Wednesday 22nd May 2024

पहिला विदेशीसँग बिहे गर्ने रहर, पछि वेश्यालयमा दुखका कहर


तितोपाटी- सम्पन्न देशका विदेशी पुरुषसँग हतारमा बिहे गरी पछि पछुताउने अवस्था नेपाली युवती पुगेका छन् । हालै मात्र पाकिस्तानका युवतीले यस्तो पीडा भोगीरहेको विवरणहरू सार्वजनिक हुँदा नेपालमा पनि यो समस्या रहेको बताइएको छ ।

खासगरी पाकिस्तानी युवतीलाई बिहे गरी चीनमा लगेर वेश्यावृत्तिमा लगाइएको समाचार बाहिर आएको थियो । यसै सन्दर्भमा नेपाली युवतीहरूले पनि पेपर म्यारिज गरेर कोरिया र चीनमा यस्तै दुखका कहर सम्हाल्नुपरेको तथ्य सार्वजनिक भएको थियो ।

२० जुलाई २०१८ मा बीबीसी नेपालीमा सार्वजनिक भएको एउटा रिपोर्ट यस्तो थियो ।

पूर्वी नेपालबाट जागिर खोज्न काठमाडौं आएका बेला उनलाई साथीहरूले ’पेपर म्यारिज’ अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए ।

जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठिकै लाग्यो ।

मध्यस्थकर्ताले आकर्षक जागिर र कमाइ हुने लोभ देखाएपछि र सँगै बस्नु नपर्ने आश्वासन दिएपछि उनी छ लाख रूपैयाँ तिर्न तयार भइन् ।

आफूभन्दा १० वर्ष जेठो कोरियाली नागरिकसँग कागजी विवाह गरी त्यसकै आधारमा ’पारिवारिक भिसा’ मा उनी कोरिया पुगिन् ।

तर त्यहाँ न उनले स्वतन्त्र रूपमा काम गर्न पाइन् न त कागजपत्रका लागि मात्र भनेर बनाइएका श्रीमान्बाट छुटकारा नै ।

दलालले उनलाई विवाह बहाना मात्र भएको र कोरिया पुगेपछि आफ्नै हिसाबले काम गर्न सकिने लोभ देखाएका थिए ।

तर ती पुरुषले पटकपटक बलात्कार गर्ने र घरमै बन्दी बनाउने प्रयास गरेपछि कोरियास्थित नेपाली दूतावास र केही मानवाधिकारवादी संस्थाको पहलमा नेपाल फर्केको उनी बताउँछिन् ।

उनले भनिन्, ‘तिमीलाई मैले कानुनी रूपमै बिहे गरेर ल्याएकाले मसँग बस्नैपर्छ भन्दै (उनले) प्रहरी बोलाएर मलाई पक्राए। मैले सम्बन्धविच्छेद मागेँ र मानव अधिकारवादीलाई गुहारेँ ।’

उनी त एउटी प्रतिनिधिपात्र मात्र हुन् ।

प्रत्येक वर्ष विवाहको बहानामा कोरिया जाने र त्यहाँ पुगेर समस्यामा पर्ने महिलाहरूको सङ्ख्या धेरै रहेको तिनको उद्धारमा संलग्न भएका व्यक्तिहरू बताउँछन् ।

केही वर्षअघि काठमाडौंमा सञ्चालित ‘म्यारिज ब्युरो’ भनिने विवाह गराइदिने कम्पनीका सञ्चालकलाई यस्तै कार्यमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ समेत गरेको थियो ।

तर त्यसपछि पनि लुकीचोरी यस्तो काम भने भइरहेको बताइन्छ ।

यसरी कोरिया जाने नेपाली महिलाले शारिरिक र मानसिक यातना पाउने गरेको कोरियामै बसोबास गर्दै आएकी र पीडितको उद्धारमा समेत संलग्न रहेकी लक्ष्मी गुरुङ बताउँछिन् ।

अधबैँसेको रोजाइमा युवती

उनका अनुसार २०–२२ वर्षका नेपाली युवतीहरू ५० वर्ष माथिका कोरियाली पुरुषको रोजाइमा पर्ने गरेका छन् ।

कोरियाली पुरुषले नेपाली युवतीसँग विवाह गर्न दलाललाई ठूलो रकम तिर्ने गरेकाले नेपाली युवतीलाई सजिलै छुटकारा नदिने बताइन्छ ।

केही वर्षअघि एक नेपाली युवतीलाई कोरियाली श्रीमान् आफैले बेचेको फेला पारिएपछि नेपाल पठाइएको उनले बताइन् ।

कतिपयलाई भने नेपाली महिलाहरूले नै चलाएका आश्रयगृहमा राखेर नेपाल फर्काइएको गुरुङले जानकारी दिइन् ।

नेपाल प्रहरीका अधिकारीहरूका अनुसार पनि केही वर्षयता मानव बेचबिखनको प्रकृति परिवर्तन भएको छ ।

विवाहका बहानामा महिलालाई कोरिया र चीन पठाउने कार्यले पनि मानव बेचबिखनको रूप लिएको उनीहरू बताउँछन् ।

यस्तो कार्यमा संलग्नलाई कारबाही अघि बढाएपछि त्यसमा केही कमी आएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक कृष्णहरि शर्माको दाबी छ ।

