Monday 10th November 2025

भारतको अरूणाञ्चल प्रदेशमा सांसद, उनका छोरा, सुरक्षागार्ड सहित ११ को गोली हानी हत्या


तितोपाटी – अरुणाञ्चल प्रदेशको तिरप जिल्लाको बोगापानी इलाकामा नेशनल पिपल्स पार्टी (एनपीपी) का सांसद तिरोंग अबो, उनका छोरा, दुई सुरक्षाकर्मीसहित ११ जनाको मंगलबार गोली हानी हत्या गरिएको छ । एक वरिष्ठ पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । द वायरका अनुसार नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएससीएन) का अज्ञात हमलाकर्ताले उक्त हमला गरेका हुन् । अबो अरुणाचल प्रदेशको खोंसा–पश्चिम सिटबाट सांसद भएका हुन् ।

तिरपका उपायुक्त पीएम थुंगनलाई उद्धृत गर्दै द वायरले भनेको छ, ‘अबो असमबाट आफ्नो विधानसभा क्षेत्र खोंसा पश्चिम फर्किरहेका थिए र त्यतिबेला उनका छोरा र दुई पुलिसकर्मी पनि साथमा थिए । उनको गाडी बिहान लगभग साढे ११ बजे जिल्लाको बोगापानी गाउँ नजिकै पुगेपछि अज्ञात हमलाकर्ताले उनको गाडीमाथि गोली चलाए जसमा ११ जनाको तत्काल मृत्यु भयो । ’

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीट गरेर सांसद अबोको हत्यामाथि शोक व्यक्त गर्दै भने, ‘सांसद तिरोंग अबोजी, उनको परिवार र अन्यको हत्यामा स्तब्ध छु । यो पूर्वोत्तरमा शान्ति भंग गर्ने प्रयास हो । यो जघन्य अपराधका दोषीलाई छोडिने छैन । मेरो समवेदना पीडित परिवारसँग छ ।’

यस्तै, मेघालयका मुख्यमन्त्री कनरड संगमाले यो क्रुर हमलाको निन्दा गरेका छन् र गृहमन्त्री राजनाथ सिंहलाई दोषीलाई कारवाही गर्न आग्रह गरेका छन् । उनले भने, ‘एनपीपी श्री तिरंग अबो र उनको परिवारसाथै सुरक्षाकर्मीमाथि भएको क्रुर हमलाको कडा विरोध गरेका छन् ।’

अरुणाञ्चल प्रदेशका गृहमन्त्री कुमार वाईले भने, ‘म यो घटनाको विरोध गर्छु । यस्तो प्रकारको घटना पहिले कहिले भएको थिएन । घटनाको अनुसन्धान महत्वपूर्ण छ । एक राजनीतिक प्रतिद्वन्द्वीले यस्तो गरेको हो ।’

स्मरण रहोस् नेशनल सोशलिस्ट काउन्सिल अफ नागाल्याण्ड एउटा नागा विद्रोही समूह हो । पुलिस घटनाको अनुसन्धानमा जुटेको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...