Thursday 25th December 2025

कांग्रेस सभापति देउवाको कार्यकाल २०७७ फागुनसम्म


तितोपाटी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन्।चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन्।विधानमै भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेका हुन्।महाधिवेशन गर्न र संक्रमणकालको अवस्थालाई हेरेर कार्यकाल एक वर्ष थपिएको हो।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पौडेल पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन्।वरिष्ठ नेता पौडेल पक्षले महाधिवेशनको कार्यतालिका माग गर्दै मंसिर २६ गतेदेखि निरन्तर छ वटा केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए।पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा पक्षका केन्द्रीय सदस्य मात्र सहभागी रहेको केन्द्रीय समिति बैठक चलिरहँदा पौडेल पक्षका केन्द्रीय सदस्यहरू पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल गरिराखेका थिए।पौडेल पक्षले अर्को वर्ष मंसिर पहिलो साता महाधिवेशन गर्ने गरी सभापतिले कार्यतालिका ल्याउनुपर्ने अडान राखेका थिए।

बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य पनि उपस्थित थिएनन्। सिटौलाले बहुमत र बहिष्कारको खेलले पार्टीलाई क्षति पुर्‍याउने बताउँदै आएका छन्।पार्टीको १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।केन्द्रीय समितिले सभापति देउवाले गरेको प्रस्तावअनुसार नै भातृ संस्था नेपाल तरूण दलको म्याद छ महिना थप्ने निर्णय पनि गरेको छ।जितजंग बस्नेत नेतृत्वको तरूण दलको म्याद गत कात्तिकमा सकिएको थियो। ९५ सदस्यीय हुनुपर्ने तरूण दल केन्द्रीय समितिमा चार जना मात्रै छन्।शुक्रबारकै केन्द्रीय समितिले २८ विभागलाई बढाएर ४१ पुर्‍याउने निर्णय गरे पनि विभागलाई पूर्णता भने दिएको छैन।

साथै बैठकले पार्टीका सबै निकायमा पुस महिनाभित्रै अन्तरिम संरचना गठन गरिसक्न निर्देशन दिएको छ। केन्द्रदेखि वडासम्म कांग्रेसमा नयाँ विधानअनुसार आठ निकाय छ।बैठकले नेविसंघबारे भने कुनै निर्णय गरेको छैन। सभापति देउवाले मंसिर २६ गते नेविसंघलाई नेतृत्व दिने प्रस्ताव पनि केन्द्रीय समितिमा छलफलका लागि पेश गरेका थिए। सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच नेविसंघ नेतृत्व कसले लिने भन्नेमा विवाद छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...