Thursday 19th March 2026

इरानले अमेरिकी ड्रोन खसाले पनि अमेरिकाले सैनिक कार्वाही गर्न सकेन


तितोपाटी – इरानले अमेरिकी ड्रोन खसाले पनि अमेरिकाले सैनिक कार्वाही गर्न सकेन । इरानले ड्रोन खसाले लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक कारवाही गर्ने बताए पनि अमेरिका यसबाट पछि हटेको बुझिएको छ । इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेको छ ।

इरानले ड्रोन खसालेपछि ह्वाइट हाउसमा राष्ट्रपतिका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी तथा नेताहरुबीच व्यापक छलफल र विवाद भएको थियो । बिहीबार राती ७ बजेसम्म सैन्य र कुटनीतिक अधिकारीहरु इरानमाथि हमला हुने अनुमान गरिरहेका थिए । छलफलमा संलग्न अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पले शुरुमा राडार र मिसाइल ब्याट्रीजस्ता इरानका केही सिमित लक्ष्यहरुहरुमा सैन्य कारवाही गर्ने अनुमति दिएका थिए ।

अपरेशन शुरु भएर शुरुवाती चरणमा रहेको बेला ट्रम्प आफ्नो निर्णयबाट ‘ब्याक’ भएको एक शीर्ष अधिकारीले बताएका छन् । ‘विमानहरु आकाशमा थिए, जहाजहरु पोजिसनमा थिए । मिसाइल भने फायर भैसकेको थिएन, त्यतिबेला नै यसलाई रोक्न आदेश आयो,’ ती अधिकारीले भने ।

ट्रम्पको आकस्मिक निर्णयले मध्यपूर्वमा उनको तेस्रो सैन्य कारवाहीमा पूर्णविराम लागेको छ । यसअघि उनले सन् २०१७ र २०१८ मा सिरियामा कारवाही गरेका थिए । ट्रम्पले के कारणले आफ्नो निर्णय बदले भन्ने भन्ने चाहीँ खुल्न सकेको छैन । र, फेरि पनि कारवाही अघि बढाइन्छ कि बढाइँदैन भन्ने पनि खुलेको छैन । यस विषयमा ह्वाइट हाउस र पेन्टागन अधिकारीहरुले कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।

अमेरिकी समय अनुसार बिहीबार बिहान इरानको सर्फेस–टु–एयर मिसाइलले अमेरिकाको १३ करोड डलर पर्ने मानवरहीत ड्रोन खसालेको थियो । यसको प्रतिक्रियामा अमेरिकाले शुक्रबार बिहानै सैनिक कारवाही गर्ने तयारी गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...