Thursday 19th March 2026

इरानको हतियार प्रणाली विरूद्ध अमेरिकाको साइवर हमला


तितोपाटी – अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर हमला सुरु गरेको छ । केही अमेरिकी रिपोर्टमा दाबी गरिए अनुसार हवाई हमला नगर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयपछि यस्तो कदम उठाइएको हो ।वासिङ्टन पोष्टका अनुसार रकेट र मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ । न्यूयोर्क टाइम्सले तेल ट्याङ्करमाथिको हमलापश्चात् एक अमेरिकी हवाई ड्रोन खसालेपछि अमेरिकाले इरानविरुद्ध यस्तो कदम उठाएको बताएको छ ।

यो साइबर हमला थुप्रै हप्तासम्म जारी रहने बताइएको छ । यसको उद्देश्य इरानको त्यो हतियार प्रणालीलाई निशाना बनाउनु हो जसको प्रयोग इस्लामिक रिभोल्युशनरी गार्ड कर्पले गर्छ । यी हमलापछि यो प्रणालीमाथि अनलाइन काम गर्न बन्द हुनेछ र यसको सञ्चालन अफलाइन मात्रै गर्न सकिनेछ । यद्यपि, शनिबार अमेरिकी गृह सुरक्षा विभागले इरानले अमेरिकाविरुद्ध साइबर हमलामा तीब्रता ल्याउँदैछ भन्ने जानकारी दिएको छ ।

यसबाहेक राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने घोषणा गर्दै भनेका छन्, ‘जबसम्म इरानले आफ्नो व्यवहार परिवर्तन गर्दैन तबसम्म हामी इरानमाथि थप प्रतिबन्ध लगाउनेछौं ।’ उनले पत्रकारसँग भने, ‘हामी थप प्रतिबन्ध लगाइरहेका छौं । केही चीजमाथि त निकै तीब्र गतिमा ।’ इरानले आफ्नो परमाणु कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा निश्चित सीमाभन्दा बढाउने बताएपछि ट्रम्पको यो बयान आएको हो ।

सन् २०१५ को परमाणु सम्झौता अनुसार इरानको युरेनियम सम्वद्र्धनमा सीमा तय गरिएको थियो । यसको बदलामा इरानमाथि केही प्रतिबन्धलाई हटाइएको थियो जस्तै इरानको तेल निर्यातलाई अनुमती दिइएको थियो । तेल नै इरान सरकारको मुख्य आयश्रोत हो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...