Thursday 28th November 2024

विकृत ठमेल – देहव्यापारले बद‍्नामी


सोह्रखुट्टे चोकस्थित गणेश मन्दिर नजिकैको एक घरमा चारजना युवतीले २ वटा कोठा भाडामा लिएका छन् । अन्दाजी २० देखि २५ वर्ष उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरू धनाढ्य परिवारका छोरीजस्ता देखिन्छन् ।

युवतीहरुको ‘हाइफाइ’ यस्तो छ कि मानौँ उनीहरुका अभिभावक विदेशमा लाहुरे छन् र उनीहरुले आफ्ना छोरीका लागि मासिक खर्चका गर्नका लागि लाखौँ रकम पठाइरहेका छन् । उनीहरुको लवाइखवाइ हेर्दा पनि सम्पन्न परिवारको छोरी वा मासिक लाखौँको कमाइ गर्नेजस्ता देखिन्छन् । त्यही युवतीहरु ठमेलक्षेत्रका महँगा होटल र क्लबहरु चहारिरहेका हुन्छन् । पेसा सोध्दा विद्यार्थी हौँ भन्छन् । तर साँझपख महँगा कार लिएर पुरुषहरु उनीहरुलाई लिन आउँछन् । प्रष्ट छ, ती युवतीहरू विद्यार्थी होइनन् । बरु उनीहरु विद्यार्थीको नाममा यौनधन्दा चलाइरहेका पेसेवर युवती हुन् ।

ठमेल क्षेत्रमा पछिल्लो समय फैलिएको वेश्यावृत्तिको पछिल्लो र आधुनिक शैली हो यो । कुनै बेला खुलेआम सडकमै मोलतोल हुने गरेको ठमेल क्षेत्रमा पछिल्लो समय सडकमै बसेर ग्राहकसँग मोलतोल गर्ने युवती कमै मात्रै देखिन्छन् ।मसाज सेन्टरमा अहिले पनि मसाजभन्दा बढी यौनकै व्यापार चल्ने गरेको छ । ठमेलका सरोकारवाला, प्रहरी आदिले बेलाबेलामा अनुगमन गरे पनि मसाज सेन्टरको यौन व्यापार बन्द भएको छैन ।बरु आफूलाई स्टाफ नर्स, विदेश पढेर आएको, फलानो बैङ्कमा जागिर गर्छु वा एनजीओ र आईएनजीओमा जागिर खान्छु भन्दै चिनाउने पेसेवर यौनकर्मीको कमी छैन । ठूलो होटल वा क्लबहरुमा जाने र धेरै पैसा तिर्ने ग्राहक खोज्ने आधुनिक यौनकर्मीहरु हुन् उनीहरु ।

नेपालमा ‘सेक्स बजार’ प्रतिबन्ध

कानुनी बाटोबाट हेर्ने हो भने नेपालमा ‘सेक्स बजार’ प्रतिबन्धित छ । कानुनले प्रतिबन्ध लगाएको विषयमा स्थानीय प्रशासनले त्यसलाई छुट दिने कुरै भएन । तर लामो समयदेखि काठमाडौँको पर्यटकीय केन्द्र मानिने ठमेलमा अवैध रूपमा यौन–व्यवसाय हुने गरेको कुरा यतिखेर ‘ओपन सेक्रेट’को विषय बनिसकेको छ ।त्यहाँ निर्वाध चल्ने यौन गतिविधिका कारण सहजै भन्न सकिन्छ कि ठमेल ‘सेक्स बजार’का लागि सदाबहार स्थान हो ।

ठमेल क्षेत्रमा हुने गरेको यौन व्यवसाय रोक्ने नाममा काठमाडौँ प्रहरीको सक्रियता पनि बेलाबेलामा हुने गरेको छ । काठमाडौँ परिसर, अपराध महाशाखा, सोह्रखुट्टे वृत्त तथा दरबारमार्ग प्रहरी र कहिलेकाहीँ आयुक्त कार्यालयका घुमुवा प्रहरीको पनि ‘अपरेसन’ चल्ने गर्छ ठमेलमा ।तर यौन व्यापार नरोकिनु र निर्वाध रूपमा चल्ने गरेको देख्न यौन व्यापार सबैका लागि कमाइखाने भाँडो बनेको आरोप लाग्ने गरेको छ ।

ठमेलमा सञ्चालित डान्सबार, रेस्टुरेन्ट तथा मसाज सेन्टरहरुमा बेलाबेलामा प्रहरीको छापा चल्ने गर्छ । विशेष गरी काठमाडौँ प्रहरी परिसरका प्रमुख परिवर्तन सँगै केही दिन ठमेल क्षेत्रमा त्यस्ता अपरेसन युद्धस्तरमै चल्ने गर्छ, जसको फलस्वरूप केही समय ठमेल शान्त र ‘सभ्य’ बन्छ । तर जसै प्रहरी अपरेसनको रापताप सेलाउँछ, ठमेल आफ्नो पुरानै रपमा फर्कन्छ ।

