Thursday 6th November 2025

भारतको राजस्थानमा भएको एउटा धार्मिक कार्यक्रमको पाल भत्किंदा १४ जनाको मृत्यु, दर्जनाै घाइते


तितोपाटी – भारतको राजस्थानमा एउटा धार्मिक कार्यक्रमका लागि बनाइएको एउटा विशाल पाल हावाहुरी र ठूलो वर्षाका कारण भत्किएपछि कम्तीमा १४ जनाको मृत्यु भएको छ। सो घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। समाचारसंस्था रोएटर्सका अनुसार मृत्यु हुनेमध्ये केही व्यक्तिलाई करेन्ट लागेको थियो भने केहीलाई भत्केको संरचनाले किचेको थियो। हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार आइतवार सो धार्मिक समारोहमा झन्डै तीन सय मानिस सहभागी भएका थिए। घटना राजस्थानको बाडमेर जिल्लामा भएको हो। घाइतेमध्ये केही व्यक्तिको स्थिति गम्भीर रहेको बताइएको छ।

राज्यका विपद् व्यवस्थापन तथा राहत मन्त्री भँवरलाल मेघवालले पानी परेको प्रतिकूल परिस्थितिमा आयोजकले विद्युत् आपूर्ति बन्द नगरेकोमा आश्चर्य प्रकट गरेका छन्। घटनाबारे छानबिन सुरु भएको बताइएको छ।

प्रहरीका अनुसार जसोल गाउँमा आइतवार रामकथा वाचन गर्न ठूलो पाल बनाइएको थियो। त्यहाँ झन्डै तीन सय मानिस भेला भएका थिए। दिउँसो हावाहुरी र पानीका कारण पालको एउटा भाग भत्कियो र भक्तजनमा हाहाकार मच्चियो। केही व्यक्तिलाई पालको संरचनाले किच्यो भने केहीलाई नाङ्गो तारबाट करेन्ट लाग्यो। त्यतिबेला पालभित्र झन्डै सय जना मानिस थिए। तीमध्ये १४ जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई दुई लाख रुपयाँ दिने घोषणा गरेका छन्।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...