Tuesday 7th May 2024

कुवेतबाट बिदामा फर्किएका घरेलु कामदारले पाएनन् पुनः श्रम स्वीकृति


तितोपाटी- सिन्धुपाल्चोककी माया तामाङ तीन वर्षअघि गार्मेन्ट कम्पनीमा काम गर्न श्रम स्वीकृति लिएर कुवेत पुगिन्। गार्मेन्ट कम्पनीमा रोजगारीका लागि कुवेत पुगेकी मायाले कम्पनीमा भन्दा हाउस मेडमा काम गर्दा राम्रो कमाइ हुने भएपछि उनी ‘हाउस मेड’मा काम गर्न थालिन्।
सरकारले २०७३ साल चैत २० गतेदेखि घरेलु कामदारका रुपमा मलेसियालगायत खाडी राष्ट्रमा जान रोक लगायो।
>रोकसँगै बिदामा नेपाल आएर पुनः सोही काममा फर्किन नपाउने भएपछि उनी करार अवधि सकिए पनि कुवेतमै बसिन्। भर्खरै सरकारले घरेलु कामदारका रुपमा मलेसियालगायत खाडी जान रोक लगाएसँगै माया बिदामा नेपाल फर्किइन्। पुनः श्रम स्वीकृति पाइने आशामा फर्किएर श्रम कार्यालय ताहाचल पुगेकी मायाले श्रम स्वीकृति पाइनन्। काठमाडौंमा भेटिएकी मायाले नेपाल लाइभसँग् दुखेसो पोखिन्, ‘काम राम्रो र सजिलो पनि थियो, नेपाल आएपछि फेरि जान नपाउने हुँदा म कुवेतमै काम गरिरहेकी थिएँ। फेरि घरेलु कामदारमा जान पाइने भन्ने सुनेपपछि म फर्किएकी हुँ तर मैले त पुनः श्रम स्वीकृति पाइनँ।’ मायाको कम्पनीका लागि लिएको श्रम स्वीकृतिको करार अवधि समाप्त भइसकेको छ।
‘कम्पनीका नाममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइ घरेलु कामदारका रुपमा कार्यरत रही फर्किएको अवस्थामा श्रमिकहरुलाई हामीले पुनः श्रम स्वीकृति दिन मिल्दैन,’ वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कार्यालय प्रमुख देवेन्द्र कार्कीले नेपाल लाइभसँग भने। वैदेशिक रोजगारीमा जाँदा नै घरेलु कामदारका रुपमा श्रम स्वीकृति लिएर गइ सोही क्षेत्रमा कार्यरत श्रमिकहरुले मात्रै पुनः श्रम स्वीकृति पाउने उनको भनाइ छ।
घरेलु कामदार (हाउस मेड)लाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पुनः श्रम स्वीकृति दिन सरकारलाई निर्देशन जारी गरिसकेको छ। सो निर्देशन अनुसार हामीले घरेलु कामदारका रूपमा श्रम स्वीकृति लिई सोही क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पुनः श्रम स्वीकृति दिइरहेका छौँ,’ कार्यालय प्रमुख कार्की भन्छन्, ‘तर, पछिल्लो समय कम्पनीका नाममा गन्तव्य मुलुक पुगेर हाउसमेडमा कार्यरत थुप्रै श्रमिक पुनः श्रम स्वीकृतिका लागि आउनुभएको छ। त्यस्ता कामदारलाई पुन श्रम स्वीकृति दिन कठिनाई भएको छ।’
>संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको गत भदौ ४ गते बुधबारको बैठकले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन सरकारलाई निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार घरेलु कामदारका रुपमा मलेसियालगायत खाडीमा कार्यरत रही बिदामा फर्किएका कामदारहरुलाई पुनः श्रम स्वीकृति दिन सुरु गरिएको छ।
सो समितिको निर्देशन अनुसार घरेलु कामदारका रुपमा श्रम स्वीकृति लिएर गन्तव्य मुलुक पुगेर सोही क्षेत्रमा कार्यरत श्रमिकहरुले मात्रै पुनः श्रम स्वीकृति पाउँछन्। त्यस्तो हुँदा कम्पनीका नाममा स्वीकृति लिएर गएका तर घरेलु कामदारका रुपमा कार्यरत रहेका थुप्रै श्रमिकहरु समस्यामा पर्ने भएका छन्।