दोहोरी र क्लबमा पनि भेटिन्छन् यौनकर्मी

ठमेल यौनकर्मी र यौन क्रियाकपालको केन्द्र हो भनेर ‘रातो बत्ती’ बालिरहनु पर्दैन वा रातो बत्तीका लागि रात कुर्नुपर्ने अवस्था पनि छैन । यौन व्यवसायको मोलमोलाईले ठमेल रातमा मात्रै होइन, दिनमा पनि उत्तिकै तात्तिने गरेको छ । त्यहाँका गतिविधि हेर्दा यस्तो लाग्छ, मानौँ त्यो अघोषित ‘रेडलाइट’ एरिया बनेको छ ।

अहिले सडक, ठूला होटल, क्लब र डान्सबार मात्रै होइन, पछिल्लो समय दोहोरी साँझ पनि यौन व्यवसायका लागि ग्राहक र युवती भेट्ने थलो बन्दै गइरहेको छ । बाहिर देखाउनका लागि दोहोरी सञ्चालन गरेजस्तो गर्ने र अनि भित्रभित्र यौन व्यवसाय पनि सँगसँगै सञ्चालन हुने गरेको छ । ‘रेट’ तय हुनेबित्तिकै यौनकर्मी दोहोरीबाट ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लाग्ने गरेका छन् ।दोहोरी साँझलाई अहिले पनि मनोरञ्जनको ‘पारिवारिक केन्द्र’ मानिन्छ । परिवारका सबै सदस्य गएर दोहोरी सुन्न, हेर्न र मनोरञ्जन लिन मिल्ने स्थानका रूपमा दोहोरीलाई लिइन्छ ।

तर पछिल्लो समय कतिपय दोहोरी साँझ आफैले पनि यौनकर्मी युवती दोहोरीमा राख्ने गरेका छन् । कतिपय यौनकर्मी युवती चाहिँ दोहोरी साँझमा छिर्ने र ग्राहकसँग लहसिन थाल्ने गर्छन् । दोहोरी सञ्चालकलाई ती युवती पेसेवर यौनकर्मी हुन् भन्ने पनि थाहा छ ।तर पनि युवती दोहोरीमा आएपछि व्यापार बढ्ने भएकाले उनीहरु चुपचाप बस्छन् र ती युवतीलाई नै प्रयोग गरेर आफ्नो व्यापार बढाउँछन् । जसको कारण अब दोहोरी साँझ पनि दोहोरी मात्रै हो भन्ने अवस्था छैन ।

साँघुरो र अँध्यारो गल्लीभित्र उकुस–मुकुस लाग्दो घरको भुइँतलामा सञ्चालित अधिकांश रेस्टुरेन्ट र दोहोरीमा यौनकर्मी भेटिन्छन् । पहिलो पल्ट त्यस्ता गल्लीभित्र पस्ने कसैले पनि ती रेस्टुरेन्ट तथा दोहोरीमा ग्राहकको ओइरो लाग्नुको रहस्यबारे खासै चाल पाउँदैनन् । केही समयको बसाइपछि रहस्य थाहा पाउँछन् र यौन प्यास मेट्न त्यहाँ छिर्छन् ।

तीन सयदेखि एक हजारसम्म मोलतोल

ठमेलमा यौन व्यवसायमा संलग्न यौनकर्मीहरु बढेपछि यौनदरमा पनि केही खुकुलोपन देखिएको छ । ठमेलमा यौन व्यवसाय गर्नेहरुको पनि विभिन्न क्याटागोरीमा भाउ छ । ठमेलका यौनकर्मीहरु न्यूनतम ३ सय रुपैयाँदेखि ५ सय र १ हजारसम्ममा देह व्यापारमा लाग्ने गरेका छन् । तर यसले ठमेलको समाजभित्र भने नराम्रो असर पारेको छ ।

ठमेलमा सञ्चालित चिया पसलदेखि रेस्टुराँसम्म पटके देहव्यापार गर्नेहरुको वर्चस्व बढी छ भने साँझ परेपछि खुलेआम सडकमा देहव्यापार गर्नेहरुको पनि भीड भने कमी छैन । बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म देहव्यापार गर्ने र गराउनेहरुको एउटा समूह छ भने साँझ पर्नासाथ सडकमै आएर मोलमोलाई गरेर शरीर सुम्पने अर्कोथरी यौनकर्मीहरु छन् ।

