Thursday 19th March 2026

इरानले अमेरिकाको सर्भिलेन्स ड्रोन खसाल्यो


तितोपाटी – ‘द स्ट्रेट अफ हर्मज’माथि उडिरहेको बेला अमेरिकी सेनाको सर्भिलेन्स ड्रोनलाई इरानी फौजले खसालेको छ। अमेरिकी ड्रोनले इरानी एयरस्पेसको उल्लंघन गरेकाले सो ड्रोनलाई खसालिएको इस्लामिक रिभोलुसन गार्ड्स कर्पस् (आइआरजिसी)ले दाबी गरेको छ। उसले यस घटनाले अमेरिकालाई ‘स्पष्ट सन्देश गएको’ जिकिरसमेत गरेको छ। यद्यपि अमेरिकाले भने आफ्नो सेनाको ड्रोन त्यसबेला अन्तर्राष्ट्रिय समुद्रमाथि उडिरहेको बताएको छ। उसले आइआरजिसीको कदम ‘अर्थहीन आक्रमण’ भएको दाबीसमेत गरेको बिबिसीले उल्लेख गरेको छ।

संयुक्त राज्य अमेरिका र इरानबीच तनाव बढिरहेकै बेला यो घटना भएको छ। अमेरिकी ‘जासुसी’ ड्रोनलाई आफ्नो हवाई फौजले खसालेको आइआरजिसी बिहीबार दाबी गरेको हो। मानवरहित एउटा विमानले देशको हर्मोजगनको कुहमोबाराक नजिकै इरानी एयरस्पेसको उल्लंघन गरेकाले आफ्नो फौजले खसाली दिएको जिकिर गरेको छ। इरानको राज्य सञ्चालित टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको सम्बोधनमा आइआरजिसीका कमान्डर–इन–चिफ जनरल हुसेन सलामीले इरानको भौगोलिक अखण्डताको सम्मान गर्न अमेरिकालाई चेतावनी पनि दिएका छन्।

‘अमेरिकी ड्रोन खस्नु भनेको अमेरिकालाई प्रष्ट सन्देश हो र त्यो सन्देश यस्तो रहेको छ ः इस्लामिक गणतन्त्र इरानको सिमा सुरक्षा गर्नेले पूरापुर जबाफ दिनेछन् र कुनै पनि विदेशी तत्वले हाम्रो माटोमा खेल्न खोजे निश्चित रूपमा प्रतिक्रिया दिने छन्। हाम्रो सिमा हाम्रो रातो घेरा हो।’ ‘इरानले कुनै पनि देशसँग युद्ध चाहिरहेको छैन तर इरानको सुरक्षाका लागि हामी तयारी अवस्थामा छौं,’ उनले बताए।

इरानले आफ्नो फौजले अमेरिकी ड्रोन खसालेको दाबी गरेको केही समयपछि अमेरिकाले पनि यसलाई पुष्टि गरेको छ। स्ट्रेट अफ हर्मजमाथिको अन्तर्राष्ट्रिय एयरस्पेसमाथि उडिरहेको बेला बुधबार अन्दाजी राति ११ बजेर ३५ मिनेटमा सतहबाट हावामा प्रहार गर्न मिल्ने खालको इरानी क्षेप्यास्त्र प्रणालीले अमेरिकी न्याभी ब्रोड एरिया म्यारिटाइम सर्भिलेन्स विमानलाई खसालेको अमेरिकी सेनाका मध्य कमान्डरले पुष्टि गरेका हुन्।

सोमबारमात्रै अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा थप एक हजार सेना पठाउन लागेको बताएको थियो। इरानी फौजले शत्रुतापूर्ण व्यवहार देखाएले सो क्षेत्रमा थप सेना पठाउन लागेको बताएको थियो। अमेरिकाले यसअघि एयरक्राफ्ट क्यारियर स्ट्राइक ग्रुप र बी–५२ वम वर्षक विमान मध्यपूर्वमा पठाइसकेको छ। इरानले ‘द स्ट्रेट अफ हर्मज’को ठीक बाहिर ओमानको खाडीमा गत बिहीबार एम्बुस प्रयोग गरेर आफ्ना दुई वटा टेल बोक्ने ट्ंयाकरमाथि आक्रमण गरेको अमेरिकाले आरोप लगाइरहेको छ। यद्यपि इरानले भने अमेरिकी आरोपको खण्डन गरिरहेको छ। लगभग एकै क्षेत्रमा तेलको ट्यांकरमाथि एक महिनाभित्र भएको बिहीबारको आक्रमण दोस्रो आक्रमण हो। प्रत्येक दिन विश्वभर आपूर्ति हुने तेलको कूल पाँच भागमध्ये सो क्षेत्र भएर एक भाग जाने गरेको छ।

इरानले आफूले प्रशोधन गरिरहेको युरेनियमको मात्रालाई बढाउने घोषणा गरेपछि वासिङ्टन र तेहारानबीचको तनाव झनै उत्कर्षमा पुगिरहेकै बेला बिहीबार इरानले अमेरिकी ड्रोन खसालेको हो। इरानले गत सोमबार कम मात्रामा संचित आफ्नो युरेनियम क्षमतालाई थप वृद्धि गर्ने घोषणा गरेको थियो। इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच सन् २०१५ मा भएको आणविक सम्झौतापछि तेहरानले सो कार्यलाई रोकेको थियो। अमेरिकाले गत वर्ष इरानसँग भएको सम्झौता एकपक्षीय रूपमा तोडेको थियो। सम्झौता तोडेर उसले तेहरानमाथि थप आर्थिक प्रतिबन्धको घोषणा पनि गरेको छ। इरानले अमेरिकाले आफूमाथि प्रतिबन्ध लगाएका कारण युरेनियम प्रशोधनलाई वृद्धि गर्न लागेको जिकिर गर्दै आइरहेको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...