श्रम कार्यालय ताहाचलमा पुनः श्रम स्वीकृतिका लागि आएका अधिकांश श्रमिक पनि कम्पनीका नाममा श्रम स्वीकृति लिएर गई घरेलु कामदारका रुपमा कार्यरत रहेको पाइएको श्रम कार्यालयले जनाएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले कम्पनीका नाममा श्रम स्वीकृति लिएर गएका तथा विभिन्न अवैधानिक बाटो हुँदै घरेलु कामदारका रुपमा कार्यरत रही फर्किएका श्रमिकहरुलाई पुनः श्रम स्वीकृति दिन नसकिने बताए।
उनले नेपाल लाइभसँग कम्पनीको नाममा गएर घरेलु काममा कार्यरत रहेका र विभिन्न अवैधानिक बाटो हुँदै घरेलु कामदारका रुपमा कार्यरत रही फर्किएका श्रमिकहरुलाई पुनः श्रम स्विकृति दिन नमिल्ने बताए। उनले भने, ‘हामीले मलेसियालगायत खाडीमा घरेलु कामदारका रुपमा नयाँ श्रम स्वीकृतिका सम्बन्धमा समेत समितिमा छलफल गरिरहेका छौँ। तर यसका लागि समय लाग्छ। घरेलु कामदारलाई सुरक्षाको पूर्ण प्रत्याभूत हुने ग्यारेन्टी भएपछि मात्रै नयाँ श्रम स्वीकृति खुल्ला गर्छौं।’
दूतावासबाट सिफारिस लिन छुटेकाले पाएनन् रि-इन्ट्री
गन्तव्य मुलुकको दूतावासबाट सिफारिस पत्र लिन छुटाएर फर्किएका थुप्रै श्रमिक पुनः श्रम स्वीकृति लिनबाट बञ्चित भएका छन्। श्रम स्वीकृति सुचारु भएको जानकारी पाएका तर दूतावासबाट वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका अनुसूची ८ बमोजिमको सिफारिस पत्र नलिई फर्किएका श्रमिकहरु पुनः श्रम स्वीकृतिबाट बञ्चित भएका हुन्।
श्रम कार्यालय ताहाचलमा दैनिक २ देखि ३ जनाको संख्यामा दूतावासको सिफारिस नलिई फर्किएर श्रमिक पुनः श्रम स्वीकृतिका लागि आउने गरेको श्रम कार्यालय ताहाचलले जनाएको छ। रोजगारीका लागि गन्तव्य मुलुकमा रहेका श्रमिक स्वदेश फर्किनुअघि नै दूतावासले वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका अनुसूची-८ बमोजिम सिफारिस उपलब्ध गराउने गरेको छ। सिफारिस नलिई स्वदेश फर्किएका श्रमिकहरु स्वयं दूतवासमा उपस्थित नभई दूतावासले सिफारिस उपलब्ध नगराउने हुँदा सिफारिस नलिई स्वदेश फर्किएका श्रमिक पुनः श्रम स्वीकृतिबाट बञ्चित हुने श्रम कार्यालयले जनाएको छ।
‘घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी निर्देशिकाको अनुसूची-८ बमोजिम सम्बन्धित दूतावासको सिफारिस आवश्यक पर्दछ तर धेरै श्रमिक सिफारिस नलिई श्रम स्वीकृतिका लागि आउनुहुन्छ। उहाँहरूको सिफारिस दूतावास नपुगी दूतावासले दिँदैन, हामीले सिफारि नभइ उहाँहरुलाई रिइन्ट्री दिन मिल्दैन,’ कार्यालय प्रमुख कार्की भन्छन्।
संसदीय समितिका निर्देशनसँगै सम्बन्धित मुलुकका दूतावासहरुले घरेलु कामदारका रुपमा कार्यरत श्रमिकहरुलाई सिफारिस पत्र लिएर फर्किन सूचना समेत जारी गरेका थिए। तर त्यो सूचना सम्बन्धित श्रमिकहरुसम्म नपुग्दा धेरै श्रमिकहरु दूतावासको सिफारिस नलिई स्वदेश फर्किएको पाइएको छ। दूतावासको सिफारिस नभई उनीहरुलाई पुनः श्रम स्वीकृति दिन मिल्दैन।
कतार, कुवेत, साउदी, बहराइन, ओमानलगायतका खाडी मुलुकमा घरेलु कामदारका रुपमा कार्यरत नेपाली श्रमिक सामान्य लेखपढ गर्न समेत समस्या हुने खालका भएकाले समेत उनीहरु सूचनाको पहुँचमा पुग्न नसकेको श्रम कार्यालयका प्रमुख देवेन्द्र कार्की बताउँछन्। जसले गर्दा दूतावासको सिफारिस नलिइ आउने श्रमिक पुनः श्रम स्वीकृति लिनबाट बञ्चित भएका छन्।
