Monday 12th January 2026

अविरल वर्षाले देशका बिभिन्न भू-भागमा बाढी, पहिरो र डुबान


तितोपाटी – अविरल वर्षाको कारण मुलुकका बिभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना देखिएका छन् । खोला किनारका वस्ती जोखिममा छन् । बाढीपहिरो आउने क्रम जारी छ । सडक अवरुद्ध छन् । दैनिक कामकाज प्रभावित भएका छन् ।

रामेछापको रामपुरमा गोठको पर्खाल भत्किँदा ७१ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।भैँसीलाई घाँस हालेर दुहुन बस्दा पानीले भिजेको गोठको पर्खालले च्यापेर मृत्यु भएको रामेछाप नगरपालिका–५का वडाध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए । यस्तै दुईवटा भैँसीसमेत किचिएर च्यापिएर छन् । वर्षातसँगै आएको आएको पहिरोले वडा नं. ७ मा एक घर भत्किएको छ । मन्थली नगरपालिका–६, सेलेघाटमा पहिरो जाँदा बिहानैदेखि खुर्कोट–मन्थली सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा सो रुट हुँदै सञ्चालन हुने अधिकांश यातायातका साधन ठप्प छन् ।

रुपन्देहीस्थित तिनाउ नदीको वहाब क्षेत्र अतिक्रमण गरेर बसोबास गरेका करिब चार हजार घरधुरी बाढीको उच्च जोखिममा छन् । लगातार बर्षा भएपछि रुपन्देहीमा तिनाउ, कञ्चन, दानव, रोहिणी, घोडाहा, डण्डा, बघेला नदीमा पानीको सतह बढेको छ । यी नदी छेउका बस्तीमा  कटान तथा डुबान  हुन सक्ने हुँदा उच्च सतर्कता अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् ।

पाँचथरको दक्षिणी मिक्लाजुङ गाउँपालिकाको रविमा एकजना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी पाँचथरका प्रमुख डिएसपी नरेन्द्र कुँवरका अनुसार विद्यालय जाने क्रममा नुवा खोलले अन्दाजी ८ वर्षीय दियन राईलाई बगाएको हो । उनी रवि बजारमा रहेको होलिचाइल्ड विद्यालयतर्फ गइरहेका थिए । प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन् ।

ओखलढुंगामा चार दिन देखिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले सडक अवरुद्ध भएका छन् । ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट काठमाडौंका लागि छुटेका र काठमाडौंबाट आउँदै गरेका यात्रु अलपत्र परेका छन् । मानेभञ्ज्याङ गाउँपालिका–६, ओखलढुंगाको भडारे खोला, उदयपुरको बादुरा खोला र सिन्धुलीको सोखु खोलामा आएको बाढीका कारण सवारी अवरुद्ध  छन् । उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् भने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् ।

त्यसै गरी उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोला र सिन्धुलीको फिकल गाउँपालिकामा पर्ने सोखु खोलाको बाढीको कारण काठमाडौंतर्फ जाने र आउने सवारीसाधन सबै रोकिएका छन् । घुर्मी बजारमा यात्रुको भीड भएपछि बास बस्ने होटल भरिएर सुत्ने ठाउँसमेत नभएको यात्रुहरूले बताएका छन् । उनीहरुले खानासमेत पाइन छोडेको बताए । दुईदिनसम्म बाटोमा छेकिँदा खर्च सकिँदै गएपछि यात्रुहरू बिचल्लीमा परेका छन् ।

ओखलढुंगाको भडारे खोलाको बाटो खोल्नका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लसहितको टोलीले बाटो सुचारु गराउन प्रयास गरिरहेको छ ।

जनकपुरमा वर्षात्को पानीले उचित निकास नपाउँदा सरकारी कार्यालयसहित बस्ती क्षेत्र डुबानमा परेको छ । जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, रंगभूमि मैदान बाह्रबिघा, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला पशु विज्ञ केन्द्रलगायत सरकारी कार्यालयमा पानी पसेको छ । त्यस्तै, रजौल, मुजेलिया, कटैयाचौरी, किशोरीनगर, जानकी नगरलगायत बस्तीमा पनि पानी पसेको स्थानीयले जनाएका छन् । पसल र घरमा पसेको पानी निकाल्ने बिहानैदेखि सानो दमकल तथा विद्युतीय मोटर जडान गरिएको छ । पसलहरूमा पसेको पानीले मात्रै लाखौ रुपैयाँ बराबरको समान नष्ट भएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताए ।

सर्लाहीमा पनि वर्षाले विभिन्न क्षेत्र डुबाएको छ । एक बालिका बेपत्ता भएकी छन् । काठ, बाँस र खपडाको छानो भएको एकतले कच्ची घर लड्दा थिचियर १० वर्षीया नेहाकुमारी महतो घाइते भएकी हुन् । टाउको र दुवै हातमा चोट लागेकी नेहालाई उपचारका लागि बरहथवा पठाइएको प्रहरीले जनाएको छ ।

नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...