणहरुको ब्याज हटाउन, कटौती गर्न वा म्याद थप्नको लागि आदेश जारी गरेको छ । कोरोनाभाइरस संक्रमणका कारण त्यहाँका कम्पनीहरुले व्यहोर्नु परेको घाटाको सन्दर्भमा राहत स्वरुप उक्त कदम चालिएको हो । यो आदेश जनवरी २३ देखि मार्च ३० सम्म प्रभावी हुनेछ ।

उता हंगकंगले साउथकोरियाबाट आउने गैरआवासीय नागरिकहरुको प्रवेशलाई निषेध गरेको छ । दक्षिण कोरियामा फैलिएको कोरोनाको महामारीलाई दृष्टिगत गर्दै हंंगकंगले ‘रेड ट्राभल एलर्ट’ जारी गर्ने भएको छ । यसअनुसार गत १५ दिनदेखि दक्षिण कोरियामा रहेका मानिसहरुलाई हंगकंग प्रवेशमा रोक लगाइनेछ । यसअनुसार, हंगकंगका स्थायी निवासीलाई भने हंगकंग आउन दिइनेछ तर उनीहरुले अनिवार्य रुपमा १५ दिनसम्म मेडिकल सर्भिलेन्समा रहनुपर्नेछ ।

कोरोनाभाइरसकै कारण ३ हजार स्वास्थ्यकर्मीहरु संक्रमित बनेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

पाकिस्तानले इरानको सीमानजिक बलुचिस्तान प्रान्तमा २०० जनालाई क्वारेन्टाइनमा राखेको छ । इरानबाट फर्केका सिया मुस्लिम भक्तहरुलाई कोरोनाभाइरसको संक्रमण हुन सक्ने आशंकामा उक्त कदम चालिएको हो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

एजेन्सी -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र…

इजरायलको आक्रमणको क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा "प्रत्यक्ष प्रभाव" परेको देखिन्छ, संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाले भनेको छ।…

जेरुसेलम: इरानी वायुक्षेत्रको यहूदी कमाण्डले यसको विस्तारित बमबारी मार्गमा केही बाधाहरू छोडेको छ, यद्यपि अमेरिका आक्रमणमा सामेल नभएसम्म गहिरो रूपमा…

प्रतिकृयाहरू
...