Monday 23rd February 2026

सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको लागि काठमाण्डाैमा कोलोनी बनाउने


तितोपाटी – सरकारले ७ प्रदेशका प्रदेशका प्रमुख र मुख्यमन्त्रीको लागि काठमाण्डाैंमा एक एक भवन दिने गरि कोलोनी बनाउन लागेको छ । प्रत्येक प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री गरी १४ जनाको लागि ७ ब्लकमा १४ वटा घर बनाइने भएको हो । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको हो । ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ ।

सात प्रदेशलाई सातै ब्लक, १४ भवन

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ । प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । ‘प्रत्येक ब्लकमा दुई–दुईवटा भवन बनाइनेछ । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ तुलाधरले भने । १४ भवन रहेको कोलोनी सुविधासम्पन्न हुनेछ ।

चालू वर्षमै टेन्डर, तीन वर्षभित्र आवास तयार मणिराम गेलाल

सहरी विकास तथा भवन निर्माण विभागले मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास निर्माणका लागि चालू आवभित्रै टेन्डर प्रक्रिया सक्ने गरी तयारी थालेको छ । विभागका महानिर्देशक मणिराम गेलालले यसै वर्ष टेन्डर सकेर आगामी तीन वर्षभित्र आवास तयार गर्ने योजना रहेको बताए । ‘चालू आवभित्रै टेन्डर प्रक्रिया सकेर आगामी तीन वर्षभित्रमा आवास निर्माण सम्पन्न गरिसक्ने योजना छ,’ उनले भने ।

उहाँहरू काठमाडौं आइरहनुपर्छ, त्यसैले स्थायी आवास चाहियो
मोहम्मद इस्तियाक राई, सहरी विकासमन्त्री

गत १७ मंसिरमा मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन निर्माण विभागले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणको तयारी गरेको हो । प्रदेश प्रमुख र मुख्यमन्त्री विभिन्न प्रयोजनका लागि काठमाडौं आइरहनुपर्छ । त्यसैले उहाँहरूका लागि स्थायी आवास र कार्यालय बनाउन लागिएको हो ।

साढे दुई तलाको भवन : पूजाकोठादेखि योग कक्षसम्म

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने सबै भवन साढे दुई तलाका हुनेछन् । विभागका भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरका अनुसार भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । त्यस्तै, पहिलो तलामा बैठक कक्ष, योगकोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठा हुनेछन् ।

आवास तयार नहुँदासम्म अपार्टमेन्टमा राखिने : १५ फ्ल्याटको मासिक भाडा आठ लाख २५ हजार 

आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सरकारले अपार्टमेन्ट भाडामा लिने भएको छ । खुमलटारस्थित डाउनटाउन अपार्टमेन्टमा १५ वटा फ्ल्याट लिने सम्झौता गरिसकेको सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताए । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि दुई बेडरुम, बैठक कक्ष र भान्सा भएका १४ र एउटा थप फ्ल्याट लिन लागिएको विभागले जनाएको छ । प्रत्येक फ्ल्याटको भाडा मासिक ५५ हजारका दरले महिनाको आठ लाख २५ हजार रुपैयाँमा सम्झौता गरिएको छ ।

भिआइपी कोलोनीका लागि २७ रोपनी १२ आना जग्गा

१७ रोपनी ७ आनामा भवन
५ रोपनीमा आन्तरिक सडक
८ आनामा बगैँचा र पोखरी
४ रोपनी १२ आनामा पार्किङ

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

प्रतिकृयाहरू
...