ग्राहकको इच्छाअनुसार काम हुन्छ

एउटा समूह ग्राहकसँग गएपछि भित्र गल्लीतिर लुकेर बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँछन् । अनि अर्को ग्राहकलाई फकाएर त्यसरी नै आफ्नो गन्तव्यतिर लैजाने गर्छन् ।होटल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएको पाइन्छ । ‘हामी ग्राहकको इच्छा बमोजिम ट्याक्सीभित्रै, होटेल वा डेरा कोठामा गए पनि हुन्छ,’ सुर्खेत घर भएकी अन्दाजी १६ वर्षीय एक यौन व्यवसायीले बताइन् ।

१० हजारभन्दा बढी यौनकर्मी

काठमाडौँ उपत्यकामा मात्रै १० हजारभन्दा माथि यौनकर्मीको सङ्ख्या रहेको अनुमान गरिएको छ । राजधानीको सडकमा क्षेत्री, बाहुन, विभिन्न जातजाति, हिमाल, पहाड तथा तराई सबै भूभागका यौनकर्मी यो पेसामा संलग्न छन् । एक सर्वेक्षणअनुसार ठमेलमा भेटिने अधिकांश यौनकर्मीहरुको विगतमा पतिले दिएको पीडा, धोखा, कष्ट र अपमानसँग जोडिएको थियो । बच्चा हुर्काउन र पढाउनका लागि प्रहरीको धरपकड र घोर अपमान सहेर पनि उनीहरू यौन पेसामा लागेको पाइएको छ ।

स्थानीयवासी आजित

ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका छन् । स्थानीयवासीका अनुसार पर्यटकको हब मानिने ठमेलमा यो समस्याले जरो गाडेको छ ।यौनजन्य गतिविधिका लागि निकै संवेदनशील मानिने ठमेलको सञ्चयकोषदेखि कान्तिपथतर्फको आधा ज्याठा एरिया दरबारमार्ग प्रहरी र सञ्चयकोषदेखि पश्चिमतर्फको ठमेल सोह्रखुट्टे वृत्तको मातहतमा पर्छ ।

ठमेल ज्याठाका स्थानीय कुलदीप महर्जन भन्छन्, ‘प्रहरी देखे पनि नदेखेझैँ बाटो लाग्छन् किनकि उनीहरुको राम्रो आम्दानीको स्रोत देहव्यापारी र व्यवसायी हुन् ।’यस्तै सोह्रखुट्टेका स्थानीय जनार्दन अर्यालका अनुसार पर्यटकीय क्षेत्रका रूपमा परिचित ठमेलको वातावरणलाई राम्रो बनाउनु ठमेल पर्यटन विकास परिषद्को पनि कर्तव्य हो । तर परिषद्का कार्यसमिति कानमा तेल हालेर बसेको छ । परिषद्लाई ठमेलमा कस्ता गतिविधि हुन्छन् भन्नेसमेत थाहा हुँदैन ।

गुण्डागर्दी पनि उस्तै

ठमेलमा देहव्यापार मात्र होइन त्यहाँ हरेक चिजले सम्पन्न जस्तै छ । गाँजा, लागूऔषध तथा देहव्यापार जस्ता विकृतिले पनि प्रश्रय पाएको हो ।गुण्डागर्दी, चोरी, डकैती, देहव्यापार, लागूऔषधको प्रयोग जस्ता विवादास्पद विकृतिको थलो बने पनि प्रहरीले बेलाबेलामा यसलाई नियन्त्रण गर्ने गरेको छ । तर ठमेलका स्थानीय पूर्ण रूपमा सन्तुष्ट भने छैनन् ।

फुटपाथ व्यापार, अव्यवस्थित पार्किङ, तेस्रो लिङ्गीहरुलाई ठमेलबाट हटाउने र उचित व्यवस्थापन गर्ने योजना बमोजिम कामहरु भइरहेको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले बताए ।राठौरका अनुसार पछिल्लो समय ठमेलका पर्यटन व्यवसायी मात्र नभएर विदेशी पर्यटकले समेत प्रहरीको प्रशंसा गर्ने गरेका छन् । ठमेलभित्र हुने आपराधिक क्रियाकलाप रोक्न प्रहरी सफल भएको राठौरको भनाइ छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

लेबनान गणतन्त्र (यसपछि "लेबनान") र इजरायल राज्य (यसपछि "इजरायल") का सरकारहरूसँगको छलफल पछि, संयुक्त राज्य अमेरिका र फ्रान्सले लेबनान र…

रोयटर्स -अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित…

अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको १.१५ अर्ब अमेरिकी डलरभन्दा बढीको स्टक ४ फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका…

प्रतिकृयाहरू
...