Saturday 25th January 2025

नक्कली श्रमस्वीकृति बनाइ कुवेत आउन खोज्दा जेल


पर्वत पोर्तेल -बिर्तामोड–६ की रुपा लिम्बू (परिवर्तिन नाम) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपाइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरू महिला पनि थिए ।

रुपा दिल्ली पुगेको एक सातापछि आइपुगिन्, रौतहटको गुजारा नगरपालिका–२ की सानीमाया घिसिङ (परिवर्तित नाम) । सानीमाया माघ १ गते सुनौली नाका पार गरेर दिल्ली पुगेकी थिइन् । रुपालाई झापाकै गोपाल बराइली नामका एजेन्टले दिल्ली पुर्‍याएका थिए । सानीमाया राज नामका एजेन्टको साथ लागेर पुगेकी थिइन् । दुवैले करिब डेढ महिना दिल्लीको जाडो भोगे । दलालले तीन–चार दिनपछि उडाउँछु भनेर आश्वासन दिएको थियो । तर डेढ महिनासम्म नपठाएपछि रुपाले भनिन्, ‘मलाई विदेश जानु छैन, घर फर्काइदेऊ ।’

रूपाले यति भनेपछि दलाल कुवेत पठाउन सहमत भए । इन्दिरा गान्धी विमानस्थल पुर्‍याएर फर्कनुअघि ती दलालले हातमा टिकट र पासपोर्ट थमाउँदै भने, ‘दुबई पुगेर जहाज फेर्नुपर्छ है, ध्यान दिनुहोला ।’ रुपा र सानीमायाले नपत्याउने कुरै थिएन । ९ फागुनमा दिल्लीबाट उडेको करिब ३ घण्टापछि जहाज रोकियो । रुपा र सानीमायाले ठाने– दुबई आइपुग्यो, अब कुवेतका लागि अर्को जहाज चढ्नुपर्छ ।

हत्तपत्त काउन्टरमा पुगेर पासपोर्ट देखाए । नबुझिने भाषामा विमानस्थल कर्मचारी गाइँगुइँ गर्न थाले । केही समयपछि प्रहरी आएर कागजात शंकास्पद रहेको भन्दै पक्रेर लग्यो । उनीहरू दुबई नभएर दक्षिण भारत केरलाको त्रिवेन्द्रपुरम विमानस्थल पो पुगेका रहेछन् । ‘त्यति बेला मात्रै फसाइएछ भन्ने थाहा भयो’, रुपाले भनिन्, ‘रोइकराइ गर्‍यौं, धेरै बिन्ती गर्‍यौं, पुलिसले छाडेन ।’ पासपोर्टमा श्रम स्वीकृतिको नक्कली स्टिकर टाँसिएको पाएपछि वालियाधुरा थाना प्रहरीले मुद्दा चलायो । उनीहरूमाथि आईपीसी र विदेशी कानुन ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो ।

स्थानीय अदालतले दुवैलाई दोषी ठहर गर्दै जेल सजाय सुनायो । एक सातापछि हुप्सेकोटा–५ की चिनीमाया राई (परिवर्तित नाम) सोही मुद्दामा जेल परिन् ।

दलालले श्रम स्वीकृतिको नक्कली स्टिकर टाँसेर पठाएको रुपा र सानीमायाले जस्तै उनले पनि पत्तो पाइनन् । चिनीमाया माघ १२ गते नेपालगन्जको रुपैडिया नाका हुँदै दिल्ली पुगेकी थिइन् । एकल महिला उनको काँधमा एक छोरा र एक छोरी हुर्काउनुपर्ने दायित्व छ । विदेशबाट फर्किएकी चिनारु महिलाले दिल्लीको दलालसँग चिनजान गराएकी थिइन् । चिनीमाया भन्छिन्, ‘काम राम्रो छ, सजिलो छ भनेपछि जाने रुचि भयो ।’

यी तीन जनाले करिब ६ महिना त्रिवेन्द्रपुरमको अताकुलांगारा महिला जेलमा सँगै बिताए । उनीहरूलाई प्रथम श्रेणीको स्थानीय न्यायिक अदालतले असार २५ मा निर्दोष साबित गर्दै रिहा गरेको नेपाली दूतावास दिल्लीका काउन्सिलर प्रकाश अधिकारीले जानकारी दिए । रिहापछि उनीहरूलाई केही दिन सेल्टर होममा राखेर मनोसामाजिक परामर्श गरिएको थियो ।

मानव तस्करीविरुद्ध सक्रिय संस्था तथा दिल्लीस्थित दूतावासको सहयोगमा उनीहरुले अदालतको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गराएका थिए । भारतीय प्रहरीको क्राइम ब्रान्चले यो मुद्दा अनुसन्धान गरेको थियो । ब्रान्चका प्रहरी अधिकृत एन अब्दुल रसिदको अनुसन्धानले महिलाहरू निर्दोष भएको निष्कर्ष निकालेको थियो ।

सोही अनुसन्धानलाई आधार मान्दै अदालतले उनीहरू मानव तस्करीको चंगुलमा परेको र नक्कली कागजात बनाउन कुनै संलग्नता नदेखिएको भनी निर्दोष साबित गर्दै सफाइ दिएको काउन्सिलर अधिकारीले जानकारी दिए । उनका अनुसार मानव तस्करीमा संलग्न झापाका बराइलीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । तीनै जना महिला बुधबार काँकडभिट्टा आइपुगे ।

उनीहरूलाई लिन आफन्त आइपुगेका थिए । मानव तस्करीविरुद्ध सक्रिय गैरसरकारी संस्था भारत, सिलिगुडीको डुवर्स एक्सप्रेस र आफन्त नेपालले प्रहरीको रोहबरमा उनीहरूलाई आफन्तको जिम्मा लगायो । ‘जेल परेपछि बाँचेर फर्किन्न होलाजस्तो लागेको थियो,’ छोरीलाई अँगालो हाल्दै चिनीमाया भक्कानिइन्, ‘धन्य ! बाँचेर आइयो ।’

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु…

ताली बजाउनेहरु धेरै देखेँ गालीमा रमाउनेहरू धेरै भेटेँ पैताला सधैँ जमीनमा राखेँ सिर सधैँ ठाडो पारेँ पैतालाको समस्याले जमीन भासिएन…

कमला देवकोटा, पाल्पा - कृपया मेरी आमालाई एक महिनाको लागि तपाईँहरुसङ्गै राखीदिनुस् है? किन तपाईं कता जाने? बृद्धाश्रमका प्रबन्धकले सोधे।…

प्रतिकृयाहरू
...