Thursday 19th March 2026

श्रीलंका बिस्फोटमा मर्नेको संख्या २९० पुग्यो, २४ आरोपित पक्रा


तितोपाटी- श्रीलंकामा आइतबार भएका ८ वटा श्रृंखलावद्ध बिस्फोटमा परी मर्नेहरूको संख्या २९० पुगेको छ।

श्रीलंका प्रहरीका प्रवक्ताले सोमबार बिहानसम्म मृतकको संख्या २९० पुगेको र पाँच जना घाइतेको उपचार भइरहेको जनाएका छन्। मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक पनि रहेको बताइएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा २४ जनालाई पक्राउ गरेको जनाएको छ।

श्रीलंकाका रक्षा मन्त्री रूवान विजेवर्दनेले पक्राउ परेकाहरू धार्मिक अतिवादीहरू भएको बताएका छन्। तर उनीहरू कुन समूहका हुन् भन्ने खुलाएनन्।

आइतबार इस्टर सन्डे मनाइरहेका क्रिश्चियन धर्मालम्बी र विदेशी पर्यटक बस्ने सुविधासम्पन्न होटलमा बिहान ६ वटा र दिउँसो दुइटा बिस्फोट भएका थिए। आइतबार साँझ कोलोम्बो विमानस्थलनजिकै भेटिएको बम भने सेनाको टोलीले निस्क्रिय पारेको थियो।

सन् २००९ मा विद्रोही तमिल टाइगरलाई सरकारी सेनाले पराजित गरेपछि श्रीलंकामा भएको यो सबैभन्दा ठूलो हिंसात्मक घटना हो। यो अवधिमा बहुल बौद्ध धर्मालम्बीले मुस्लिम र उनीहरूका सम्पत्तिमाथि आक्रमण गरेका केही घटना भएका थिए।

श्रीलंकाका झन्डै १५ लाख क्रिश्चियनलाई लक्षित गरी भने त्यस्ता कुनै आक्रमण भएका थिएनन्।

विश्व समुदायले यो आतंककारी र कायरतापूर्ण कार्यको निन्दा गरेको छ।

प्रहरी अधिकारीहरूले घटनामा कसको हात छ भन्नेबारेमा अहिले नै बोल्नु हतार हुने बताएका छन्।

भारतीय समाचार पत्र टाइम्स अफ इन्डियाले १० दिनअघि श्रीलंकाका प्रहरी प्रमुखले केहीदिनभित्र देशका प्रमुख चर्चहरूमा र कोलोम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती हमला हुन सक्ने बताएको उल्लेख गरेको छ।

त्यस्तो हमला श्रीलंकाको उग्रवादी मुस्लिम समूह नेसनल थोहवीथ जमात (एनटिजी)बाट हुन सक्ने उनको अनुमान थियो। एनटिजी गत वर्ष बुद्ध मुर्तिहरू तोडफोड गरेपछि चर्चामा आएको थियो।

आइतबार भएकामध्ये २ वटा आत्मघाती हमला भएको समाचार संस्था एपीले जनाएको छ। आजको बिस्फोटको प्रकृति हेर्दा निकै योजनावद्ध र ठूलो तहमा समन्वय गरेर घटना गराइएको देखिन्छ। यति ठूलो विस्फोट गर्न सक्ने गरी एनटिजीको संगठन बिस्तार भइसकेको थियो कि थिएन भन्ने खुलेको छैन।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...