Sunday 15th March 2026

साउदी अरबमा अस्पतालमा हुनुपर्ने बिरामी दूतावासको सेल्टरमा


तितोपाटी – करिब एक महिनाअघि कुनै अस्पतालको गाडीले साउदी अरबस्थित नेपाली दूतावासअगाडि एक जना अचेत बिरामी छोड्यो। उनी थिए, रोजगारीका लागि साउदी पुगेका ४३ वर्षीय वेदबहादुर भुजेल। मोरङ सुन्दरहरैँचा–१ घर भएका उनी अझै कोमामै छन्। परिवार उनको बाटो हेरेर बसेको छ। तर, उनलाई ल्याउन सक्ने अवस्थामा परिवार छैन।

वेदबहादुर बोलचाल र हलचल गर्न सक्दैनन्। आफ्नो अवस्थाबारे उनलाई केही थाहा छैन। कसैले केही खुवाइदिए खान्छन्। अझ उनको थाप्लोमा अस्पताललाई तिर्नुपर्ने अढाइ करोड रुपैयाँको मुद्दा समेत छ। १२ वर्षअघि वेदबहादुर र झापा, दमककी ऋतुको विवाह भएको थियो।

वेदबहादुरको परिवार ठूलो थियो, आम्दानीको श्रोत थिएन। त्यसैले ४ वर्षअघि उनी बेकरी सपमा काम गर्न भनेर साउदी गए। तर मेनपावरले भनेजस्तो काम थिएन। कम्पनीले समयमा तलब दिँदैनथ्यो। ६ महिनामै उनी बिरामी भएर नेपाल फर्के। जाँदाको ऋण २ लाख तिरिएकै थिएन। परिवारमा रुवाबासी चल्यो।

काठमाडौंमा दुई महिना अस्पताल बसेर निको भएपछि फेरि उनी साउदी हान्निए। विदेश जाँदाको, उपचार गर्दाको ऋण तिर्नुपर्ने बाध्यता थियो। तर कम्पनी उही थियो। काम लगाउने तर सेवासुविधा र तलब समयमा नदिने। त्यसपछि उनी अवैधानिक रुपमा लुकेर काम गर्न थाले।

वेदबहादुरको राहदानी नम्बर ०५८००२८३ थियो। उनी करिअर इन्टरनेसनल सर्भिस नामक मेनपावरबाट साउदीको इस्टर्न रिक्रुटमेन्ट कम्पनीमा गएका थिए। तर २०१६ अक्टोबर १४ मै उक्त कम्पनीसँग उनको सम्झौता सकिएको देखिन्छ। त्यसयता उनले काम गरेको ठाउँको टुंगो लागेको छैन।

वेदबहादुर महिना दिनमा एक पटक पत्नीलाई फोन गर्थे। आफूसँग मोबाइल नभएको र पैसा कमाउन नसकेको गुनासो गर्थे। भदौदेखि उनी सम्पर्कविहीन भए। ऋतुले खोजखबर गरिन् र पति दुर्घटनामा परेको थाहा पाइन्। मेसिनको फित्ताले उनको शरीर बेरेको थियो। जसका कारण उनी कोमामा पुगे। कम्पनीले कुनै वास्ता गरेन। एक सुडानी नागरिकले अस्पतालमा लगेर उपचार गरे। रियादस्थित फ्यामिली केयर अस्पतालमा भर्ना गरिएको बताइएको छ।

सडकमा बेवारिस फालिएका वेदबहादुरलाई अहिले नेपाली दूतावासको असुरक्षित सेल्टरमा राखिएको छ। त्यहाँ उनको उपचार र राम्रो हेरचाह गर्न सम्भव नरहेको दूतावासले जनाएको छ। ऋतुले पटकपटक पतिलाई नेपाल फर्काउने कोशिस गरिन्। तर सकिनन्। ‘यस्तो बिजोग छ, मैले कहाँबाट त्यत्रो रकम जुटाएर श्रीमान्लाई घर फर्काउँ ? ’ उनी भन्छिन्।

दूतावासले उनलाई नेपाल पठाउन पहल गरिरहेको जनाएको छ। तर, एक सुडानी नागरिकले उपचार खर्चवापत ८ लाख १७ हजार ७ सय ६० साउदी रियाल बिगो दाबीसहित मुद्दा दायर गरेको छ। त्यसैले तत्काल उनलाई नेपाल ल्याउन नसकिएको दूतावासले जनाएको छ।

अवैधानिक कामदारको बीमा हुँदैन। कम्पनीलाई कानुनी रूपमा जिम्मेवार ठहर्‍याउन पनि सकिन्न। दूतावासले राजदूतद्वारा हस्ताक्षरित एक वक्तव्य जारी गर्दै बिरामीको घरफिर्तीमा सघाउन सम्बन्धित सबैसँग अपिल गरेको छ।

वेदबहादुरका घरमा बुढा बाबुआमा छन्। दाजुभाइ छुट्टिइसकेका छन्। ऋतु सुरक्षा गार्डको काम गरेर छोरा पढाउँदै छिन्। मुद्दामा दाबी गरिएजति करिब २ करोड ४० लाख रुपैयाँ खर्च गर्न सक्ने अवस्था उनको छैन। आफूसँग कुनै उपाय नभएकोले उनी सरकार गुहार्छिन्। ‘म उहाँलाई घर ल्याएर पाल्न चाहन्छु, सँगसँगै बस्न चाहन्छु,’ उनले भनिन्।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...