उनले भने, ‘पहिले म्यारिज नै गर्ने भनेर बकाइदा विज्ञापन गरिएको थियो, त्यसरी लगिएको पनि भेटियो। हामीले पठाउने मान्छेहरूलाई मुद्दा चलायौँ, त्यसपछि केही कम भएको छ ।’

तर सबै घटना प्रहरीसम्म पुग्दैनन् ।

कोरिया र चीनस्थित नेपाली दूतावासका अधिकारीहरूले पनि विवाहको बहानामा नेपाली महिलाहरू त्यतातर्फ पठाइने गरेको पुष्टि गरेका छन् ।

उनीहरूले यसरी विवाह गरेर जानेमध्ये कतिपय महिला समस्यामा समेत परेको बताएका छन् ।

धेरै नेपाली महिला समस्यामा परेको गुनासो आएपछि दूतावासले नेपाली नागरिकसँग विवाह गर्ने प्रक्रियामा कडाइ गरेको कोरियास्थित नेपाली दूतावासका नियोग उपप्रमुख किरण शाक्यले बताए ।

उनले भने, ‘कागजातहरूमा कडिकडाउ गरेका छौँ । सबै कागजातहरू नेपाल पठाएर प्रमाणित गर्ने गरेका छौँ ।’

शाक्यका अनुसार नेपालबाट हालसम्म एक हजारभन्दा बढी नेपाली महिलाहरूले कोरियाली नागरिकसँग विवाह गरिसकेका छन् ।

यसैगरी करिब दुई सय पुरुषहरूले समेत कोरियाली महिलासँग विवाह गरेको उनले बताए ।

कोरियालीसँग विवाह गर्नेहरू सबै समस्यामा नै पर्छण् भन्ने नरहेको उनी बताउँछन् ।

नेपाल प्रहरीका अनुसार गएको पाँच वर्षमा नक्कली विवाहमार्फत् मानव बेचबिखन भएका ४५ वटा घटनामा मुद्दा चलाइएको छ ।

तर, अधिकांश यस्ता घटना मुद्दाको तहसम्म नपुग्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

कागजपत्रमा कडाइ गरिएपनि अझै नेपालबाट विवाहको बहानामा चीन र कोरियामा महिलालाई पठाउने क्रम नरोकिएको स्वयम् सरकारी अधिकारीहरू नै स्वीकार्छन् ।

कोरिया र चीनमा नेपालसहित भियतनाम, क्याम्बोडिया, फिलिपिन्सजस्ता देशहरूबाट समेत विवाहका बहानामा महिलालाई लगेर दासको जस्तो व्यवहार गर्ने गरिएको विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाका प्रतिवेदनहरूले समेत औँल्याउने गरेका छन् ।

विवाहको बहानामा यसरी महिलालाई विदेश पठाउने प्रवृत्तिलाई मानव बेचबिखनकै अर्को स्वरूपका रूपमा हेरिनुपर्ने सरकारी अधिकारी र अधिकारवादीहरूको भनाइ छ ।

नेपाली युवती पनि यसरी पीडामा रहेको सन्दर्भचाहिँ पाकिस्तानी मिडियाले समाचार लेखेपछि जोडियो ।

चीनको विदेश मन्त्रालयले पाकिस्तान र चीनका नागरिकहरूबीच सम्बन्ध गाँसिदिने अवैध संगठनहरूलाई होसियार रहन चेतावनी दिएको थियो ।

बितेका महिनामा पाकिस्तानका महिलाहरूलाई तस्करी गर्दै विवाहका लागि चीन पुराइरहेको छ भन्ने किसिमका समाचारहरू पाकिस्तानी सञ्चार माध्यममा धेरै आए ।

यस्ता समाचारहरूमा यी महिलाहरूलाई वेश्यावृत्तिमा धकेलिने गरिएको दाबी पनि गरिएका थिए ।

यसैबीच सरकारी जाँच निकाय फेडरल इनभेस्टिगेसन एजेन्सीको फैसलाबाद शाखाले त्यहाँ परेका उजुरीहरूका आधारमा कारबाही गर्ने क्रममा एक महिला समेत आठ चिनियाँ नागरिक र उनीहरूका चार पाकिस्तानी सहयोगीलाई पक्राउ गरेको छ ।

उक्त गिरोहले पाकिस्तानी महिलाहरूलाई चिनियाँ पुरुषहरूसँग विवाह गराइदिने भन्दै अवैधरूपमा चीन लाने गरेको र त्यहाँ उनीहरूलाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न रहेको एफआईएका उपनिर्देशक जमिल अहमद मेवलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

जमील अहमदका अनुसार यही गिरोहले ती महिलाहरूलाई देह व्यापारमा लगाउने गरेको जनाकारी एफआईएले पाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई जेल चलान गरिएको छ ।

यस्ता विवरणहरु बाहिर आएपछि पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानी महिलाहरूलाई विवाहका लागि चीन लाने विषयमा एप्रिल १३ मा एउटा विज्ञप्ती जारी गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सी-अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गरेका छन् । आक्रमणमा ४० जनाको मृत्यु भएको छ । उनीहरुले गाउँमा अन्धाधुन्ध…

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित समर फेसन स्पेशल २०२४ को मे १६ का दिन अल राई आउटलेटमा आधिकारिक रूपमा सुरू गर्यो।…

प्रतिकृयाहरू
...