Thursday 19th February 2026

सुडानमा आम निर्वाचनको घोषणा, गोली चल्दा ३५भन्दा बढिको मृत्यु


तितोपाटी – सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ। सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो।

सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा निर्वाचन गराइने बताए। विगत ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेको सेनाले सैनिक परिषद गठन गरी तीन वर्षभित्र नागरिकलाई सत्ता सुम्पन सहमत भएको थियो। तर नागरिक स्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले एकाएक हस्तक्षेप गरेको हो।

सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए। धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको हो। प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन्। आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ।

संयुक्तराज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन्। यी दुवै मुलुकले नागरिकलाई शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाब दिइरहेका छन्। सुडानको प्रभावशाली नागरिक संस्था चिकित्सकहरूको केन्द्रीय टोलीले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएको छ।

रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य सङ्घसंस्थाले पनि खार्तुममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू मारिएको र आपत्कालीन सहयोगको आवश्यकता परेको बताएका छन्। सुडानी प्रफेसनल एशोसिएशन (एसपीए)ले सेनाले “नागरिकको आमहत्या” गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्णरूपमा असफल तुल्याउन “नागरिक अवज्ञा” आन्दोलन गर्न आह्वान गरेको छ। एसपिएले सैनिक सत्तासँग तत्काल वार्ता सम्भव नरहेको बताएको छ।

सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैँले लिएको थियो। सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न सर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन्।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...