Thursday 1st October 2026

वाह! नेपाल एयरलाइन्स भन्ने दिन आउनेछ – नवनियुक्त पर्यटनमन्त्री


तितोपाटी – मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो ।

हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग सल्लाह दिनुभयो, त्यसका निम्ति सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । विशेष गरी मलाई निर्वाचित गर्ने ताप्लेजुङका मेरा मतदाता, सबै दाजुभाइ दिदीबहिनीप्रति मेरो सम्मान छ ।

म विशिष्ट अवस्थामा म मन्त्री भएको छु । यो मन्त्रालयका अत्यन्तै सिर्जनशील, जागरुक मन्त्री रवीन्द्र अधिकारीको २०७५ साल फागुन १५ गते दुखद घटनामा निधन भयो । त्यसपछि लामो समयसम्म मन्त्रालयको नेतृत्व प्रधानमन्त्री आफैले सम्हाल्नुभयो । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण एक किसिमले मन्त्रालय खाली जस्तै अवस्थामा थियो ।

रवीन्द्र अधिकारीको दुखद निधनले हामीले एउटा असल राजनीतिकर्मी गुमाएका थियौं । मैले एक टिकट मित्र गुमाएको थिए । आज परिस्थितिले, घटनाक्रमहरुले उहाँ बस्नुभएको कुर्सीमा म आइपुगेको छु । उहाँसँग मैले सुख र दुख सबै क्षणमा लामो समय बिताएको छु । यो मन्त्रालय उहाँले नै अझै राम्ररी सम्हाल्न सक्नुहुन्थ्यो । यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो । तर अफसोच ! प्रकृतिसँग, घटनाहरुसँग हामीले जित्न सक्दैनौं । उहाँलाई हामीले अल्पायुमै असमायिक ढंगले गुमाउनुपर्‍यो । आज उहाँको एउटा उत्तराधिकारीको रुपमा म यहाँ आइपुगेको छु । यसो भनिरहँदा मलाई गर्व छ ।

उहाँले यो मन्त्रालयको काम जसरी अगाडि बढाउनु भएको थियो, ती कदमलाई हामीले आगामी दिनमा सफल बनाउने छौं । मन्त्रालयको गरिमालाई माथि उठाउने प्रतिवद्धता म व्यक्त चाहन्छु । यो मन्त्रालय सम्हालेका जति पनि अग्रजहरु हुनुहुन्छ, उहाँहरु सबैसँग आवश्यक राय सल्लाह लिएरै म अगाडि बढ्नेछु । मन्त्रालयको काममा आवश्यकता अनुसार उहाँहरुको सहयोग लिनेछु । म यहाँ परिस्थितिवश आइपुगेँ । यो कुनै पूर्वघोषित वा नियोजित योजना होइन ।

मन्त्रालयका कार्यालय सहयोगीदेखि राज्यमन्त्रीज्यू, सचिवज्यूसम्म हामी सबै साथमा छौं । पदीय हिसाबले कोही ठूलो सानो होला, तर हामी सबै एउटै टीममा छौं । यो टीमलाई गति दिन मेरो भूमिका हुनेछ । म यहाँ कसैलाई काम लगाउन आएको होइन । काम सिक्न आएको हुँ । तपाईहरुले काम लगाउनुपर्ने छ । म त्यही काम गर्नेछु । कस्तो काम गर्दा हामी सबै र मुलुकको इज्जत बढ्छ, प्रधानमन्त्रीले सोचेको अपेक्षा पूरा हुन्छ, जनताले सोचेको अपेक्षा पूरा हुन्छ, के काम गर्दा हामी सफल हुन्छौं त्यो यहाहरुले नै विचार गर्ने हो ।

मैले हाम्रो सचिवज्यूलाई आज खादा, माला, फूल केही पनि नचलाउ भनेको थिएँ । तर, हाम्रो परम्परा हो । तर, म यो अपेक्षा गर्छु कि म यो मन्त्रालय छाडेर जाँदा तपाईहरुले मलाई दिने खादा माला बढी महत्वपूर्ण हुनेछ । म केही काम गरेर जान सफल भए भने त्यसबेला पाउने खादा मालाको अर्थ हुन्छ । हामी के के गर्नेछौं, प्रधानमन्त्री समक्ष मैले मन्त्रीको हिसाबले कार्यसम्पादन करार सम्झौता गर्नुपर्नेछ । सम्भवतः मैले केही दिनभित्रै आगामी एक वर्षमा हामी के गर्छौं भन्नेबारे प्रधानमन्त्रीसँग कार्यसम्पादन करार गर्नेछौं ।

हामी जे गर्न सक्छौं, त्यो काम गर्छौं, जुन काम हुन सक्दैनौं, त्यो किन हुन सकेन, अत्यन्तै पारदर्शी ढंगले बताउने छौं । संचार जगतसँग हामी भाग्दैनौं । उहाहरुसँग सँगसँगै हुन्छौं । आजको दिनमा मिडियाको भूमिका मैले बताइरहनुपर्दैन । हामी तपाईहरुको निगरानीमा छौं ।

देश बनाउने दायित्व केवल प्रधानमन्त्री, मन्त्री, सचिव वा कर्मचारीको मात्र होइन, हामी सबैको हो । संचारकर्मी साथीहरुको पनि हो । यो अभियानमा यहाहरुको सहयोगी भूमिकाको अपेक्षा गर्छौं । अति व्यक्तिगत र गोप्य कामबाहेक अन्य सबै काममा हामी तपाईहरुलाई रोक्दैनौं ।

म प्रधानमन्त्री र वयवस्थापिकाप्रति उत्तरदायी हुनेछु । मेरो हरेक काम पारदर्शी हुनेछ । व्यापक छलफल, बहस र अन्तर्क्रियाबाट हुनेछ । निर्देशन कम हुनेछन् । हामी सबैको भूमिकाको अपेक्षा गर्छौं । मन्त्रालयका काम तत्कालिन हिसाबले केही चुनौती पक्कै छन् ।

नेपाल भ्रमण वर्ष २०२० आइनै हाल्यो । यो कहाँ पुगेको, कसरी अगाडि बढ्दैछ, हामी त्यसमा छलफल गर्नेछौं । २०२० मा जुन लक्ष्य राखिएको छ । त्यो लक्ष्यमा हामी पुग्छौं । त्यसका निम्ति मन्त्रालयका सम्पूर्ण संयन्त्र, तागत र शक्तिका साथ अगाडि बढ्छ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...