Friday 10th April 2026

कुवेत दूतावासको लापरवाहीको कारण २१ नेपाली श्रमिक कालोसूचीमा परि फर्किए


तितोपाटी – नेपाली राजदूतावास कुवेतको लापरवाहीको कारण २१ नेपाली श्रमिक कुवेत सरकारको कालोसूचीमा परेर नेपाल फर्किएका छन् । वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत आएका २१ युवाहरू उनीहरूलाइ विदेश पठाउने मेनपावर र नेपाली दूतावासको लापरवाहीका कारण कालोसूचीमा परेर फर्किएका हुन् । उनीहरूलाइ गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि विगत एक वर्षदेखि कम्पनी कम्पनी चल्न नसक्ने अबस्थामा पगेपछि उनीहरू बन्धक जस्तै बनेका थिए।

नेपालबाट कामदार भिसा लिएर गएका उनीहरू कुवेती कम्पनीले कामदारको भिसा नलगाइदिएपछि दूतावास र मेनपावरको सम्पर्कमा आएका थिए। दूतावासले ‘हुँदैछ’ भन्ने र मेनपावरले कल ब्लक गर्ने गरेका कारण उनीहरू भिसा समय सकिएका कारण बन्धक जस्तै भएर बस्नुपरेको थियो।

नेपालको ग्लोबल राइजिङ प्लेटिमेन्ट मेनपावरमार्फत उनीहरू कुवेतमा रहेको टेस्टी फुड एन्ड अल रिप रेस्टुरेन्टको कामका लागि भन्दै कुवेत आएका थिए। कुवेत आएपछि शुरूको तीन महिना प्रवेशका लागि प्रदान गरिएको भिसाले काम गर्यो, त्यसपछि एक सालको भिसा लगाएको कम्पनीले पुनः भिसा थप गरिदिएन। शुरूको तीन महिना समयमै तलब दिएको कम्पनीले त्यसपछि तलब रोक्न थालेपछि कामदार त्रसित बन्दै गएका थिए। अन्ततः उनीहरू बिनातलब नेपाल फर्किए तर कहिलै कुवेत जान नपाउने गरेर। करिब दुई वर्ष कुवेत बिताएका उनीहरूले ८ महिनाको तलबसमेत पाएनन्।

‘हामीले पटक–पटक सम्पर्क गर्न खोज्यौं तर मेनपावर कम्पनीले हाम्रो कल नै ब्लक गरेर बस्यो’, पीडितमध्येका विशाल धामीले भने– ‘मेनपावर पछिको हाम्रो गुहार्ने निकाय नेपाली राजदूतावास थियो, तर हामीसँग भिसा नभएको हुँदा दूतावास गइराख्ने कुरा भएन, फोनबाट फलोअप गर्दा हुन्छ मात्रै भनियो, अन्तिममा कुवेत नै फर्किन नपाउने गरी घर फर्किनुपर्यो ।’ कम्पनीले ६ महिनासम्म तलब नदिएपछि कुवेत सरकारले समेत कम्पनीलाई नोटिस दिँदै समयमा तलब दिन भनेको थियो, तलब समयमा उपलब्ध नगराए काम नगर्नू भन्ने कुवेत सरकारको आदेशअनुसार काम गर्न छोडेको अर्का पीडित रमेश खड्काले बताए ।

कम्पनीले तलब दिन छाडेपछि खानसमेत समस्यामा परेका उनीहरूलाई नेपाली राजदूतावासले पाँच हप्तासम्म २५ किलो चामल उपलब्ध गराएको थियो तर त्यो चामल २१ जनालाई एक हप्ता पनि पुगेन। कुवेत सरकारको कानुनअनुसार अवैधानिक बनेका उनीहरूलाई वैधानिक तवरबाट नेपाल फर्कन लाग्ने करिब ५४ लाख रुपियाँ विमलप्रसाद श्रीवास्तवको नेतृत्वको संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको भएपनि त्यसो हुन नसक्दा उनीहरू जेल परेर शुक्रबार मात्रै नेपाल फर्किएका हुन्।

आफूहरू अन्यायमा परेको भन्दै न्यायको खोजीमा सोमबार वैदेशिक रोजगार विभाग पुगेका उनीहरूले मेनपावरविरुद्ध उजुरी दर्ता गरेका छन्। वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले पीडितलाइ न्याय दिलाउने कुरामा कुनै कसर बाँकी नराखिने जनाएका छन् । उता कामदारलाइ कुवेत पठाउने मेनपावरका निर्देशक महेश बस्नेतले मेनपावरले दूतावासले प्रमाणीकरण गरेको मागपत्रको आधारमा कामदार पठाएकोले भइपरि अाउने समस्यामा सरकारले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।

नाेटः भुपराज बस्यालले लेखेको यो समाचार आजको नेपाल समाचारपत्र तथा न्युजअफनेपाल डट कम मा प्रकाशित भएको छ ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...