Friday 3rd May 2024

वैदेशिक रोजगारीमा जानेलाई मनोपरामर्श दिन सुझाव


तितोपाटी-वैदेशिक रोजगारीको खोजीमा खाडीलगायत विभिन्न मुलुकमा जाने नेपाली श्रमिकहरुमा ठूलो संख्यामा मानसिक समस्या हुने राष्ट्रिय मानव अधिकार आयोगले औँल्याएको छ। आप्रवासी श्रमिकहरुको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने आयोगले टिप्पणी गरेको छ।

आयोग तथा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको कोशिश नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले मानसिक स्वास्थ्यका सम्बन्धमा सरकारले ध्यान पु¥याउन नसकेको टिप्पणी गरेका हुन्। मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले जनस्वास्थ्य सेवा ऐन २०७५ तथा मानसिक स्वास्थ्य नीति २०७६ मा आप्रवासी श्रमिकको स्वास्थ्य अधिकारका विषयलाई प्रष्ट रुपमा समावेश गरिए पनि श्रमिकका स्वास्थ्यका हकअधिकार सरकारले सुनिश्चित गर्न नसकेको बताए। मानसिक समस्या गम्भीर समस्या हो। हामीले मानव अधिकार आयोगका तर्फबाट पनि सरकारलाई घच्घच्याइरहेका छौँ तर आप्रवासी श्रमिकको स्वास्थ्य अधिकारका सम्बन्धमा सरकारले उचित ध्यान पु¥याउन सकेको छैन,’ पाठकले भने।

कार्यक्रममा विभिन्न स्वास्थ्कर्मीहरुले पनि आप्रवासी श्रमिक र उनीहरुका परिवार पनि मानसिक समस्याबाट ग्रसित भएको बताए। डा. दिनेशकुमार लम्सालले रोजगारीका लागि इजरायल जाने नेपालीमा मानसिक रोगको ठूलो समस्याको रुपमा रहेको बताए । उनका अनुसार रोजगारीमा गएका ४ श्रमिकमध्ये १ जना मानसिक समस्याबाट ग्रसित छन्।

वैदेशिक रोजगारीबाट फर्किएको अवस्थामा पनि थुप्रै श्रमिकमा विभिन्न किसिमका मानसिक समस्या देखिने डा लम्सालले बताए । ‘रोजगारीको खोजीमा गएका ३० प्रतिशतभन्दा बढी श्रमिक डिप्रेशनको शिकार छन्, मानसिक समस्याकै कारण उनीहरुमा आत्महत्या गर्ने प्रवृत्ति बढिरहेको छ,’ डा सरोज ओझाले भने। मानसिक स्वास्थ्यका बारेमा जनता वा राज्यले बुझ्न नसकेका कारण यसले विकराल रुप लिँदै गएको उनको भनाइ छ।

एक अध्ययनका अनुसार विश्वमा हरेक ८ सेकेण्डमा १ व्यक्तिले आत्महत्या गर्ने सोच बनाउँछ। यसको प्रमुख कारण मानसिक समस्या नै हो। यस्तो खालको समस्यामा औषधोपचार तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। सामान्य मानसिक समस्या भएका व्यक्ति पनि उपचार तथा मनोपरामर्शका कारण जटिल अवस्थामा पुग्ने गरेको चिकित्सकहरुको भनाइ छ। आप्रवासी समन्वय समिति पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगारीमा गएर मानसिक समस्याका कारण फर्काइएका श्रमिकहरुलाई आवश्यक सेल्टर वा मनोपरामर्श केन्द्र नभएको बताए।

‘यस्ता श्रमिकलाई आवश्यक सेल्टर नहुँदा कतिपय अवस्थामा हामीले पिएनसीसीको सेल्टरमा आश्रय दिएका छौं, सन् २०१३ देखि हालसम्म पिएनसीसीले मानसिक समस्या भएका ४९ जना श्रमिकको उद्धारमा सहयोग गरेको छ,’ पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले भने। पीएनसीसीले उद्धार गरेका मानसिक अस्वस्थता भएका ४९ श्रमिकमध्ये सबैभन्दा बढी मलेसियाबाट फर्किएका थिए । दक्षिण कोरिया, जापान, मलेसिया, कतार साउदी, कुवेत बहराइन, इजरायललगायत विभिन्न मुलुकमा पुगेका श्रमिकहरु मानसिक समस्याको सिकार बनेर फर्किरहेका हुन्छन्।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरु परिवारबाट टाढा रहने तथा गन्तव्य मुलुकमा विभिन्न यातना भोग्न बाध्य हुनुपर्ने, भनेको जस्तो काम तथा कमाइ नहुनेलगायत कारणबाट उनीहरुको मानसिक स्वास्थ्यमा असर पर्ने गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। ‘देशमा रोजगारी छैन, काम नहुँदा पनि उनीहरु मानसिक समस्यामै हुन्छन्। लाखौँ रकम खर्चेर विदेश पुग्यो भनेको जस्तो काम र तलब नहुँदा त्यस कुराबाट उनीहरुलाई थप पीडा हुन्छ। सोही पीडाले मानसिक समस्या निम्त्याउँछ’, निर्देशक श्रेष्ठले भने। अर्कोतर्फ अपेक्षा बढ्दै जाने प्रवृत्तिले समेत मानसिक समस्या निम्त्याउने उनले बताए। विभिन्न रोग, तनाव, यातना, दुर्घटना, भनेको जस्तो काम तलब नहुनु पारिवारिक बेमेललगायत कारणबाट वैदेशिक रोजगारीमा जाने युवामा पछिल्लो समय मानसिक समस्या बढ्दै गइरहेको छ। साभार नेपाललाईभ


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...