Sunday 23rd August 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ सै घण्टा संचालन


तितोपाटी – विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमवारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ। विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिनेछ।

झन्डै ४० वर्षपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उक्त धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो। त्यो अवधिमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै पनि उडान हुन पाएका थिएनन्। चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको अधिकारीहरूको भनाइ छ।

तीन महिलाको अवधिमा विमानस्थल राति १० बजे नै बन्द गरेर रातभरि निर्माणको काम गरिएको थियो। त्यतिखेर तोकिएको समयभन्दा केही ढिला उडानका लागि तयार भएको नेपाल वायुसेवा निगमको विमान उड्न नदिएको विषयले निकै चर्चा पाएको थियो। ‍त्रिभुवन विमानस्थलमा दैनिक औसत चार सय पटक उडान र अवतरण हुने गर्छन्।

धावनमार्गको काम सकिए पनि विमानहरू उड्नुअगाडि प्रयोग गर्ने मार्ग ट्याक्सी वे र विमानस्थल भित्री सडकको निर्माणको काम भने अझै बाँकी रहेको छ। जुन काम अबको दुई महिनापछि सुरु गरिने र उक्त अवधिमा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल फेरि बन्द गरिने बताइएको छ। धावनमार्गलगायतको कामका लागि तीन अर्ब ७८ करोड रुपैयाँ छुट्याइएको छ। धावनमार्गलाई तीन सय मिटर विस्तारलगायतका अन्य निर्माणका लागि पनि छुट्टै ठेक्कामार्फत् काम भइरहेको बताइएको छ। उक्त काम भने आगामी वर्षको असारसम्ममा मात्रै सकिने अनुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

भेनेजुएलाको राजधानी काराकासमा उष्णकटिबन्धीय मौसमी प्रणाली (ट्रपिकल वेभ–४०) का कारण शनिबार परेको भीषण वर्षाले व्यापक बाढी निम्त्याएको छ। एल भाले…

प्रतिकृयाहरू
...