Thursday 26th March 2026

सद्भावना, फोरम र माओवादी हुँदै नेकपाबाट बने श्रममन्त्री


गरिबी, अभाव र बेरोजगारीबाट पिल्सिएका नागरिकलाई रोजगारी प्रदान गर्दै सामाजिक सुरक्षाको प्रत्याभूति गराउने मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर राय यादव सामाजिक सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरे ।

आर्थिक तथा सामाजिकरूपमा अत्यन्त पिछडिएको तराई मधेसका क्षेत्रका जनतामा राजनीतिको बिजारोपण गर्दै अगाडि बढेका नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवको जन्म विसं २०१२ साउन ५ गते सर्लाहीको मलङ्गवामा भएको थियो ।

नेपाल ल क्याम्पसबाट स्नातकसम्मको औपचारिक अध्ययन गर्नुभएका मन्त्री यादव नेपालको राजनीतिक परिवर्तनसँगै सरकारी सेवा परित्याग गरेर विसं २०४१ मा सद्भावना पार्टीमा प्रवेश गरे । त्यतिबेला उनी सद्भावना पार्टीको उपाध्यक्ष थिए । २०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनले करिब सात महिना कानून, वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

राजनीतिक जीवन अगाडि बढ्दै गर्दा सद्भावना पार्टीको कारबाहीमा परे । पार्टीबाट कारवाही भएपछि उहाँले अर्का नेता हृदयेश त्रिपाठीसँग मिलेर अलग पार्टी निर्माण गरे । अस्थिर राजनीतिबाट गुज्रिरहँदा मूलधारको राजनीति गर्ने ध्येयले मन्त्री यादवले मधेस आन्दोलनसँगै तत्कालीन मधेसी जनअधिकार फोरमबाट राजनीतिक यात्रा अगाडि बढाए।

फोरममा पनि जनताको पक्षमा काम गर्ने उचित वातावरण नभएको भन्दै उनी विजयकुमार गच्छदारसँगै फोरम लोकतान्त्रिक गठनमा लागे । सो पार्टीको उपाध्यक्ष बने । लोकतान्त्रिक फोरम छाडेर यादव विसं २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा तत्कालीन नेकपा (माओवादी केन्द्र) प्रवेश गरे ।

माओवादी प्रवेशसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी सर्लाही क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । तत्कालीन नेकपा –एमाले) र माओवादी केन्द्रको एकतापछि उहाँ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय सदस्य छन् ।

मन्त्री यादव ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साकार पार्न आफ्नो कार्यकालमा देशभित्र रोजगारी सिर्जना गर्दै बेरोजगार युवालाई रोजगार प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँछन् । वैदेशिक रोजगारीमा रहेका विकृति, विसङ्गति र बेथितिलाई अन्त्य गर्दै वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाएर यसको गरिमा बढाउने आफ्नो चाहना रहेको बताए ।

-रासस


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...