Wednesday 7th January 2026

नेपालमा विगत २ महिनामा विभिन्न विपदका घटनामा परी ६९ जनाको मृत्यु


तितोपाटी – नेपालमा बैशाख  देखि यता प्राकृतिक प्रकोपको कारण ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते र २ जना बेपत्ता भएको समाचार सार्वजनिक भएको छ । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइ-सराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ ।

नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक, हावाहुरीबाट आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीन जनाको मृत्यु भएको छ । आगलागीबाट ३५, पहिरोबाट दुई, चट्याङ लागेर १२८, विभिन्न जनावरको आक्रमणबाट ३२, हावाहुरीबाट १४१, हिमपहिरोबाट एक र अन्य विपद्का कारण चार जना घाइते भएको नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले जानकारी दिए ।

तथ्याङ्कअनुसार दुई महीनाको अवधिमा आगलागीबाट रु ९९ करोड ३४ लाख ९१ हजार, बाढीका कारण रु एक करोड ९७ लाख, पहिरोबाट रु १३ लाख ४५ हजार, चट्याङबाट रु २३ लाख १४ हजार, जनावरको आक्रमणबाट रु चार लाख ४० हजार र हावाहुरीबाट रु चार करोड ९० लाख २४ हजार बराबरको क्षति भएको छ ।

विसं २०७५ वैशाखदेखि चैतसम्म विपद्का कारण ३८८ जनाको मृत्यु हुनुका साथै एक हजार ३०५ जना घाइते र १० जना बेपत्ता भएका छन् । यस्तै तीन हजार १७५ पुशुचौपाया मरेका छन् भने दुई हजार ५१६ घरमा क्षति पुगेको छ । पाँच सय नौ परिवार विस्थापित तथा रु दुई अर्ब ५१ करोड एक लाख २७ हजार बराबरको क्षति भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक चौधरी नेपाल प्रहरीले सीमित स्रोत र साधनका बाबजुत विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताउँछन् । विसं २०६८ चैतमा नेपाल प्रहरीको विपद् व्यवस्थापन शाखा स्थापना भएको हो ।

पछि २०६९ सालमा प्रतिकार्य दल हुँदै सोही वर्ष विपद् व्यवस्थापन महाशाखाको रुपमा परिणत भएको हो । प्रहरीको विपद् व्यवस्थापनतर्फ हाल एक हजार ३२२ दरबन्दी रहेको चौधरी बताउँछन् । “केन्द्रमा ४४७ र सातै प्रदेशमा विपद् व्यवस्थापन गुल्म स्थापना गरी १२५ जनाको दरबन्दी कायम गरिएको छ”, उनले भने । विपद् व्यवस्थापनको क्षेत्रमा तालीमसमेत प्रदान गरिँदै आएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडा महाशाखाले प्राथमिक उपचार, खोज तथा उद्धार, कुकुर परिचालन, पर्वतीय खोज तथा उद्धार, डोरीबाट खोज तथा उद्धारका साथै पौडी टोलीलाई आवश्यक तालीम प्रदान गर्दै आएको बताउँछन् । असार लागेसँगै देशभर नै मनसुन सक्रिय भई भारी वर्षा हुन्छ । मनसुनका कारण वर्षा बढी हुने भएपछि बाढी पहिरोको जोखिम बढ्दै जान्छ । विपद् व्यवस्थापन विज्ञ एवम भूगर्भविद् डा कृष्ण देवकोटा बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण महाभारत श्रृङ्खला र पहाडी क्षेत्रमा पहिरो जाने क्रम बढेको बताउँछन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

प्रतिकृयाहरू
...