यस्ता श्रमिकहरूको संख्या ठूलो रहेकाले कि उनीहरुलाई सम्बन्धित मुलुकबाट फर्किने समयमा अनिवार्य रुपमा दूतावासले सिफारिस उपलब्ध गराएर पठाउनु पर्ने श्रम कार्यालय ताहाचलको भनाइ छ। सिफारिस लिन छुटेर स्वदेश फर्किएका घरेलु कामदारहरुलाई पनि सिफारिसको व्यवस्थाका लागि पहल नगरे थुप्रै घरेलु श्रमिकहरु पुनः श्रम स्वीकृति लिनबाट बञ्चित हुने श्रम कार्यालयले जनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले घरेलु कामदारलाई पुनः श्रम स्वीकृतिका सम्बन्धमा देखिएको यस्तो समस्या सुल्झाउन मन्त्रालयले पहल गर्ने बताए। घरेलु कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्न भर्खरै सुरु गरिएको छ, जसले गर्दा पनि यस्तो समस्या निम्तिएको छ, यस्ता समस्यालाई विस्तारै सुल्झाउँदै लैजान मन्त्रालयले पहल गर्छ,’ सहसचिव ढुंगानाले नेपाल लाइभसँग भने।
घरेलु कामदारलाई पुनः श्रम स्वीकृतिका लागि के-के चाहिन्छ?
घरेलु कामदारलाई पुनः श्रम स्वीकृतिको निस्सा (स्टिकर)का लागि घरेलु कामदार सम्बन्धी निर्देशिकामा नै व्यवस्था गरिएको छ।
सोही व्यवस्था बमोजिम पुनः श्रम स्वीकृतिका लागि निम्न कागजातहरु बुझाउनु पर्दछ।
-विभागबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा गएका घरेलु कामदारको हकमा करार सम्झौता बमोजिम अवधि बाँकी देखिएको।
-प्रवेशाज्ञाको अवधि बाँकी रहेको।
-वैदेशिक रोजगार ऐन तथा नियमापवली अनुसार बीमा गरेको, वैदेशिक रोजगार कल्याणकारी कोषमा तोकिए बमोजिम रकम जम्मा गरेको प्रमाण
-सम्बन्धीत देशस्थित नेपाली नियोगको अनुसूचि ८ बमोजिमको सिफारिश पत्र।
-घरेलु कामदारको रुपमा यस अघि श्रम स्वीकृति नलिइ गएकोमा र रोजगारदाता परिवर्तन भएको अवस्थामा रोजगारदाता र कामदारबीच भएको करार पत्र।
सम्बन्धित देशको नियोग (दूतावास)बाट सिफारिस लिनका लागि के–के कागजात चाहिन्छ?
-बीमा गरेको सक्कल प्रमाण पत्र
-स्वीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरिएको प्रमाण पत्र
-नियोगबाट प्रमाणित गरिएको प्रमाणित गरिएको प्रमाण पत्र
-वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रकम बुझाएको रसिद
-नेपाली नागरिकताको प्रतिलिपि
सयजना घरेलु कामदारले मात्रै लिए पुनः श्रम स्वीकृति
मलेसिया लगायत खाडीमा घरेलु कामदारलाई पुनः श्रम स्वीकृति सुचारु गरेको एक महिना बितिसक्दा हालसम्म एक सयको हाराहारीमा श्रमिकहरुले मात्रै पुनः श्रम स्वीकृति लिएको श्रम कार्यालय ताहाचलले जनाएको छ। यो संख्या ज्यादै न्यून हो। श्रमिकहरुलाई घरेलु काममा जान रोक लगाएपछि विदेशस्थित कार्यरत श्रमिकहरु फेरि सोही काममा फर्कन नपाउने हुँदा फर्किन मानेका थिएनन्।
पुनः श्रम स्वीकृति सूचारु भएसँगै ३० हजार श्रमिक लाभान्वित हुने श्रम मन्त्रालयले प्रतिक्रिया दिँदै आएको थियो। तर, धेरैजसो कम्पनीका नाममा गइ घरेलु कामदारका रुपमा कार्यरत रहेका र दूतावासको सिफारिस नलिइ फर्किएकाले थोरैमात्रै श्रमिकहरु लाभान्वित हुन सक्ने देखिएको छ। ‍वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरुले कम्पनीको नाममा श्रम स्वीकृति लिएर घरेलु कामदारका रुपमा लाखौंको संख्यामा नेपाली कामदार कार्यरत रहेको अनुमान गरेका छन्।

साभार-लाईभ नेपाल


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...