Tuesday 18th August 2026

नेपाल र युएइ बिच श्रम सम्झाैतामा हस्ताक्षर, सबै शुल्क रोजगारदाताले ब्यहोर्ने


तितोपाटी – नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

१२ वर्षअघि नेपाल र संयुक्त अरवब इमिरेट्स (यूएई)बीच भएको श्रम सम्झौतालाई प्रतिस्थापन गर्दैसमझदारी पत्रमा हस्ताक्षर गर्न दुबै देशका प्रतिनिधिबीच सहमति भएको हो। वार्षिक करिब ५० हजार नेपाली रोजगारीका लागि जाने युएई वैदेशिक रोजगारीको चौथो प्रमुख गन्तव्य हो। युएईले बीमा कोषको व्यवस्थालगायत श्रम आप्रवासनका क्षेत्रमा हालसालै धेरै सुधारका कदम अघि बढाएको छ।

यस्ता छन् श्रम सम्झौताका प्रमुख विशेषताहरू:

१. कामदारको छनौट/भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नु पर्ने ‘इम्प्लोयर पे प्रिन्सिपल’ लाई स्थापित गरिएको छ।

२. रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आए कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने।

३. कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँचजस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनु पर्ने मान्यतालाई स्थापित गरिएको छ।

४. महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपाय सुनिश्चित गर्नु पर्नेछ।

५. राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता हुनेछ।

६. कामदारकको मृत्यु भए शव छिटो साधनद्वारा नेपालमा ल्याउन लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नु पर्नेछ।

७. कामदारले पाउने सेवा सुविधा तत्कालै भुक्तानी गर्नुपर्ने र बिलम्व गर्न नपाइने व्यवस्थाको सुनिश्चितता हुनेछ।

८. कामदार र रोजगारदाताबीच विवाद उत्पन्न भै अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानूनी उपचारको प्रत्याभूति गरिएको, त्यस्तो अवस्थामा कामदारले कानुनबमोजिम अस्थायी श्रम स्वीकृतिका लागि आवेदन गर्ने सक्ने छन्।

९. समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्ने लगायतका विषय दुई देशका प्रतिनिधि संलग्न संयुक्त बैठकबाट तय गर्नेछ।

१०. व्यवसायजन्य दुर्घटना वा रोग लागेमा त्यसको उपचारमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नु पर्नेछ।

११. पाँच वर्षसम्मको सेवा अवधिका लागि हरेक वर्षको सेवा वापत २१ दिनका दरले र सोभन्दा बढी सेवा अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था सुनिश्चित गरिएको छ।

१२. गन्तव्य मुलुकको कानुनमा कामदारको हित अनुकुल हुने गरी संशोधन भए सो व्यवस्था कामदार र रोजगारदाताबीच सम्पन्न करारमा स्वत: लागू हुने व्यवस्था गरिएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको…

प्रतिकृयाहरू
...